गोल्डेन एथलेटिक्स मिटमा तेज र निशा सर्वोत्कृष्ट

काठमाडौं । गोल्डेन एथलेटिक्स मिटमा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एथलेटिक्स परिवार नेपालद्धारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।

सोमबार सम्पन्न प्रतियोगिताको ५ हजार मिटर पुरुष दौडमा एपीएफका सन्जीव नेपाली पहिलो भए । उनले निर्धारित दुरी १५ मिनेट ५३ दशमलव ०३ सेकेन्डमा पुरा गरे। पुलिसका सन्तोष नाथ योगी १५ मिनेट ५६ दशमलव ०६ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै प्रकाश सिंह १६ मिनेट ०२ सेकेन्डको समयको साथ तेस्रो भए ।

महिला ५ हजार मिटरमा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो बनिन् । उनले निर्धारित दुरी १७मिनेट ३७ सेकेन्डमा पार गरिन् । पुलिसकी राम माया बुढा १८ मिनेट ४४ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै रेखा विष्ट १८ मिनेट ४५ सेकेन्डको समय निकाल्दै तेस्रो बनिन् ।

पुरुष दुई समय मिटर दौडमा एपीएफका शिबराज पार्कीले २२ दशमलव ३७ सेकेन्डको समय निकाल्दै पहिलो बने । एपीएफकै निर प्रताप महतोले २२ दशमलव ८१ सेकेन्डको समयमा दोस्रो र काठमाडौंका अरुण महतो २३ दशमलव ०५ सेकेन्डको समय निकाल्दै तेस्रो बने । महिला स्पर्धामा दाङकी निशा चौधरी २५ दशमलव ७१ सेकेन्डको समय निकाल्दै पहिलो बनिन् । एपीएफकी रमिताकुमारी थारुले २६ दशमलव ७२ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकी लक्ष्मी साउदले २८ दशमलव ४६ सेकेन्डको समय निकाल्दै तेस्रो बनिन् ।

पुरुष ८ सय मिटर दौडमा पुलिसका तेजबहादुर कार्की १ मिनेट ५८ दशमलव ४ सेकेन्डको समय निकाल्दै पहिलो बने । पुलिसका नागेश्वर ऐर १ मिनेट ५८ दशमलव ९ सेकेन्डको समयमा दोस्रो र सुदूरपश्चिमका कुशल जैशी २ मिनेट ०३ दशमलव ९ सेकेन्डको समय निकाल्दै तेस्रो बने ।महिला ८ सय मिटरमा एपीएफकी फुलमती राना २ मिनेट २३ दशमलव ५ सेकेन्डको समय निकाल्दै पहिलो, एपीएफकै आशा रावत २ मिनेट २९ दशमलव ३ सेकेन्डको समय निकाल्दै दोस्रो र सिमा चौधरी २ मिनेट ३२ दशमलव ४ सेकेन्डको समय निकाल्दै तेस्रो बनिन् ।

पुरुष ट्रिपल जम्पमा एपीएफका सलिम देवान १३ दशमलव ४८ सेन्टिमिटरको दुरी पार गर्दै पहिलो बने । एपीएफकै चन्द्रदेव जोशी १३ दशमलव ४५ सेन्टिमिटरको दुरी तय गर्दै दोस्रो र रामकुमार लामिछाने १३ दशमलव ३५ सेन्टिमिटरको दुरी तय गर्दै तेस्रो बने । महिला स्पर्धामा पुलिसकी सिमा चौधरी १० दशमलव २९ मिटरको दुरी पार गर्दै पहिलो बनिन् । एपीएफकी इनजीता राई ९ दशमलव ८६ सेकेन्डको दुरी पार गर्दै दोस्रो र पुलिसकी सुमित्रा कुमारी चौधरी ९ दशमलव ५४ मिटरको दुरी तय गर्दै तेस्रो बनिन् ।

ज्याभलिन थ्रो पुरुषमा एपीएफका रमेश पोखरेल पहिलो बने । उनले ५२ दशमलव ५५ सेन्टिमिटरको दुरीमा थ्रो गरे । एपीएफकै मनोज डन्गुरा दोस्रो र पुलिसका पुस्कल खड्का तेस्रो बने । महिला स्पर्धामाचन्द्रकला लाम्घादे ४२ दशमलव १३ सेन्टिमिटरको दुरीमा थ्रो गर्दै पहिलो बनिन् । एपीएफकी सिमा कुमारी थारु दोस्रो र बसन्ती चौधरी तेस्रो बनिन् ।

पुरुष सटपुटमा पुलिसका पुस्कल खड्का ११ दशमलव ७४ को दुरी पार गर्दै पहिलो बने । पुलिसकै रुपेश भण्डारी दोस्रो र एपीएफका मिलन चौधरी तेस्रो बने । महिला स्पर्धामा पुलिसकी चन्द्रकला लाम्घादे ११ दशमलव ९७ मिटरको दुरी तय गर्दै पहिलो बनिन् । पुलिसकै बसन्ती चौधरी दोस्रो र गोरखाकी मन्जु गुरुङ तेस्रो बनिन् ।

चार बाई चार सय मिटर मिक्स रिलेमा एपीएफको टिम च्याम्पियन बन्यो । लुम्बिनी प्रदेशको टिम दोस्रो र नेपाल पुलिस क्लबको टिम तेस्रो बन्यो ।प्रतियोगितामा विभागीय सहित ३ सय खेलाडीले सहभागीता जनाएका थिए । पदक विजेता खेलाडीलाई राखेप सदस्य सचिब टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए । नेपाल एथलेटिक्स संघ र राष्ट्रिय खेलकुद परिषद् राखेपको स्विकृतिमा सञ्चालित प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती सहित विभिन्न ब्यवसायीक संघ संस्थाले सहकार्य गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :