नेपाली क्रिकेटको छाला काटेर हलाल गर्ने दु:स्साहस

श्रीविक्रम भण्डारी

नेपाल टी-२० लीगको जन्मिदै घाँटी निमोट्ने दुःस्साहस भएको छ । त्यस्तो दु:स्साहस खुद क्रिकेट खेलाडीहरुले नै गरेका छन् । यस्तो सर्मनाक खेलमा पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीको संलग्नता देखिनु र पक्राउ पर्नुले क्रिकेट खेलको राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा ठूलो मानमर्दन भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्पट फिक्सिङको आरोपमा आलम र अन्सारीलाई पक्राउ गरेपछि अहिले नेपाली क्रिकेटको छवीमा कलंकको कालो टीका लागेको छ । यो घटनाले आगामी दिनमा क्रिकेटमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पर्ने प्रस्ट देखिएको छ ।

भरखरै बामे सर्न लागेको नेपाल टी-२० लीगमा यस्तो अप्रिय घटना घट्नु आफैमा दु:खद कुरा हो । तर घटना घटिसकेको छ, नेपाली क्रिकेटको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा बेइज्जत भईसकेको छ । नेपाली क्रिकेटको छाला काटेर हलाल गर्ने कार्य यतिबेला अन्य कोहि नभई क्रिकेट खेलकै खेलाडीहरुले गरेका छन् । जुन कल्पना भन्दा बाहिरको भएपनि ति आरोपी खेलाडीहरुले आफुले खाएको थालमा आफैले प्वाल पारेको साविति बयान दिएपछि अहिले नेपाली क्रिकेटको आधार नराम्रोसँग खस्किन पुगेको छ । यो घटनाले नेपाली क्रिकेटको विश्वसनियता माथि हजारौं धाँजा समेत परेका छन् ।

अहिले पक्राउ परेका र आवरणमा देखिएका यी खेलाडीहरु त प्रतिनिधि पात्रहरु मात्र हुन । स्पट फिक्सिङ्गको गिरोहको पर्दाफास हुन त अँझै बाँकि छ । यस्तो अवस्थामा भोलि लहरो तान्दा पहरो गर्जिन सक्ने सम्भावना उत्तिकै छ । यतिबेला सीआईबीको असुन्धान जारी छ, लीगको आयोजनाको जिम्मेवारी पाएको थ्री सेभन कम्पनी पनि सीआईबीको शंकाको घेरामा परेको छ । यदि स्पट फिक्सिङ्गको घटनामा सेभन थ्री स्पोर्ट्स कम्पनीको सहभागिता देखिए यो घटनाले अँझ बिकराल रुप धारण गर्ने पक्का देखिन्छ । जस्ले नेपाली क्रिकेटलाई लामो समयसम्मको लागि थला पार्ने कुरालाई नकार्न मिल्दैन ।

सिआईबीले नेपाल टी-२० लीगमा स्पट फिक्सिङ भएको निस्कर्ष निकालेसँगै अहिले क्रिकेटका हरेक तह र तप्कामा आठ रेक्टर स्केलको भुकम्प गएको छ । जस्को प्रभाव क्रिकेट खेलमा मात्र सिमित नरहि माउ संस्था नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेट प्रेमीहरुमा समेत परेको छ । लिग सञ्चालनका दौरान स्पट र म्याच फिक्सिङ भएको सूचना चुहिएपछि लिगको साखमा मात्रै प्रश्न उठेको थिएन, राखेपले एक छानविन समिति समेत गठन गरेर खेलाडी र पदाधिकारीहसँग बयान लिएको थियो । जस्को प्रतिवेदन अहिले तयार भइरहेको अवस्था छ । यदि यो घटनामा छानविन समितिले क्यानका पदाधिकारीहरुलाई आर्थिक चलखेलमा दोषी देखायो भने त्यसवेला क्रिकेटमा आगो बल्ने कुरालाई सायदै कसैले रोक्न सक्ला ।

यतिबेला सीआईबीको अनुसन्धान जारी छ । यसैले यो घटनाको बारेमा सेभन थ्री स्पोर्ट्स कम्पनीका मालिक जतीन अहलुवालियासँग पनि सीआईबीले अवश्य सोधपुछ गर्नेछ । यसर्थमा कि सिआईबीले हालै आयोजना गरेको पत्रकार सम्मेलनमा सेभन थ्री स्पोर्ट्स कम्पनीका मालिकलाई शंकाको घेरामा राख्दै अनुसन्धानको दायरामा ल्याउने खुलासा गरेको थियो । यतिवेला चर्चा चलेको छ, नेपाल टी-२० लीग गर्न अहलुवालियाले राजनीतिक उच्च पदस्थदेखि युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजसम्मलाई भेट गरेका थिए । आखिर उनले किन लिग आयोजना गर्न राजनीतिक व्यक्तिहरुलाई भेटे त ? कतै यहाँ पनि आर्थिक चलखेलको खेल त भएको थिएन ? शंका गर्ने ठाउँ उत्पन्न भएको छ ।

समय अनुसार यो घटनाको सबै कुरा पर्दाफास हुने कुरोमा दुईमत छैन । दोषी जो भएपनि कारवाहि अवश्य हुनेछ । यसर्थमा कि दोषीलाई पक्राउ गरि कारवाहिको प्रक्रिया अगाडी बढेकोले पनि यो कुरालाई पुस्टि गर्छ । तर सबैभन्दा महत्वपूर्ण कुरो नेपाली क्रिकेट विवादित र वद्नाम हुँदा त्यसको भइपाई अब कसरी हुन्छ त्यो अहिले आम चासोको विषय बन्न पुगेको छ । लिग हुन नदिन केहि पूर्व क्रिकेट खेलाडीले निभाएको भूमिका अहिले पनि गोप्य राखिएको छ । वजारमा उनको चर्चा व्यापक छ तर उनी लिग बिथोल्न किन चाहन्थे भन्ने कुरा पनि बाहिर आउनु त्यत्तिकै आवश्यक छ । यो कुराप्रति पनि सीआईबी गम्भिर हुन जरुरी छ ।

यसरी अहिले नेपाल टी-२० लीगको आयोजना गर्दा पहिलो गाँसमै ढुङ्गा लागेको अवस्था छ । लिग हुन नदिने, स्पट फिक्सिङ्ग गर्ने र लिग सञ्चालनकै बेला आर्थिक भार उठाउन नसक्दा कम्पनीका मालिक भागेको इतिहास यो लिगको छ । अर्को कुरा जिम्मेवार निकाय क्यान पनि छानविनको दायरामा परेको छ । अब प्रश्न उठ्छ, के यी घटनाहरु घट्नु क्रिकेटको लागि सुखद पक्ष हो त ? कदापी होइन । त्यसैले अब सम्बन्धित निकायहरुले नेपालमा क्रिकेटको लोकप्रियता र अस्तित्व जोगाउन क्रिकेटमा लागेका धमिराहरुलाई सखाप पार्नु नै अहिलेको चुनौंति हो भन्दा अतिसयोक्ति नहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :