काठमाण्डौं । नेपाल उसु महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडी मीना ग्लानलाई बिदाई गरेको छ । आज (बुधवा) एक विशेष कार्यक्रमको आयोजना गर्दै महासंघले मीनालाई बिदाई गरेको हो ।
१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा थाईची छवान विधातर्फ रजत पदक विजेता मीना उच्च शिक्षा अध्ययनका लागि बेलायत जान लागेकोमा उसु महासंघले उनको सम्मानमा शुभकामना तथा बिदाई कार्यक्रमको आयोजना गरेको हो ।
मीना उच्च शिक्षा अध्ययनका लागि यहि जेठ ६ गते बेलायत जाँदैछिन् । विगत १३ वर्षदेखि उसु खेल्दै आएकि मीनाले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण र नवौं राष्ट्रियमा रजत पदक जितेकि थिइन् ।
विदाई कार्यक्रममा महासंघका अध्यक्ष वीरबहादुर तामाङ्ग, उपाध्यक्ष दधिराम सिटौला र महासचिव ल्हाक्पा छिरिङ्ग लामाले मीनाको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना प्रकट गरेका थिए ।
साथै आफ्नो राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उच्च शिक्षा हासिल गर्न विदेश जान लाग्दा एकातर्फ खुशी र अर्कोतर्फ प्रतिभावान खेलाडीलाई गुमाउनु पर्दा दुःख लागेको समेत बताए ।
बिदाई कार्यक्रममा नेपाल उसु महासंघका सह-कोषाध्यक्ष नारायण गिरी, सदस्य रामहरि त्रिपाठी, प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिती रहेको थियो ।