एपीएफले आर्मीलाई हराएसँगै टाईगर कपमा महिलातर्फको सेमिफाइनल समिकरण पुरा

पोखरा । विभागिय टोली नेपाल एपीएफ क्लबले तेश्रो संस्करणको टाईगर कप अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ लगातार तेश्रो जित हासिल गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बुधबार सम्पन्न दिनको दोश्रो खेलमा अर्का विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले तेश्रो जित हासिल गरेको हो ।

आर्मीबिरुद्ध पहिलो सेट २५–१७ ले जितेको एपिएफले दोश्रो सेट २२–२५ ले गुमाएको थियो । त्यसपछिका दुई सेट क्रमशः २५–१६ र २५–१५ ले जित्दै एपीएफले खेल आफ्नो पक्षमा परेको हो ।

तेश्रो जितसँगै ३ खेलबाट ९ अंक जोडेको एपीएफ शिर्ष स्थानमा रहेको छ । यस्तै तीन खेलबाट ६ अंक जोडेको आर्मी दोश्रो स्थानमा रह्यो ।

यसअघि आज नै भएको पहिलो खेलमा महिलातर्फको घरेलु टोली गण्डकीलाई १९–२५, २५–१५, २५–१४ र २५–११ को सेटमा हराएको न्यु डायमण्ड तेश्रो स्थानमा रह्यो । यता लगतार तेश्रो हार व्यहारेको गण्डकी अंक विहिन रहँदै पुछारमा रह्यो ।

यससँगै महिलातर्फ लिग चरणका खेलहरु सकिए भने सेमिफाइनल समिकरण पनि पुरा भएको छ । अब सेमिफाइनलमा शीर्षस्थानको एपिएफले पुछारमा रहेको गण्डकी तथा दोश्रो रहेको आर्मी र तेश्रो स्थानमा रहेको न्यु डायमण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

दुवै सेमिफाइन बिहीबार तथा तेश्रो स्थानको प्रतिस्पर्धा शुक्रबार र फाइनल शनिबार हुनेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १४ गतेसम्म संचालन हुने तेश्रो टाईगर कपमा महिला तथा पुरुषतर्फ समान पाँच कुल १० टोलीको सहभागिता रहेको छ।

महिलातर्फ त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् र केरला स्टेट इलेक्ट्रोनिक बोर्ड (भारत) रहेका छन्। यसैगरी पुरुषतर्फ त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एसटी जोशेफ वाज स्पोर्टस् क्लब (श्रीलंका) सहभागि छन्।

राउण्ड रोविनका आधारमा जारी प्रतियोगितामा यस पटक पुरस्कार राशीमा दोब्बर बृद्धि गरिएको छ । यस पटक महिला तथा पुरुष दुवैतर्फको उपाधि विजेतो समान पाँच लाख प्राप्त गर्दा उपविजेताले दुई लाख ५० हजार, तेश्रो हुने टोलीले नगद एक लाख २५ हजार र चौंथो हुने टोलीले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै महिला तथा पुरुषतर्फको उत्कष्ट एक-एक जना खेलाडीले जनही २५ हजार प्राप्त गर्दा प्रत्येक विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १० हजार रुपौयाँ तथा ट्रफी प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :