वडा ८ स्तरिय ब्याडमिन्टनको उपाधी सुरेस र नारायणलाई

पोखरा । सुरेस तामाङ्ग र नारायण रानामगरको जोडीले पोखरा–८ वडास्तरिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी जितेका छन् ।

बुधबार खुल्लातर्फ भएको फाइनल खेलमा दिल सुनारी र श्याम थापाको जोडीमाथि २१–१६ र २१–१५ को सोझो सेटमा जित निकाल्दै सुरेस जोडीले यो प्रतियोगिताको उपाधी जितेको हो । देवन थापा र सूर्यबहादुर थापाको जोडीले तेश्रो स्थान प्राप्त गरे ।

पोखरा महानगरपालिका वडा नम्बर ८ को आयोजना तथा युनिक व्याडमिण्टन क्लवको संयोजनमा सिर्जनाचोकस्थित बराल सामुदायिक भवनको हलमा सम्पन्न प्रतियोगिता अन्तर्गत भेट्रान्सतर्फ सरोज श्रेष्ठ र सुनिल पौडेलको जोडी प्रथम हुन सफल भयो ।

प्रतिस्पर्धात्मक फाइनल खेलमा वडाध्यक्ष समेत रहेका रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडीलाई १४–२१, २१–१९ र २१–९ को सेटमा पराजित गर्दै यो जोडीले उपाधी रक्षा गरेको हो । फुर्वा छिरिङ गुरुङ र रबिन कुमार विश्वकर्माले तृतीय स्थानमा चित्त बुझाए ।

प्रतियोगितामा विजयी खेलाडीहरुले खेल समाग्री सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार पाए । उनीहरुलाई प्रतिनिधी सभा सदस्य विद्या भट्टराईले एक समारोहका विच पुरस्कार प्रदान गरिन् । सो अवसरमा भट्टराईले खेलकुदले स्वस्थ्य समाज, स्वस्थ्य नागरिक उत्पादन गर्ने हुँदा मानव जिवनमा खेलकुदको महत्वपूर्ण पाटो रहेको औल्याइन् । तर सरकारले खेल क्षेत्रलाई कहिल्यै प्राथमिकतामा नराखेकोमा दुखेसो पोख्दै खेल क्षेत्रमा बजेट बढाउन आफुले पहल गर्ने बताइन् ।

समापन समारोहमा पोमनपा वडा ७ का वडाध्यक्ष राममोहन आचार्य, वडा ५ का वडाध्यक्ष विष्णु प्रसाद बराल, निवर्तमान अध्यक्ष डिवी नेपाली, वडा ८ का सदस्य गोविन्द बराल, निवर्तमान सदस्य किरण गौतम लगायतले प्रतियोगिताको महत्वबारे बोलेका थिए ।

आयोजक वडाका वडाध्यक्ष रुद्रनाथ बरालले यो प्रतियोगितालाई आगामी वर्षहरुमा थप परिस्कृत गर्दै निरन्रता दिइने बताए । वडा सचिव सविता ढुङ्गानाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :