खेलाडीमाथि तेक्वान्दो संघको दादागिरी, राखेपको मौनता

यतिबेला नेपाल तेक्वान्दो संघको दादागिरीले पराकाष्ठा नाघेको छ । आफ्नै खेलाडीलाई १९औँ एशियाली खेलकुद प्रतियोगिताको छनौट चरण खेल्न नदिएर तेक्वान्दो संघले दादागिरी देखाएको छ । बिना कारण खेलाडीलाई छनौट चरण खेल्न नदिएपछि पुनः तेक्वान्दो संघ विवादमा तानिएको छ । छनौट चरण खेल्न नपाएका खेलाडीहरुले आफ्नो खेल्न पाउने हक अधिकारमाथि तेक्वान्दो संघले आग्रह पूर्वाग्रह राख्दै बञ्चित गरेपछि निष्पक्ष छानविनको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दर्ता गराएको अवस्था छ ।

नेपाली खेलकुदमा नेपाल तेक्वान्दो संघको कथा निकै कहाली लाग्दो छ । जुन सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर त्यो तीतोसत्य हो । जहाँँ चार दशकभन्दा लामो समयदेखि एकजना तानाशाहले तेक्वान्दोलाई आफ्नो कब्जामा लिएर सञ्चालन गरिरहेका छन् । उनको आदेश, अनुमति र निर्देशनबिना तेक्वान्दोको अकाशमा पन्छीहरु समेत उड्न पाउँदैनन् । यदि कसैले त्यस्तो दुःस्साहस गर्यो भने त्यसलाई सदाको लागि समाप्त पारिन्छ । अहिले यस्तै घटनाको पुनरावृति भएको छ, तानाशाहका लठैतहरुले खेलाडीहरुको हुर्मत लिने कार्य गरेका छन् । जस्लाई कुनैपनि कोणबाट सहि मान्न सकिदैन ।

नेपाल तेक्वान्दो संघमा उत्तर कोरियाको जस्तो तानाशाही चलाइरहेको व्यक्ति महासचिव दीपराज गुरुङ्ग हुन् । राखेप अन्तर्गतको एउटा राष्ट्रिय खेलकुद भएपनि दीपराज राखेपको ऐन नियम कानुन केहि मान्दैनन् । तेक्वान्दोमा केवल उनको मात्रै नियम कानुन चल्छ र अहिलेसम्म चल्दै पनि आएको छ । स्थानिय सरकार, प्रदेश सरकार, केन्द्र सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपको निर्देशनले उनलाई खास्सै फरक पार्दैन र अर्थ पनि राख्दैन । उनले अन्तर्राष्ट्रिय मान्यताको रवाफमा तेक्वान्दोलाई आफुुखुशी चलाउँँदै आएका छन् । तर सम्बन्धित निकाय उनको यो दुःस्साहसको रमिते बन्दै टुलुटुलु हेरेर बस्दै आएको मात्र छ । जस्ले उनलाई तेक्वान्दोमा बेथिति मच्चाउन अँझ सजिलो बनाई दिएको छ । उनी तेक्वान्दोमा पशुपतिनाथ परिसरमा खुला छोडेको उन्मूक्त साँँढेभन्दा कम देखिएका छैनन् ।

यतिबेलाको घटनाक्रम गठन, विघटन र हस्तक्षेप नभएर तेक्वान्दो खेलाडीहरुलाई खेल्न पाउने अधिकारबाट बञ्चित गरेपछि तेवान्दो संघ विवादमा तानिएको हो । खेलाडीहरुको खेल्ने पाउने नैसर्गिक अधिकारमाथि तेक्वान्दो संघले आग्रह पूर्वाग्रहको आधारमा डोजर चलाएपछि यस्तो विवादित परिस्थितिको सिर्जना भएको हो । ति अधिकार खोसिएका खेलाडीहरुले आफुहरुले के गल्ती गरे र आफुलाई किन खेल्न दिइएन ? यसको जवाफ दिन र त्यसको छानविन गर्र्न राखेपमा निवेदन दर्ता गराएपछि अहिले उनीहरुको यो आवाज सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भरिन पुगेको छ । तर अहिलेसम्म ति खेलाडीहरुले न्याय पाउन भने सकेका छैनन् ।

नेपाल तेक्वान्दो संघमा चलिरहेको दादागिरी राखेपले प्रत्यक्ष र अप्रत्यक्ष दुवै रुपमा देखेको छ र आत्मसात पनि गरेको छ । तर तेक्वान्दो संघलाई अहिलेसम्म तह लगाउन सकेको अवस्था छैन । राखेप अन्तर्गतको संघ, राखेपको तेक्वान्दो हल, राखेपले उत्पादन गरेका खेलाडी, राखेपका प्रशिक्षक भएर पनि किन राखेपले तेक्वान्दो संघलाई अहिलेसम्म कारवाहिको दायरामा ल्याउन सकेको छैन ? यो कुरा अहिले समझ भन्दा बाहिरको विषय बन्न पुगेको छ । तेक्वान्दो संघको यस्तो दबदबामा ठूलो रहस्य लुकेको छ भन्दा अतिसयोक्ति नहोला ।

अन्यथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र नियमावली अन्य सबै राष्ट्रिय संघमा लागु हुने तेक्वान्दो संघमा मात्र किन लागु नहुने त्यो आफैमा प्रश्नचिन्हको घेरामा परेको छ । के अन्तर्राष्ट्रिय मान्यताकै आधारमा सरकारको स्वामित्वमा रहेको सरकारी सम्पत्तिमाथि सर्पले कुण्डली मारे झैं मारेर बस्न मिल्छ ? मिल्दैन भने राखेप कहिले एक्सनमा आउने त ? कुरो गम्भिर र जटिल छ , तर राखेप अनदेखि र अनसुनी गर्दै लाचार भएर बसेको अवस्था छ । कार्यकारि अधिकार प्राप्त निकाय राखेपले तेक्वान्दोको विषयमा यसरी उँधोमुन्टो लगाएको कत्तिको सुहाउँछ ? त्यो …लाई भन्दा देख्नेलाई लाज भएको छ ।

अन्त्यमा, तेक्वान्दो संघ व्यक्ति विशेषको हो कि राष्ट्रको ? त्यो कुरा राखेपका पदाधिकारीहरुले बुझ्नुपर्ने जरुरी भइसकेको छ । अन्यथा आज खेलाडीलाई डराउने, थर्काउने, गाली बेइज्जत गर्ने र उनीहरुको भविष्यमाथि खेलवाड गर्ने तेक्वान्दो संघले भोलि राखेपको अस्तित्वमाथि नै धावा नबोल्ला भन्न सकिदैन । त्यसैले राखेपका सदस्यसचिव टंकलाल घिसिङ्गले यो विषयमा गम्भिर बन्दै खेलाडीहरुको हक हित र अधिकारका लागि उचित कदम उठाउनु पर्ने समय भइसकेको छ । हेरौं, अब खेलाडीहरुले दिएको निवेदनप्रति सदस्यसचिवले कस्तो कदम उठाउँछन् ? त्यसपछि दुधको दुध पानीको पानी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :