यो कालेले फुटबल खेलेर धेरै माया पाएको छ: देवनारायण चौधरी

श्रीविक्रम भण्डारी

‘देवना’ गाउँ फर्केको छ भन्ने कुरा गाउँमा बस्ने सबैलाई थाहा भयो भने सबैजना हर्षको आँसु चुहाउँछन् । सबैजना भन्छन्,(‘हामरे देवना गाँव फर्केल’। देवनारायण चौधरीको जन्मस्थल सिद्राहा गाविसको वडा नं. १ हो । बुबा ठकनलाल चौधरी र आमा गोडी चौधरीको सुपुत्र चौधरीको जन्म २०३६ सालमा भएको थियो । सानो छँदा फुटबलप्रतिको मोहले छपक्कै छोपेको चौधरीलाई १४ वर्षको उमेरसम्ममा पनि छालाको बुटको आवश्यकता परेन । बल भन्नु देवनारायणका लागि कपडा र कागजको डल्लो थियो । पछि १६ वर्षसम्म नेपालको राष्ट्रिय जर्सीमा रङ्गिएका देवनारायणले उक्त क्रममा नेपाली फुटबललाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन विशेष योगदान दिएका थिए । तिनै ‘हेडिङ्ग किङ्ग’ देवनाले अन्तर्राष्ट्रिय फुटलबबाट भर्खरै मात्र सन्यास लिएका छन् । पढेर भन्दा परेर जानिन्छ भन्ने ज्वलन्त उदाहरणका पर्यायवाची देवनारायण चौधरीसँग आजभन्दा दुई दशकअघि मेरोखेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले गरेको विशेष कुराकानीः–

० फुटबल खेल्न कहिलेदेखि शुरु गर्नुभयो?
– फुटबल त सानैदेखि खेल्थे । गाउँमा केटाहरु जम्मा हुने बित्तिकै कपडा र कागजको डल्लोको बल बनायो, अनि खेल्यो । सुरुमा त म त्यहिकै पोखरी क्लबबाट खेल्थे, पछि चन्द्रसूर्य स्पोर्टिङ्ग क्लबबाट खेले अनि अझैंपछि युनाईटेड युथ क्लबबाट खेले ।

० तपाईं मोरङ्गको ठिटो, कसरी काठमाण्डौं आईपुग्नु भयो?
– म गाउँमा राम्रो खेल्थे । मलाई काठमाण्डौं ल्याईपुर्याउन स्व.रुपकराज शर्मा, राजेन्द्रबहादुर सिंह, विज्ञानराज शर्मा अनि धनबहादुर बस्नेत दाईको ठूलो हात रहेको छ।

० राष्ट्रिय टोलीमा कहिले पर्नुभयो ?
– २०४४ सालदेखि मैले महेन्द्र क्लबबाट खेल्न शुरु गरे । त्यसबखत २०४४ सालमै म राष्ट्रिय टोलीमा पर्न सफल भएँ । त्यस ताकाका राष्ट्रिय टोलीका प्रशिक्षक धनबहादुर बस्नेत हुनुहुन्थ्यो, उँहाहरुले मेरो खेल हेर्नुभयो अनि मलाई राष्ट्रिय टोलीमा समावेश गराउनु भएको थियो ।

० राष्ट्रिय जर्सीमा कतिवटा खेल खेल्नुभयो?
– शुरुमा त सन् १९९० मा भारतको केरलामा यु–१९ टोलीबाट खेलेको थिएँ । त्यसबेला हाम्रो टोलीले कोरियासँग ६ र चीनसँग १० गोल खाएको थियो । १९९१ मा श्रीलंकामा सम्पन्न भएको पाँचौं साफ खेलकुददेखि २००३ सम्म गरी ४८ वटा अन्तर्राष्ट्रिय खेल खेले । जसमा ४७ खेलमा प्लेइङ्ग ११ मा परेको थिएँ ।

० अन्तर्राष्ट्रिय खेल पनि धेरै खेल्नु भएछ, व्यवसायिक फुटबल खेल्नु भएन ?
– व्यवसायिक फुटबल त मैलै सन् १९९४ देखि नै खेल्न थालेको थिए । सबैभन्दा पहिले जर्मनीका कोच होल्गर ओभरम्यानको सहयोगमा मलेसियाको पेलिस टिममा खेले । मैले त्यहाँ १३ म्याचमा ७ गोल गरेको थिए ।

० शुरुमा कति पारिश्रमिक पाउनु भयो ?
– राम्रै थियो । त्यसतिबेला १ महिनाको ७ सय अमेरीकी डलरको दरले २१ सय अमेरीकी डलर कमाएको थिए ।

० त्यसपछि……
– सन् १९९६ मा भारतको प्रख्यात क्लब ‘इस्ट बंगाल’ बाट खेल्न शुरु गरे । म त वि.सं.२०४४ देखि नै पुलिस क्लबबाट खेल्दै आएको थिएँ । त्यसबेला मैले महिनाको ४ सय रुपैयाँ पाउँथे । सन् २००१ मा आएर बंगलादेशको ‘वारी’ क्लब र फराहगञ्ज क्लबबाट खेलें । र अहिले पनि पुलिस क्लबबाट नै खेलिरहेको छु ।

० सिपाहीबाट फुटबल खेल्न थाल्नु भएको होइन ?
– हो, २०४४ मा नै सिपाहीबाट फुटबल खेल्न शुरु गरें, राजेन्द्रबहादुर सिंह र विज्ञानराज शर्मा दाईहरुको धेरै सहयोगका कारण अहिले म सहायक इन्स्पेक्टरको रुपमा फुटबल खेल्दैछु ।

० गोल कति हान्नुभयो ?
– (हाँस्दै) गोल… कति भन्ने (एकछिन अक्मक्किँदै), त्यस्तै २ सय ५० देखि ३ सय राष्ट्रिय गोल गरे होला अनि अन्तराष्ट्रिय खेलमा माल्दिभ्स्विरुद्ध १ गोल गरेको थिए ।

० तपाईं त राष्ट्रिय टोलीको कप्तान बन्नुभयो होइन ?
– हो, पाँचौं साफदेखि फुटबल खेल्न शुरु गरेपनि आठौं साफमा आएर कप्तान भए । पहिलोदेखि मद्रासमा सम्पन्न भएको सातौं साफसम्म सबै फुटबल खेल्ने राजुकाजी शाक्य सातौं साफसम्म कप्तान हुनुहुन्थ्यो ।

० यत्रो वर्ष फुटबल खेल्नु भयो सम्झनलायक खुशीको क्षण के छ ?
– मेरो सबैभन्दा खुशीको क्षण भन्नु नै बंगलादेशमा सम्पन्न भएको छैठौं साफ फुटबल प्रतियोगिता हो । त्यसमा हामीले भारतलाई ट्राईब्रेकरमा पराजित गरेका थियौं । २–२ गोलको बराबरी भएपछि थपिएको समयमा उपेन्द्रमान सिंह बिट भइसकेको बेला झण्डै गोल भइसकेको थियो, मैले लामो स्लाईड हानेर बल बाहिर पठाए । त्यसबेला जितेर देशमा आएपछि स्वर्गीय राजा वीरेन्द्रले सबै खेलाडीलाई ५० हजार बक्सेका थिए ।

० दुःखको क्षण नि ?
– दुःख लाग्दो कुरा त मलाई राष्ट्रिय टोलीबाट निकालिएको वखत नै थियो । सन् १९९८ मा मलाई टिमबाट निकालियो, पछि १९९९ मा फेरि गोवामा सम्पन्न भएको साफ च्याम्पियनशिप टोलीमा बोलायो, पछि फेरी २००० मा फालियो, फेरि २००१ मा टोलीमा फर्किए अनि २००३ सम्म खेले । टिममा बोलाउने अनि फाल्ने नै मेरो दुःख लाग्दो क्षण हो ।

० फुटबल खेलेर के पाउनुभयो ?
– राम्रो प्रश्न त सोध्नु भयो । नेपालमा फुटबल खेलेर कमाउँछु भनेर नसोचे पनि हुन्छ । तर पनि जति कमाईयो फुटबलबाट कमाईयो । अलिअलि दाम, धेरै नाम । आज यो देवनारायणलाई बाटामा कसैले देख्यो भने पनि उ त्यो त देवनारायण हो, भन्छन् । हो, त्यहि नै कमाए । गुमाउनु त खासै केही गुमाइन ।

तपाईको मनपर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबल खेलाडी को–को हुन् ?
– मेरो मनपर्ने राष्ट्रिय खेलाडी मणी शाह हो भने अन्तर्राष्ट्रिय खेलाडीमा नेदरल्याण्ड्सका रुड गुलिट एकदमै मनपर्छ । उसलाई पनि ‘हेडिङ्ग किङ्ग’ भन्छन् । मलाई यहाँ नेपालमा पनि त्यहि भन्छन् ।

० विवाह गर्नुभयो ?
– अँ, गरें । मेरी श्रीमतीको नाम रञ्जिता चौधरी हो भने छोराको नाम डेभिड चौधरी हो ।

० छोरालाई फुटबल नखेलाउने?
– अहिले त उ सानै छ । तर, नेपालमा उसलाई फुबटल नखेलाउने ।

० किन ?
– त्यसै । यहाँ फुटबल खेलायो भने सर्पोटिङ्ग नै हुँदैन । नामले खान दिँदैन क्यारे ।

० अहिले तपाईलाई खान पुगेको छैन ?
– होइन, मैले त्यसो भन्न खोजेको होइन, यदि ऊ फुटबल मन पराउँछ भने ठिकै छ । नभए अरु क्षेत्रमा लगाउँछु ।

० सन्यास लिनुभयो कस्तो लाग्यो ।
– ठिकै, मैले जति खेल्नुपर्ने थियो त्यो मैले अझै खेल्न पाइन । २ पटक साफ स्थगित भयो । ३० वर्षमै यो देवनारायण बुढो भयो अनि श्री ५ युवराजधिराज पारस सरकारको बाहुलीबाट सम्मान पाउने हुँदा सन्यास लिए तर राष्ट्रिय फुटबल अझै एक डेढ वर्ष खेल्छु होला । मोरङ्गबाट खेल्न शुरु गरे । अन्तिममा सन्यास लिँदा मोरङ्गलाई नै उपाधि दिलाई दिए ।

० बाँकी जीवन के गर्नुहुन्छ?
– के गर्नु, (हाँस्दै) कहाँ बिक्री हुन्छु, अब झन् । त्यहि फुटबल मै जीवन बिताउँछुु, भएन भने कोच बन्छु होला ।

० फुटबलको भविष्य कस्तो देख्नुहुन्छ ?
– पहिले पहिले अहिलेको भन्दा धेरै राम्रो खेल हुन्थ्यो, अहिले त्यस्तो छैन, टिम स्पिरिट पनि छैन । फुटबल खेलेर भविष्य बनाउन सकिन्छ भनेर सम्बन्धित व्यक्तिहरु लाग्नुपर्छ । वास्तवमै सेमिप्रोफेसनल फुटबल खेलायो भने पक्कै पनि फुटबलको विकास हुन्छ ।

० खेलाडी विदेशमा हराउनेलाई कस्तो मान्नुहुन्छ?
– एकदमै दुःख लाग्दो । के गर्ने, यहाँ बसेर कमाउन सकिँदैन भन्ने सोचे अनि उतै बसे होलान् । यदि सरकारले पहिले जस्तो खेलाडीलाई रोजगारीको व्यवस्था गरिदिए खेलाडी पलायन हुने कुरै आउँदैन ।

० अन्त्यमा ?
– यो काले देवनारायणले जति माया पायो, यो सबै नेपाली जनताको तर्फबाट पायो । यो आज देवनारायणको अस्तित्व बनेको छ । त्यसैले आगामी दिनहरुमा नयाँ खेलाडीहरुले पनि मिहेनत गरेर खेलेर आफ्नो स्वार्थ भन्दा पनि माथि उठेर फुटबल विकासमा लाग्नुपनर्छ भन्ने मेरो सुझाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :