काभा महिला भलिबलः सेमिफाइनलको अग्नि परिक्षामा सफल होला त नेपाल?

लक्ष्मी शाक्य

काठमाण्डौं । काठमाण्डौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेञ्ज कप २०२३ को सेममिफाइनल समिकरण पुरा भईसकेका छन् । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा संचालित प्रतियोगितामा बुधबार समूह चरणका खेलहरु सकिएसँगै सेमिफाइनलमा भिड्ने चार टोलीको टुङ्गो लागिसकेका छन् ।

समूह ‘ए’ बाट घरेलु टोली भारत र नेपाल तथा समूह ‘बी’ बाट काजकिस्तान र उज्वेकिस्तान अन्तिम चारमा पुगेका हुन् । समूह चरण अन्तर्गतका तीनमध्ये दुई खेलमा जित तथा एक खेलमा हारको व्यहोरेको नेपाल ६ अङ्कसहित उपविजेता बन्दा तीन खेलमा शतप्रतिशत जितको नतिजा निकालेको भारत ९ अंककासाथ समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो ।

पहिलो खेलमा काजकिस्तान र दोश्रो खेलमा बंगलादेशलाई समान ३-० को सोझो सेटमा हराएको नेपाल तेश्रो खेलमा भारतसँग ३-१ को सेटमा पराजित भएको थियो । विगतको भेटमा भारतसामु नेपाल सधैं कमजोर सावित बन्दै आएको थियो भने यो पटक घरेलु कोर्टमा पनि सोहि नजिता दोहोरिन पुग्यो । कारण बन्यो, नेपालको भारतप्रतिको पराजित मानसिकता । नेपालले भारतलाई अहिलेसम्म पराजित गर्न सकेको छैन । यो पटक नेपाल भारतलाई हराउँदै अन्तर्राष्ट्रिय महिला भलिबलमा नयाँ इतिहास रच्न चाहन्थ्यो । तर बलियो प्रतिद्वन्दी भारतसामु नेपाल घरेलु सर्थकको माझमा पुनः एकपटक इतिहास रच्नबाट चुक्यो ।

करिब तीन वर्षपछि भारतबिरुद्ध कोर्टमा उत्रिएको नेपाली टोलीको प्रदर्शन तुलनात्मक रुपमा कमजोर देखिन पुग्यो भने नेपालले फेरी एकपटक भारतसँगको हारलाई टार्न सकेन । पहिलो सेटमा निकै कमजोर प्रदर्शन गरेको नेपालले पछिल्ला तीन सेटमा केहि सुधारिएको प्रदर्शन गरेपनि भारतसामु त्यो पर्याप्त रहेन ।

नेपालले पछिल्लो समय सन् २०१९ मा घरेलु भुमिमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको फाइनल भारतसँग खेलेको थियो । त्यसबेला नेपाल फाइनलमा ३–२ को सेटमा पराजित हुँदै ऐतिहासि स्वर्ण पदक जित्नबाट बञ्चित बन्न पुगेको थियो । साग फाइनलमा शुरुवाती दुई सेट जितको नेपालले त्यसपछिको तीन सेटमा लगातार हार व्यहोर्न पुगेको थियो ।

अब नेपालले प्रतियोगिताको फाइनलमा पुग्नका लागि बलियो प्रतिस्पर्धी काजकिस्तानको सामना गर्नुपर्ने छ । प्रतियोगिताको दुवै सेमिफाइनल खेल भोलि (शुक्रबार) हुँदैछन् । समूह चरणपछि पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तान तथा दोश्रोमा खेलमा नेपालले काजकिस्तानसँग खेल्ने समिकरण बनेको हो । काजकिस्तान शतप्रतिशत नतिजासहित ९ अंकका साथ समूह ‘बी’ को विजेताको रुपमा अन्तिम चारमा पुगेको टोली हो । एशियाकै पाँचौं वरीयतामा रहेको काजकिस्तानबिरुद्ध कोर्टमा उत्रदै गर्दा नेपाल भोलि जितसहित फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ ।

तर फिजिकल रुपमा निकैनै अब्बल टोली काजकिस्तानबिरुद्धको खेल जित्नु नेपालका लागि भोलि फलामको चिउरा चपाउनु मात्र नभई अग्नि परिक्षामै उत्रिनुपर्ने कुरामा दुई मत छैन । यो अग्नि परिक्षामा खरो उत्रिन नेपालले मनोवैज्ञानिक रुपमा पनि बलियो रुपमा उत्रिनु पर्नेछ । त्यसको लागि सकारात्मक प्रदर्शन र रणनीतिलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेछ । यसका लागि नेपालले डिफेन्स र रिसेप्सनमा पनि ध्यान पुर्याउनु जरुरी छ ।

यता तुलनात्मक रुपमा सेमिफाइनलमा कमजोर प्रतिद्वन्दी पाएको भारतलाई भने केहि सहज हुने देखिन्छ । तीन मध्ये दुई खेलमा जित तथा एक खेलमा हार व्यहोरेर ६ अंक जोडेको उज्वेकिस्तान समूह ‘बी’को उपविजेताको रुपमा अन्तिम चारमा पुगेको टोली हो । यस कारण नेपालको तुलनामा भोलिको खेल जित्न भारतलाई केहि फाइदा मिल्ने देखिन्छ । भारत र उज्वेकिस्ताबिचको पहिलो सेमिफाइनल खेल शुक्रबार दिउँसो २:३० तथा नेपाल र काजकिस्तानबिचको दोश्रो सेमिफाइनल खेल साँझ पाँच बजे शुरु हुनेछ ।

सेन्ट्रल एशियन भलिबल संघ (काभा) ले पहिलो पटक क्याटागोरी ‘ए’ र क्याटागोरी ‘बी’ का टिमहरु समावेश गरी आयोजना गरेको यो संस्करण विगतको भन्दा प्रतिस्पर्धात्मक साथै स्तरीय रुपमा चलिरहेको छ । क्याटागोरी बी टिमहरुको मात्र सहभागिता रहेको प्रतियोगिताको अघिल्ला दुवै संस्करणको उपाधि नेपालले जितेको थियो । अघिल्ला दुवै संस्करण बंगलादेशमा भएको थियो ।

नेपाललाई घरेलु मैदानमा उपाधिमा ह्याट्रिक गर्ने अवसर छ । तर यो पटक प्रतियोगिताको परिदृश्य फरक छ । जस कारण उपाधि ह्याट्रिकको लक्ष्यमा रहेको नेपालले घरेलु कोर्टमा फाइनल खेल्छ वा खेल्दै न त्यसको प्रतिक्षा शुक्रबार हुने खेलको नजितासम्म गर्नुपर्ने हुन्छ । यसका साथै यो पटक वरीयतामा नेपालभन्दा माथि रहेका भारत र काजकिस्तानलाई नै अहिलेसम्म उपाधिको बलियो दाबेदारको रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :