एशियाली खेलकुदको तयारीको लागि अर्थले दियो राखेपलाई २ करोड, छिट्टै प्रशिक्षण शुरु हुने

लक्ष्मी शाक्य

काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनमा आयोजना हुने १९ औँ एशियाली खेलकुद प्रतियोगिता (एशियाड) को तयारी शुरु गर्ने भएको छ ।

एशियाडको तयारीको लागि अर्थ मन्त्रालयले पहिलो किस्तामा २ करोड रुपैयाँ उपलब्ध गराएपछि राखेपले एशियाडको तयारी शुरु गर्न लागेको राखेपका सदस्यसचिव टंकलाल घिसिङ्गले जानकारी गराएका हुन्।

सदस्यसचिव घिसिङ्गले भने, ‘अहिले अर्थले २ करोड उपलब्ध गराएको छ, त्यसबाट एसियाडको तयारी शुभारम्भ गर्छाै। बाँकि रकम पनि तयारीकै क्रममा उपलब्ध हुने कुरामा म विश्वस्त छु।’

१९ औं एशियाडमा नेपालले २३ खेलमा सहभागिता जनाउने निर्णय भएपनि देशकाल परिस्थिति अनुसार उक्त खेल संख्यामा कटौती हुनसक्ने संकेत समेत सदस्यसचिव घिसिङ्गले दिएका छन् ।

वर्तमान अवस्थामा प्रदान गरिएको बजेटको आकार हेर्दा कति खेलको प्रशिक्षण गर्ने टुङ्गो नलागेपनि एशियाडमा सम्भावित पदक जित्न सक्ने खेलहरुलाई प्राथमिकतामा राखेर तयारी शुरु गर्ने घिसिङ्गले मेरो खेललाई जानकारी गराए ।

अर्थ मन्त्रालयले एशियाडको तयारीको लागि बजेटमा १० करोड रुपैयाँको विनियोजन गरेको थियो । तर केहि महिनाअघि अर्थले राखेपले विभिन्न शिर्षकमा छुट्याएको बजेटमा कटौती गरेको थियो । बजेट कटौती गर्दा एसियाडको तयारी समेत अन्योलमा परेको थियो ।

राखेपमा पटक पटक बसेको हाई प्रोफाइल कमिटिको मिटिङले एशियाडको तयारी माघ महिनादेखि नै गर्नुपर्ने सुझाएको थियो । सोहि सुझावको आधारमा राखेपले माघ महिनादेखि नै एशियाडको तयारी गरिने सार्वजनिक जानकारी गराएको थियो ।

तर अर्थ मन्त्रालयले खर्च कटौती तथा बजेट रोक्का गरिएको भन्दै युवा तथा खेलकुद मन्त्रालय र राखेपको आर्थिक शाखालाई पत्राचार गरेपछि माघदेखि शुभारम्भ हुनुपर्ने एशियाडको तयारी अहिलेसम्म हुन सकेको छैन । १९ औं एशियाली खेलकुद चीनको हाङ्गझावमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :