नेपालले बुद्धिचाल खेलमा गरेको प्रगती देख्दा ज्यादै खुशी लाग्छ– धर्मेन्द्र कुमार (अन्तर्राष्ट्रिय आर्विटर)

श्रीविक्रम भण्डारी

वर्तमान अवस्थामा नेपालमा साउथ एशियन बुद्धिचाल च्याम्पियनसिप सञ्चालन भईरहेको छ । सार्क मुलुकका खेलाडीबिच भइरहेको यो च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय आर्विटर तथा फिडे लेक्चरर धमेन्द्र कुमार पनि नेपाल आएका छन् । नेपालमा बुद्धिचाल खेलको विकास र विस्तारका लागि विगतदेखि वर्तमान अवस्थासम्म विशेष योगदान दिदै आएका उनै धमेन्द्रकुमारसङ्ग नेपालमा बुद्धिचाल खेलको अवस्था र भविष्यमा मार्नसक्ने फड्कोमा केन्द्रीत रहेर मेरोखेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले गरेको संक्षिप्त कुराकानी :

० जब तपाई नेपालमा आउनु भएको थियो त्यसबेला नेपालमा बुद्धिचाल खेलको अवस्था कस्तो पाउनु भयो ?
– त्यतिबेला चेस खेल्ने मान्छेहरु थुप्रै थिए तर नेपालमा अर्गनाइजेसनको सिप्टम भने थिएन । चेसका दिवाना थिए, चेसलाइ मन पराउने मान्छे थिए, । कहिले काहिँ लोकलस्तरमा चेसको प्रतियोगिता पनि आयोजना हुन्थे। तर उनीहरुलाई चेसको बाहिरि दुनियाँको बारेमा भने केहि थाहा थिएन । राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा चेस प्रतियोगिताको कसरी आयोजना गरिन्छ त्यसको बारेमा कुनै जानकारी थिएन ।

० तपाईं नेपालमा कसरी आउनु भयो त ?
– यो निकै रोचक प्रश्न गर्नु भो, त्यसबेला नेपालका केहि खेलाडीहरु चार पाँच जनाको ग्रुप बनाएर चेस खेल्नका लागि भारत जान्थे । सोहि क्रममा ति खेलाडीहरुसङ्ग मेरो शहानापुर र पटनामा भेट भएको थियो । अहिले ति खेलाडीहरुमध्य बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामा पनि थिए । पछि उनीहरुले टेक्निकली सपोर्टरको रुपमा मलाई बोलाएपछि म नेपाल आएको थिए ।

० जब तपाईले नेपाली खेलाडीहरु भेट्नु भयो, त्यसबेला तपाईं चेसको कुन पदमा कार्यरत हुनुहुन्थ्यो ?
– त्यसबेला म चेसको आर्बिटर थिए । त्यतिबेला इन्टरनेशल आर्विटरको सम्पूर्र्ण प्रक्रिया पुगेपनि एक ढेड वर्षपछि मात्रै मैले उक्त टाइटल प्राप्त गरेको थिए । यो करिव २० वर्षभन्दा अघिको कुरा हो ।

० नेपाली खेलाडीहरुले तपाईलाई नेपालमा कहिले बोलाए त ?
– म सबैभन्दा पहिले हेटौडामा आएको थिए । त्यसबेला हेटौडामा भईरहेको चेस प्रतियोगिताको लागि मलाई गेस्टको रुपमा बोलाइएको थियो । मलाई हेटौडा बोलाउने व्यक्तिहरुमा चेसका पूर्व अध्यक्ष राजेशहरि जोशी, द्वारिका लाल श्रेष्ठ र वर्तमान महासचिव धरमबहादुर लामा थिए । त्यसबेला उनीहरुले हेटौडामा चेस प्रतियोगिताको आयोजना गरेका थिए ।

० त्यसबेला नेपालमा चेसको गतिबिधि देख्दा तपाईलाई कस्तो लाग्यो ?
– नेपालमा चेसप्रति अभिरुचि पहिले देखि नै थियो, यहाँ मान्छेहरु चेस खेल्न चाहन्थे तर यहाँ अर्गनाइज प्लेटफर्म थिएन । त्यतिबेला नेपाली खेलाडीहरु भारत गएर चेस खेल्ने भएपनि यहाँ उनीहरुलाई खेल्नको लागि वातावरण थिएन । किनकि त्यसबेला नेपालमा बुद्धिचाल संघ भएपनि चेसको खेलको विकासको लागि खासै सक्रिय थिएन । खेलाडीहरुलाई कुनै सपोर्ट थिएन ।

० यस्तो अवस्थामा तपाईले नेपालमा चेस खेलको विकासको लागि कहाँबाट शुभारम्भ गर्नु भयो त ?
– सर, मैले नेपालमा चेस विकास गरेको हुँ त्यो म भन्दिन, यो सबै चेसका पदाधिकारीले भन्ने गरेको कुरा मात्रै हो । म नेपाल चेस संघको कुनै पदाधिकारी पनि होइन तर संघका पदाधिकारीहरुले म सङ्ग सहयोग माग्दा मैलै सहयोग गर्दै आएको छु र भविष्यमा पनि गरिरहने छु ।

० तपाईं नेपाललाई आफ्नो दोश्रो घर भन्नुहुन्छ ? यसको पछाडिको रहस्य के हो नी ?
– मलाई यसमा कुनै आपत्ति छैन । मेरो नेपालको साथ प्रोफेश्नल भन्दा पनि इमोश्नली अट्याचमेन्ट बढी छ । सबै चेसका पदाधिकारिहरुसँग मेरो सुमधुर सम्बन्ध छ । सबै मलाई नेपाल चेसको विकासको लागि सकारात्मक रुपमा हेर्नुहुन्छ, यो मेरो शौभाग्य हो ।

० त्यसबेला र अहिलेको नेपालको चेसको विकासको सम्बन्धमा कसरी विश्लेषण गर्नुहुन्छ ?
– सर्वप्रथम नेपालमा त्यसबेला र अहिलेको चेसमा धेरै अन्तर छ । सबैभन्दा महत्वपूर्ण के हो भने त्यसबेला फेडरल स्टक्चर नै थिएन । अहिले सम्पूर्ण जिल्लाहरुमा चेसका संघहरु छन् । सबै संघहरुले निर्वाचनमा सहभागिता जनाउँछन्, निर्वाचनमा झगडा गर्छन् । तर त्यसबेला त संघहरु नै थिएनन् अनि कसरी झगडा गर्थे । मैले त्यसैबेला भनेको थिए जुन दिन नेपालमा चेसले विकास गर्नेछ, त्यसदिन देखि पदको लागि झगडा हुनेछ । यो नेपालको आन्तरिक कुरा भएपनि मैले भने यसलाई चेसको विकासको लागि लडाई भएको बुझेको छु ।

० नेपालको चेस संघमा यस्तो लडाई देखिनु यो राम्रो कि नराम्रो, तपाईलाई कस्तो लाग्छ ?
– मलाई यस्तो दृष्य देखेर लाग्छ, नेपालमा चेस खेलको विकास भईरहेको छ । पक्ष र विपक्षका सबै व्यक्तिहरु चेस खेलको विकास गर्न लागि परेका छन्, यो त राम्रो कुरा हो । जो सङ्ग ओपिनियन हुन्छ त्यसले कुरा राख्छ, यसबाट डिफरेन्स पनि देखिन्छ जुन राम्रो पनि हो ।

० यस्तो आपसी झगडाले विवाद उत्पन्न हुन्छ र गुट उपगुट बन्छ नी ?
– नेपाली चेस संघमा त म विवाद नै देख्दिन । यहाँ जे भईरहेको छ, त्यो केहि पनि होइन । भारतमा हेर्नुहोस्, त त्यहाँ त धेरै विवाद छ । विश्वका कुनैपनि देशमा निर्वाचन हुन्छ, त्यसबेला चुनौंतिपूर्ण नै हुन्छ। निर्वाचनको दुई चार महिनापछि सबै आफै मिलेर जान्छ । सबै एकजुट भएर आफ्नो कार्य गरेको मैले देखेको छु । नेपालमा पनि यस्तै भइरहेको छ । आखिर दुध र पानी धेरै समय छुट्टिएर बस्न सक्तैनन् ।

० नेपालमा अहिले जुन किसिमले चेसको विकास भईरहेको छ, त्यसमा तपाई खुशी हुनुहुन्छ ?
– अरुको त मलाई थाहा छैन तर म भने खुशी छु । म किन खुशी छु भने मैले नेपालको चेसलाई जुन रुपमा देखेको थिए र आज जुन अवस्थामा छ त्यो बाट खुशी छु । अहिले चेस संघको वैधानिक संघ छ, कार्यालय छ, हरेक कार्यालय सक्रिय छ, नेपाल फिडेको विभिन्न निकायमा छ, नेपालका खेलाडी र पदाधिकारीले विश्व अन्तर्राष्ट्रिय खेल र संस्थामा उपस्थिति जनाई सकेका छन् ।

० नेपालको चेस खेल यतिबेलासम्म दक्षिण एशियाली मुलुकमा मात्रै सिमित छ, एसियनस्तर, विश्वस्तरमा नेपाली खेलाडी पुग्नको लागि कस्तो उपायको अवलम्बन गर्नु पर्ला ? तपाईको सुझाव के छ ?
– नेपाल अहिले जे गरिरहेको छ, राम्रो गरिरहेको छ । भविष्यमा नेपाली खेलाडी एशियन र विश्वस्तरमा पनि पुग्न सक्छन् । त्यसको लागि केहि समय लाग्न सक्छ, धैर्यता गर्नुपर्छ । विश्वस्तरी खेलाडी बन्न युवा खेलाडीहरुको आगमन जति जरुरी छ तिनीहरुलाई ब्यावसायिक प्रशिक्षणको आवश्यकता पनि त्यतिकै हुन्छ । त्यसैले विश्वस्तरमा पुग्नको लागि नेपाली खेलाडीहरुले अँझै धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :