एपीएफको तेश्रो जित, पुलिसले श्रीलंकन टोलीलाई हरायो

पोखरा । विभागीय टोली नेपाल एपीएफ क्लबले तेश्रो टाईगर कप अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लगातार तेश्रो जित हासिल गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंगलबार सम्पन्न दिनको चौंथो तथा अन्तिम खेलमा घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले तेश्रो जित निकालेको हो।

गण्डकीबिरुद्धको पहिलो र दोश्रो सेट क्रमशः २५–१९ र २५–२३ ले जितेको एपीएफले तेश्रो सेट २०–२५ ले गुमाएको थियो । त्यसपछि चौंथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै एपीएफ खेल जित्न सफल भयो ।

लगातार तेश्रो जितसँगै ३ खेलबाट ९ अंक जोडेको एपीएफ शिर्ष स्थानमा रहेको छ । यता पराजित गण्डकीको ३ अंक रहेको छ।

यसअघि आज नै भएको पुरुषतर्फ कै खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबमाथि ३–२ को जित निकालेको थियो ।

अघिल्ला दुई सेट १९-२५ र २३-२५ ले गुमाएको पुलिसले त्यसपछिको तीन सेट क्रमशः २५-२३, २५-१९ र १५–१३ ले जित्यो । जितसँगै पुलिसले तीन खेलबाट दुई अंक जोड्दा लगातार दोश्रो हार व्यहोरेको सेन्ट जोसेफले दुई खेलबाट एक अंक जोडेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १४ गतेसम्म संचालन हुने तेश्रो टाईगर कपमा महिला तथा पुरुषतर्फ समान पाँच कुल १० टोलीको सहभागिता रहेको छ।

महिलातर्फ त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् र केरला स्टेट इलेक्ट्रोनिक बोर्ड (भारत) रहेका छन्।

यसैगरी पुरुषतर्फ त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एसटी जोशेफ वाज स्पोर्टस् क्लब (श्रीलंका) सहभागि छन्।

राउण्ड रोविनका आधारमा जारी प्रतियोगितामा यस पटक पुरस्कार राशीमा दोब्बर बृद्धि गरिएको छ ।

यस पटक महिला तथा पुरुष दुवैतर्फको उपाधि विजेतो समान पाँच लाख प्राप्त गर्दा उपविजेताले दुई लाख ५० हजार, तेश्रो हुने टोलीले नगद एक लाख २५ हजार र चौंथो हुने टोलीले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै महिला तथा पुरुषतर्फको उत्कष्ट एक-एक जना खेलाडीले जनही २५ हजार प्राप्त गर्दा प्रत्येक विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १० हजार रुपौयाँ तथा ट्रफी प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :