नेपालले मार्यो क्रिकेटमा ठूलो छलाङ्ग तर सरकार…

मिहिनेतको फल मीठो हुन्छ, आज त्यो मीठो फल चाख्ने सौैभाग्य नेपालले पाएको छ । नेपाली क्रिकेटको इतिहासमा बैशाख १९ गते अविष्मणिय दिन बन्न पुगेको छ । नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्दै पहिलो पटक एशिया कपमा छनौट हुन पुगेको छ । जुन नेपाल र नेपालीको लागि गौरवको विषय बन्न पुगेको छ । यो ऐतिहासिक उपलब्धि र सफलतासँगै नेपालले टेष्ट क्रिकेट खेल्ने विश्वकै धुरन्धर राष्ट्रसँग प्रतिस्पर्धा गर्ने र अनुभव बटुल्ने ठूलो अवसर प्राप्त गरेको छ। जस्को नेपालले वर्षौंदेखि प्रतिक्षा गर्दै आएको थियो ।

नेपालको सबैभन्दा जेठो खेलकुद संघ ‘नेपाल क्रिकेट संघ’ (क्यान) ले तत्कालिन समयमा राष्ट्रियस्तरमा क्रिकेट खेलको विकास गर्न सफल भएपनि अन्तर्राष्ट्रिय पहुँच भने बनाउन सकेको थिएन । साँचो अर्थमा भन्नुपर्दा दरबारको चार दिवारीमा सिमित क्रिकेट आम जनताको पहुँचमा पुगेपनि देशकाल परिस्थिति अनुसार चल्न सकेको थिएन । नेपाली क्रिकेट सानो परिधिभित्र मात्रै सिमित थियो । जब सन् १९८७ मा भारत र पाकिस्तानले संयुक्त रुपमा विश्वकप क्रिकेटको आयोजना गरे त्यसपछि नेपालमा पनि क्रिकेटको चहल पहल शुरु भयो । क्यानले आफ्नो स्थापनाको ५० औं वर्षगाँठको अवसर पारेर पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेपाली क्रिकेटको विकासमा मोर्चा कस्ने प्रतिवद्धता जाहेर गरेको थियो ।

प्राय मृत अवस्थामा पुगेको क्रिकेटलाई ब्युँताउन तत्कालिन क्यानका अध्यक्ष जयकुमारनाथ शाह र महासचिव विनय पाण्डेले अहम भूमिका निर्वाह गरे । सन् १९९६ मा पुनः दक्षिण एशियाली मुलुक भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा विश्वकप क्रिकेटको आयोजना गर्ने अवसर पाउनु र श्रीलंका जस्तो उदीयमान राष्ट्रले विश्वकपको उपाधि जित्नुको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव नेपाली क्रिकेटमा पर्न पुग्यो। यसपछि नेपाली क्रिकेटमा ‘क्रिकेट’को लहर नै आयो । हिजोसम्म क्रिकेटसँग अनविज्ञ रहेकाहरु समेत क्रिकेटप्रति चासो राख्न थाले । परिणाम नेपालमा क्रिकेट खेलको विकास मात्रै भएन, त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको समेत निर्माण हुन पुग्यो । यो उपलब्धिसँगै नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्दैै नेपाललाई अन्तर्राष्ट्रिय मानचित्रमा उभ्याउन सफल भयो । जुन आफैमा कुनै दन्त्य कथा जस्तै रोचक र कर्णप्रिय थियो ।

विगत अढाई दशकमा नेपाली क्रिकेटले निकै आरोह र अवरोहसँग पैँठाजोरी गर्नु परेको इतिहास हाम्रो सामु छ । तर विगत तीन महिनामा नेपाली क्रिकेट टोलीले जुन किसिमको उत्कृष्ट प्रदर्शन गर्यो त्यो आफैमा अविष्मरणीय बन्न पुगेको छ । आईसीसी विश्वकप लिग टु मा नेपालले गरेको प्रदर्शन कल्पना भन्दा बाहिरको थियो । तर नेपालले क्रिकेट अनिश्चिताको खेल भएको प्रमाणित गर्दै विश्वकप ग्लोबल क्वालिफायरमा छनौट भएको थियो । जुन अपत्यारिलो र असम्भव जस्तै भएपनि नेपालले सम्भव बनाएर नेपाली क्रिकेटलाई नौंलो मार्गमा उभ्याउन सफल भएको थियो । यसमा नेपाली खेलाडीहरुको मेहनत र प्रशिक्षक मोन्टी देशाईको परिपक्व प्रशिक्षणले राष्ट्रिय क्रिकेट टोलीमा इन्द्रेणीको जस्तै सात रङ्ग भर्ने कार्य गरेको छ । जस्को जति प्रशंसा गरेपनि अपुग हुन्छ अर्थात् पुग्दैन ।

यतिबेला नेपाली क्रिकेटले ठूलो छलाङ्ग मार्न सफल भएको छ । यो सफलताले नेपाली क्रिकेटलाई उपल्लो दर्जामा उभ्याउँदाको खुशी एकातिर छ भने अर्कोतर्फ चुनौंति पनि त्यत्तिकै थपिदिएको छ । अब नेपालले अहिलेको भन्दा धेरै मेहनत गर्दै अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान र साखलाई जोगाउनु पर्ने अवस्था सिर्जना भएको छ । यस्तोमा विश्व क्रिकेटको रङ्गमञ्चमा गर्ने प्रदर्शन नै नेपालको लागि फलिभूत हुनेछ । जहाँ नेपालले अनुभव बटुलेर आफुलाई तापिएको सुन झैं २४ क्यारेटको बनाउनु पर्नेछ । यहि नै नेपालको पहिलो र अन्तिम प्रयास हुनुपर्नेछ ।

र, अन्त्यमा यी सबै विषयलाई उठान गरिरहँदा राज्य भनौं वा राष्ट्र भनौं, यसको परिचय र यसको शिर उचो खेलाडीको दमखममा त निर्माण हुँदै नै छ । तर, यी खेलाडीको उम्दा प्रयासलाई अब होस्टेमा हैसेले मात्र पुग्दैन, नेपाल सरकारले यथाशिघ्र यसको उचित संरक्षण गर्न पूर्वाधार देखि खेलाडीहरुले खेल क्षेत्रबाटै आफ्नो परिवार र हैसियतर्ला बचाएर राख्ने रुपरेखा कोर्नै पर्छ र त्यसको कुनै विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :