भारतका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक विजेता कुस्ती खेलाडीहरुले भारतीय कुस्ती महाससंघका अध्यक्ष बृजभूषण शरण सिंहविरुद्ध यौन उत्पीडनको आरोप लगाउँदै उनलाई पदबाट हटाउन माग राख्दै मैदानमा उत्रिएका छन् ।
ओलम्पिक पदक विजेता बजरङ्ग पुनिया, विनेश फोगाट, साक्षी मलिक र रवी दहिया लगायत चर्चित ३० जना कुस्ती खेलाडीहरुले अध्यक्ष बृजभूषण माथि यौन उत्पीडनको आरोप लगाउँदै तीन दिन जन्तर मन्तरमा धर्ना बसेका थिए ।
कुस्ती महासंघका अध्यक्ष बृजभूषणकाविरुद्धमा खेलाडीहरु धर्नामा बसेपछि भारत सरकारले भारतकि चर्चित महिला बक्सर मेरी कोमको अध्यक्षतामा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।
धर्नामा बसेका कुस्ती खेलाडीसँग केन्द्रीय खेलकुदमन्त्री अनुराग ठाकुरले वैठक गरेपछि त्यसपछि पाँच सदस्यीय छानविन समिति गठन गरिएको हो ।

मेरीको अध्यक्षतामा गठन भएको उक्त पाँच सदस्यीय छानविन समितिमा कुस्तीका ओलम्पिक पदक विजेता योगेश्वर दत्त, पूर्व ब्याडमिन्टन खेलाडी तथा मिसन ओलम्पिक सेलकि सदस्य तृप्ति मुरगुन्डे, टाप्सका पूर्व सीईओ राजगोपालन र भारतीय खेल प्राधिकरणका पूर्व कार्यकारि निर्देशक राधिका श्रीमन रहेका छन् ।
कमनवेल्थ गेम्स् २०२२ मा कुस्तीतर्फ स्वर्ण पदक विजेता विनेश फोगटले महासंघका अध्यक्ष बृजभूषणले वर्षौंदेखि महिला कुस्ती खेलाडीहरुमाथि यौन उत्पीडन गर्दै आएको आरोप लगाएकि छिन् । तर अध्यक्षले भने यो आरोपको खण्डन गरेका छन् ।
मेरी कोमको अध्यक्षतामा गठन भएको यो छानविन समितिले अब महासंघका अध्यक्ष बृज भूषणकाविरुद्ध लागेको यौन उत्पीडनको बारेमा निश्पक्ष छानविन गर्नेछ । साथै एक महिनासम्म कुस्ती महासंघको गतिविधिको बारेमा समेत निगरानी गर्ने छ ।