एशियाली छनौटमा सागकि स्वर्ण पदक विजेता निमा पहिलो चरणबाटै फ्याँकिएपछि उसुमा खैलाबैला

श्रीविक्रम भण्डारी

१९ औँँ एशियाली खेलकुद प्रतियोगिताको उसु खेलतर्फ बैशाख ८ देखि १० गतेसम्म भएको प्रथम छनौटमै नेपालका चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु फ्याँकिएका छन् ।

पहिलो चरणमै फ्याँकिएका खेलाडीहरुमा दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा दोहोरो स्वर्ण पदक जित्न सफल निमा घर्ति मगर समेत परेकि छिन् । निमा नेपालकि उत्कृष्ट उसु खेलाडी हुनुको साथै अन्तर्राष्ट्रिय उसु महासंघले टप १३ भित्रै राखेकि खेलाडी समेत हुन् ।

साथै निमाले गत असोज–कार्तिकमा गण्डकि प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा थाउलो इभेन्ट अन्तर्गत नानछवान अलराउण्डरतर्फ स्वर्ण पदक समेत जितेकि थिइन ।

त्यस्तै नवौं राष्ट्रियमा थाउलो अन्तर्गत थाईची छवान अलराउण्डरतर्र्फ स्वर्ण पदक विजेता सविता राई र थाउलो अन्तर्गत नै चियन सु छियाङ्गतर्फ स्वर्ण पदक विजेता कविता थापालाई पनि पहिलो चरणको छनौटबाटै बाहिर फ्याँकिएको छ । यसैगरि कुन्सु ताउसुतर्फ नवौं राष्ट्रियमा रजत पदक विजेता राजिव तामाङ्गलाई पनि पहिलो छनौटबाट नै बाहिरिन पुगेका छन् ।

यसरी पहिलो छनौटमै चर्चित खेलाडीहरुलाई पाखा लगाइएपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ्ग लामासँग सम्पर्क गर्दा उनले यो दुर्भाग्यपूर्ण घटना भएको बताए। साथै यस्तो गैरजिम्मेवारी तरिकाले गरेको छनौटले उसु खेल र खेलाडीमाथि ठूलो कुठाराघात भएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रियस्तरमा उसु खेलमा पदक जित्नसक्ने सम्भावित खेलाडीहरुमाथि आग्रह र पूर्वाग्रह राखेर विवादित उसु महासंघले गरेको यस्तो छनौटले खेलाडीहरुको मनोविज्ञानमा समेत नकारात्मक असर परेको लामाले दाबी गरे ।

यसरी चर्चित खेलाडीहरुलाई पहिलो चरणबाटै बाहिर राख्ने विवादित महासंघका पदाधिकारीले अहम भूमिका निभाएको समेत लामाले बताए । साथै विवादित संघका पदाधिकारीहरु छनौटको निर्णायक मण्डलमा बस्दा यस्तो किसिमको छनौट हुन पुगेको आरोप समेत लामाले लगाएका छन् । साथै उनले एउटै व्यक्ति दुई ठाउँमा बस्दा निस्पक्ष छनौट हुन नसकेको खुलासा समेत गरे । स्मरण छ, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार एउटै व्यक्ति संघको पदाधिकारी र निर्णायक बन्न मिल्दैन ।

यसअघि अन्तर्राष्ट्रिय मान्यता प्राप्त वीरबहादुर तामाङ्गको अध्यक्षतामा रहेको उसु महासंघले १९ औं एशियाली खेलकुदको पहिलो र दोश्रो चरणको छनौट गरेको थियो । तत्कालिन समयमा महासंघले अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुसार विधि सम्मत छनौट गरेको थियो ।

अहिले जुन किसिमले हचुवाको भरमा गैरकानुनी तरिकाले पहिलो छनौट गरिएको छ, त्यो आफैमा त्रुटीपूर्ण देखिएको छ । यसर्थमा कि जुन किसिमले अहिले पहिलो चरणको छनौट गरिएको छ, त्यसपछि दोश्रो र तेश्रो चरणको छनौट गर्न नै आवश्यक देखिदैन । किनकी पहिलो छनौटमै अन्तिम छनौटको टुङ्गो लागिसकेको छ । यदि यो नै कायम रहे एसियाडमा उसु खेलतर्फ एक जना महिलाको मात्रै सहभागिता रहने देखिन्छ ।

पहिलो चरणमा छनौट भएका खेलाडीहरुसँग दोश्रो र तेस्रो छनौटमा ति खेलाडीहरुसँग प्रतिस्पर्धा गर्ने कुनै खेलाडी नै देखिदैन । प्रतिस्पर्धा गर्ने खेलाडी नभएपछि छनौट गर्नुको औचित्य कसरी पुस्टि गर्न सक्छ त्यो बारेमा विवादित महासंघ गम्भिर बन्न सकेको छैन ।

उसु एशियाली खेलकुदमा सम्भावित पदक जित्ने खेलको सूचीमा पर्छ । तर साग र राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई पहिलो छनौटमा नै पाखा लगाएपछि एशियन गेम्समा उसु खेलाडीहरुले कस्तो प्रदर्शन गर्लान्, त्यो सोझै अनुमान लगाउन सकिन्छ ।

अहिले नेपाल उसु महासंघको विवाद न्यायालयमा बिचाराधिन अवस्थामा रहेको छ । न्यायालयबाट २०७९ साल कार्तिक २४ गते राखेपले निर्णय गरेको लिखित सहितको कारवाही फाइल झिकाएको अवस्था छ । जुन राखेपले अहिलेसम्म न्यायालयलाई नबुझाएर आलटाल गरिरहेको अवस्थामा छ । उल्टै एउटा उसु महासंघ हुँदाहुँदै अर्को उसु महासंघको तसर्थ समिति गठन गर्दै निर्वाचन गरेको समेत अवस्था छ।

नेपाल उसु महासंघको नयाँ कार्यसमितिलाई नेपाल ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय उसु महासंघले समेत मान्यता दिएको छैन । अहिले पनि वीरबहादुर तामाङ्ग अध्यक्ष रहेको नेपाल उसु महासंघलाई यी दुवै संस्थाले मान्यता दिएका छन् ।

यदि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न नसकेको खण्डमा भोलि विवादित महासंघले खेलाडी छनौट गरेपनि १९ औँ एशियाडमा खेलाडीहरुले कसरी सहभागिता जनाउलान् त्यो अहिले निकै चासो र चर्चाको विषय बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :