१९ औं एशियाडमा यति नै पदक जित्छ भन्नु भन्दा पनि नेपाली खेलाडीले सन्तोषजनक प्रदर्शन गर्नेमा विश्वस्त छु- टंकलाल घिसिङ्ग (सदस्यसचिव,राखेप)

श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवको नियुक्ति पाएको केहि दिनमै न्यायालयको झटारोको सामना गर्दै त्यहि न्यायालयको न्यायबाट पुनः राखेपको सदस्यसचिव बन्न सफल भएका उनी अहिले नेपाली खेलकुदलाई युवा जोस जाँगरका साथ हाँकि रहेका छन् । सुझाव सबैको सुन्ने, निर्णय चाहिँ कानुनसम्मत गर्ने उनको यहि व्यक्तित्वका कारण उनले अहिले खेलकुदमा थुप्रै मित्र र शत्रु कमाएका छन् । नेपाली खेलकुदलाई सागरको संज्ञा दिने उनले खेलकुदको मन्थन गर्ने क्रममा अमृत र विष दुवै निस्कने कुरोलाई राम्रोसङ्ग बुझेका छन् । त्यसैले विना संकोच निडरताका साथ खेलकुदको वृद्धि विकासमा कुनै सम्झौता नगरि उनले बोल्ड डिसिजन गर्दै आएका छन् । उनै ड्यासिङ्ग युवा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गसङ्ग मेरोखेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले खेलकुदका विभिन्न पक्षमा केन्द्रीत रहेर गरेको विशेष कुराकानीः–

० एउटा चर्चित नेपाली उखान छ, ‘पहिलो गाँसमै ढुङ्गा’ जुन तपाई राखेपको सदस्यसचिवमा नियुक्ति हुँदा लागेको थियो, त्यसको किरीकिरी अहिले पनि महसुस गर्नुहुन्छ ?
– मैले शुरुमै ढुङ्गा पचाएर आएको कारण मेरो पचाउन सक्ने क्षमता बलियो छ भन्ने मलाई विश्वास थियो । त्यसैले मलाई किरीकिरी भन्दा पनि यो घटनाले अँझ थप ढुङ्गा पचाउन सक्ने क्षमता शुरुमै बन्यो, भन्ने मेरो बुझाई छ ।

० त्यतिबेला न्यायालयले दिएको आदेशलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ, के दुवै आदेश न्यायोचित थिए, कस्तो लाग्छ अहिले ति दुवै आदेशलाई स्मरण गर्दा ?
– पहिलो कुरा त सम्मानित अदालतले मेरो निरन्तरताको सम्बन्धमा जुन निर्णय गर्यो यहाँँ त्यो भन्दा फरक निर्णय गरेको भएपनि मेरो कुनै गुनासो रहने थिएन । कार्यपालिकाले गरेको निर्णयको अन्तिम व्याख्या गर्ने अधिकार सम्मानित अदालतमा निहित भएकोले अदालतले गरेको निर्णयलाई मैले सम्मान गर्दै शिरोपर गरेको हुँ ।

० तपाईले राखेपको जिम्मेवारी सम्हाल्दा ‘बच्चा’ सदस्यसचिवको संज्ञा पाउनु भएको थियो । तपाईमाथि लागेको यो ‘विशेषण’ को कसरी विश्लेषण गर्नुहुन्छ ?
– साँचो अर्थमा भन्नुपर्दा म सबैभन्दा कम उमेरमा राखेपको सदस्यसचिव बनेको व्यक्ति हुँ, त्यसैले पनि ‘बच्चा’ को संज्ञा दिइएको हुनसक्छ । यस्तोमा बच्चा भन्नुहोस्, युवा भन्नुहोस्, उर्जाशिल भन्नुहोस् केहि फरक पर्दैन । यसर्थमा कि हाम्रो देशमा ७० वर्ष कटेका नेताहरुलाई युवा नेता भन्ने प्रचलन छ । यस्तोमा म जुन उमेरमा राखेपको सदस्यसचिव भए त्यो त्यहिबाट प्रभावित भएर आएको जस्तो लाग्छ । विश्वमा म भन्दा कम उमेरका मान्छेहरु प्रधानमन्त्री, राष्ट्रपति बनेका छन्, म सदस्यसचिव हुँदा उहाँहरुको भन्दा मेरो उमेर बढी थियो । चुरो कुरो त खेलकुदमा खास उमेर समुहका व्यक्तिहरुले प्रतिनिधित्व गर्ने भएकोले अँझ युवा सदस्यसचिवले त्यसको मर्म बुझ्न सक्छ र सहि दिशानिर्देशन गर्न सक्छ जस्तो मलाई लाग्छ ।

० तपार्ईले राखेपको सदस्यसचिवको पद सम्हालेको १ वर्षभन्दा बढीको समय भइसकेको छ, यो अवधिमा नेपाली खेलकुदको विश्लेषण गर्दा कसरी गर्नु हुन्छ ? अनुभव तीतो, मीठो, टर्रो कस्तो रह्यो ?
– लामो हाँसो हाँस्दै, म सकारात्मक सोच राख्ने मान्छे हुँ । कतिपय कुरामा कसैले विरोध गरिरहँदा, प्रश्न उठाई राख्दा मलाई के लाग्छ भने आखिर यो प्रश्न खडा गर्नको निमित्त यो व्यवस्था ल्याउनको लागि लडेको सिपाहि हुँ म । त्यसैले हरेक मान्छेले स्वतन्त्ररुपमा आफ्नो कुरा राख्न पाउँछ त्यसमा मेरो कुनै गुनासो छैन । जहाँसम्म तीतो मीठो र टर्रो अनुभवको सवाल छ, त्यसमा मलाई तीतो टर्रोको अनुभव भएको छैन । साथै मीठोको चर्चागर्दा ठ्याक्कै मीठो भन्नुभन्दा पनि मैले जुन मेजर गोल सेट गरेको थिए त्यो पुरा गरेको छु ।

त्यो के थियो भने नवौं राष्ट्रिय खेलकुद लामो समयदेखि हुन सकेको थिएन । नवौं राष्ट्रिय यथासक्य रुपमा सम्पन्न गर्नुपर्ने थियो, त्यो मैले सदस्यसचिव पद सम्हालेको ७ महिनाभित्रै सम्पन्न गरेको छु । त्यो पनि नयाँ मानक सहित । राष्ट्रिय खेलकुदको ४१ वर्षको इतिहासमा पहिलो पटक रनिङ्ग ट्रफीलाई मुलुकका सातै प्रदेशमा परिक्रमा गराएर राष्ट्रिय खेलकुदप्रति जागरण गराइएको थियो। यो बाहेक खेलकुद विमा लेख प्रारम्भ गर्दै अन्तिम चरणमा पुर्याएको छु, अब केहि दिनमा कार्यान्वयनमा आउँदैछ। त्यस्तै अन्तर्राष्ट्रिय सहभागिताको तयारीको हिसाबले हाईप्रर्फमेन्स समिति गठनगरि रणनीतिक हिसाबले राष्ट्रिय टोलीको तयारी, सहभागिता र धेरैै भन्दा धेरै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता नेपाल गर्ने जुन मेरो मोटो थियो त्यसमा सफल भएको छु । यहि आर्थिक वर्षििभत्र १५ वटा भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना हुनुले पनि त्यसलाई प्रमाणित गर्छ । यसैले मीठो भन्दा पनि छोटो अवधिमा यस्तो महत्वपूर्ण कार्य गर्ने अवसर पाउँदा मैले आफुलाई भाग्यमानी ठानेको छु ।

० राखेपका कर्मचारी विभिन्न गुटमा विभाजित हुँदा कार्यसम्पादनमा कत्तिको प्रभाव परेको महसुस गर्नु भएको छ । तालमेल मिलाउने क्रममा सहयोग या असहयोग कस्तो पाउनु भएको छ ?
– पहिलो कुरा राखेपको कर्मचारीहरुको सन्दर्भमा गम्भिर हुँदै के ध्यानाकर्षण गराउन चाहन्छु भने उहाँहरुको वृत्ति विकास पदोन्नतिमा प्राय पूर्णविराम लागि रहेको स्थितिलाई मैले भत्काउन खोजिरहेको छु । त्यो नहुनाले पनि कर्मचारीहरुको कार्यसम्पादन होस या उर्जामा ह्रास आईरहेको मैले देखिरहेको छु । त्यसैले यतिबेला म यी कुराहरुलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको छु । अब मैले त्यसलाई माथि उठाउन विशेष पहलकदमी गर्नुपर्छ । त्यसैले पदपूर्तिको कार्यलाई अगाडि बढाएको छु ।

जहाँसम्म यहाँले इसारा गर्न खोज्नु भएको विषयमा प्रवेश गर्दा कस्तो हुदो रहेछ भने, यो सार्वजनिक निकाय, संस्थान, परिषद् र प्राधिकरणहरुमा एउटा निश्चित सेवा सुविधाका लागि नियुक्त भएका कर्मचारीहरु हुन्छन् । त्यस्तै राखेपमा पनि यसरी नै काम गर्नेगरि नियुक्ति भएको छ । यसरी ति कर्मचारीहिरुको एक दशक, दुई दशक तीन दशक एउटै निकायमा काम गर्ने परिवेश बनि राख्दाखेरी उहाँहरुको बुुुझाईमा, बसाईमा उठाईमा एउटा साथीसङ्ग मिल्दै जाने कतिपयसङ्ग धारणा नमिल्ने कारण आवरणमा यस्तो देखिएको हो । तर म यसलाई गुट त भन्दिन नै, मान्दिन पनि । केहि स्थायी भन्दा पनि अस्थायीरुपमा स्वार्थ बाझिएको ठाउँमा भने टकराव देख्छु । मैले टकरावहरुलाई कुनैपनि हिसाबले प्राथमिकतामा नराखिकन परिषदको हित निमित्त र परिषदको कार्यसम्पादनमा केन्द्रीत रहेर आफ्ना निर्णयहरु गर्दै आएको छु । सबै कर्मचारी साथीहरुलाई आह्वान पनि गरेको छु । उहाँहरुले खासखास मोडमा नेतृत्वको, परिषदको र संस्थाको निर्णयमा मलाई साथ दिदै आउनु भएको छ ।

० खेलकुद हाँक्ने क्रममा तपाइलार्ई पनि राजनीतिक स्वार्थबाट प्रेरित भएर कार्य गर्दै आएको आरोप लागेको छ, के यो सत्य हो ? कतै राजनीतिक दबाव तपाईमाथि हावी भएको त होइन ?
– मलाई यकिन छैन, कसैले यकिन गर्न चाहेपनि म छलफल गर्न तयार छु । म यो बारेमा दृष्टान्त राख्न चाहन्छु, ‘म मात्र राखेपको एउटा सदस्यसचिव होला जस्को कार्यकालमा एकजना ज्यालादारी र करारमा आफ्ना निकटका चाहे त्यो पारिवारिक होस्, या राजनीतिक आस्थाका हिसाबले जोडिएको मान्छे कसैलाई राखिएको छैन।’

मेरो सदस्यसचिव स्तरीय निर्णयले कुनैपनि संघलाई सोझै खारेजी गरेर संघको नेतृत्वमा ल्याइएको छैन । हो, मेरो निर्णयमा तदर्थ समिति गठन भएका छन् तर सम्बन्धित संघको अवधि सकिएका कारणले निर्वाचनमा जानका लागि सम्बन्धित संघहरुले नै आफै निर्णय गरेर तदर्थ समितिको रुपमा रुपान्तरणगरि निर्वाचनका लागि सहजीकरण गर्नका लागि अनुरोध भई आएकोमा मैले कलम चलाएको छु । कर्मचारीहरुको सन्दर्भमा मैले अहिलेसम्म कुनै किसिमको कदम उठाएको छैन र कार्यक्रमका हिसाबले राष्ट्रिय संघहरुलाई सधैं पहिलो प्राथमिकतामा राख्दै कार्यसम्पादन गर्दै आएको छु । यस्तो गर्दा संस्थागतरुपमा खेलकुदका गतिविधि पनि बढ्ने र सिङ्गो राष्ट्रिय खेलकुदको विकास र सम्बन्धित खेलको विकासमा महत्वपूर्ण अर्थ राख्छ ।

जहाँँसम्म आरोपको कुरा छ, आरोप लगाउदा मैले बजारमा गएर किन आरोप लगाइस् भन्न त पाए । तर आरोपको पछि लागेर दौड्ने र त्यसको खण्डन गरेर हिड्ने म सङ्ग समय पनि छैन । तर मेरो खण्डन मेरो व्यवहारले गर्ने हो । म माथि लागेको आरोपको खण्डन मैले कार्यसम्पादनमा देखाएको व्यवहारले पुस्टि गर्ने कुरो हो । त्यसैले यी आरोप कतै, कहिँ पुष्टि नहुने आरोप हुन भन्न चाहन्छु ।

० नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताका साथ सम्पन्न भएपनि विवादरहित बन्न सकेन, थुप्रै कमिकमजोरी देखिए । समग्रमा भन्नुपर्दा नवौंले आफ्नो औचित्य पुस्टि गर्न सकेन भन्दा कस्तो होला ?
– कतिपय सन्दर्भमा ठूल्ठूला प्रतियोगिताहरुको आयोजना गर्दा अँझै यस्तो गर्न पाएको भए राम्रो अनि सुन्दर हुन्थ्यो भन्ने धारणाहरु हरेक प्रतियोगिताहरुमा आउने गर्दछ । त्यो खेलकुदको मात्रै नभई विश्वभरि आयोजना हुने विभिन्न इभेन्टहरुको सन्दर्भमा त्यस्तो खाले सुझावहरु आउने गर्छन्, यसलाई म सकारात्मक रुपमा लिन्छु । तर लामो समयदेखि अर्थात् चार वर्षदेखि राष्ट्रिय खेलको आयोजनाका लागि पर्खिराखेका खेलाडीहरुले खेल्ने अवसर पाए, यसलाई हामीले के भन्ने ? यो त अर्थपूर्ण र राष्ट्रिय खेलको मूलसार रह्यो ।

पहिलो चोटी नयाँ मानकसहित राष्ट्रिय प्रतियोगिताको आयोजना भयो । पहिलो पटक राष्ट्रि प्रतियोगिताको रनिङ्ग ट्रफी अगाडि सारियो, प्रतियोगिता आयोजना हुनुअघि देशका सातै प्रदेशमा घुमाइयो। त्यस्तै पहिलो पटक खेलाडीहरुको अनलाइन रजिष्टर, डेडिकेट वेभसाइड, खेलाडीहरुको सुविधा, पुरस्कार राशीमा उल्लेख्य बृद्धि, एन्टी डोपिङ कमिटी गठन, १ हजार जना खेलाडीहरुको विवरण संकलन, हरेक खेलको प्रत्यक्ष प्रसारणको व्यवस्था, निजी क्षेत्रसङ्ग सहकार्य गर्दै राष्ट्रिय खेलकुृदसँग जोडियो, टीकेटिङ्गको व्यवस्था पहिलो पटक गरिएको थियो । अर्को महत्वपूर्ण कुरा देश संघिय ढाँचामा गएपछि पहिलो पटक नवौंले त्यसको अनुभुति गर्ने अवसर पाएको थियो। नवौं राष्ट्रियले हरेक पक्षबाट आफ्नो अर्थ र रोज स्थापित गरेको थियो । त्यसैले नवौंको बारेमा सतहि कुरा गर्नु र कम आँक्नु खेलकुद क्षेत्र, खेलाडीहरु र खेलकर्मीप्रति यसले न्याय गर्छ जस्तो मलाई लाग्दैन ।

० राष्ट्रिय खेलकुदलाई खेलकुदको मेरुडण्ड मानिन्छ, नयाँ ‘हिरो’ जन्माउने प्रतियोगिता पनि भनिन्छ । तर राज्यले करोडौंको लगानी गर्दा समेत एउटै हिरो पनि आवरणमा नदेखिनुलाई तपाईले कसरी लिनु भएको छ । यो त आयोजनाको लागि आयोजना गरिएको जस्तो मात्रै देखियो नी, हैन र ?
– ‘हिरो’ भनेको हरेक खेलमा विधागतरुपमा आउने कुरो हो । त्यो स्वीमिङ्गमा आएको छ, एथलेटिक्स्मा आएको छ, हरेक खेलमा आएको छ । त्यहि हिरोहरु आज राष्ट्रिय टोलीमा अनुबन्धित भएका छन् । जुन अहिले १९ औं एबियाली प्रतियोगिता र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुको तयारीमा रहेका छन् । म यो सन्दर्भमा के भन्न चाहन्छु भने लामो समयदेखि खेलकुद गतिविधि नभई राख्दा कोभिडको अगाडि र पछाडिको समयमा आयोजना भएका खेललाई मध्यनजर राख्दा पनि घरेलु प्रतियोगिता र नवौं राष्ट्रियले नयाँ हिरो जन्माएकै छ । अहिले भलिकलको राष्ट्रिय टोलीमा हेर्नुहोस्, प्रायजसो सबै खेलाडीहरु नयाँ अनुहारका छन् । त्यो सबै नवौं राष्ट्रिय प्रतियोगिताकै उत्पादन हुन् । अहिले थुप्रै खेलमा नयाँ हिरोहरु आएका छन् । अब उनीहरुले अन्तर्राष्ट्रिय एरिनामा उत्कृष्ट प्रदर्शन गर्नेछन्, त्यसपछि साँच्चिकै हिरो भएको प्रमाणित गर्नेछन् ।

० नवौं राष्ट्रियमा व्यापक आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा थुप्रै उजुरी परेका थिए, खै पछि कसैलाई केहि कारवाहि भएको त देखिएन, आखिर चुरो कुरो के हो नी ? के नवौं भ्रष्ट्राचार मुक्त थियो ?
– नवौं राष्ट्रिय खेलकुद भ्रष्टाचार मुक्त थियो । भ्रष्ट्राचार भएको भए अख्तियारमा उजुरी परेको थियो कारवाहि हुन्थ्यो होला नी । आखिर किन भएन भन्दा नवौंमा भ्रष्ट्राचार नै भएको थिएन, यहि चुरो कुरो हो। नवौं राष्ट्रियको सन्दर्भमा अख्तियारले जसरी छानविन गर्यो, त्यसमा हामीले उनीहरुले चाहे वमोजिम सहयोग गर्यौं । नवौंका भएका खरिद प्रक्रियाहरु, त्यहाँ अपनाइएका सम्पूर्ण विधि र कागजातहरुको विवरणहरु इमान्दारी रुपमा पेश गर्यौं । त्यसैले सार्वजनिक ऐन, नियमावली, मौजुदा कानुन र त्यसमा टेकेर गरेका निर्णयहरुको सन्दर्भमा जुन कुरो नियम संगत भएको छ, त्यसमा कहिँकतै शंका नगरिकन नवौं राष्ट्रिय खास गरिकन आर्थिक अपचलनका हिसावले पूर्णरुपमा मुक्त थियो ।

० खेलकुदको इतिहास हेर्दा जुन पार्टीको खेलकुद मन्त्री त्यहि पार्टीको सदस्यसचिव बन्दै आएको खेलकुदको इतिहास छ, तर तपाईंको हकमा त्यस्तो नियम लागु नहुनुको कारण के होला ?
– अब यो विषयमा चाहिँ खासगरि नेपाली राजनीतिमा जनताले व्यक्त गरेको मतको ग्राफलाई हामीले बुझ्नु पर्दछ । त्यसो त जुन पार्टीको प्रधानमन्त्री भयो, त्यसैको मात्र मन्त्रीपरिषदको सदस्य हुनुपर्ने होइन र ? अहिले त्यस्तो छ, छैन नी । तत्कालिन समयमा देशको नेतृत्व गर्नु भएका पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्री परिषदको वैठकले मलाई सदस्यसचिवमा नियुक्ति गरेको हो । आज फेरि पुरानै गठबन्धनले निरन्तरता पाएको छ, फरक यति मात्रै हो कि हिजो काङ्ग्रेसको नेतृत्वमा सरकार थियो आज माओवादीको नेतृत्वमा छ । माओवादीले नेतृत्व गरेको सरकारमा काङ्ग्रेस लगायत अन्य राजनीतिक दलको समेत सहभागिता रहेको छ । यस्तो अवस्थामा सरकार बन्दाखेरी र सरकार परिचालन सम्बन्धि सरकारसङ्ग गठबन्धनमा जोडिएका राजनीतक दलहरुबिचको राजनीतिक समझदारीका आधारमा राजनीतिक नियुक्तिहरुको सम्बन्धमा कसरी लैजाने भन्ने कुराको टुङ्गो त्यहाँबाट लाग्ने हो । आज कतिपय मन्त्रालयहरुमा गठबन्धनका मन्त्री छन्, खेलकुदमा पनि त्यस्तै छ । खेलकुदमन्त्री नेपाली काङ्ग्रेसका हुनुहुन्छ भने राखेपको सदस्यसचिव माओवादीको छ । तर मैले यहाँ माओवादीको राजनीति गरेको छैन नी, खेलकुदको काम गरिरहेको छु । खेलकुदमन्त्रीले सिङ्गो खेलकुदलाई नेतृत्व दिने कार्य गरिरहनु भएको छ । उहाँले अहिले जसरी खेलकुदमा नेतृत्व प्रदान गरिरहनु भएको छ, जस्ले मलाई थप उर्जा थप्ने कार्य गरेको छ ।

० त्यसो भए राखेपमा तपाईको चार वर्षे कार्यकालमा लालमोहर लागेकै हो त ?
– यो त राजनीतिक समझदारीमा भरपर्ने कुरा हो । वर्तमान अवस्थाको कुरा गर्ने हो मलाई सदस्यसचिवमा नियुक्ति गर्ने दुवै पार्टी सरकारमा छ । तत्कालिन प्रधानमन्त्रीको रुपमा निर्णय गर्नुहुने शेरवहादुर देउवा र मलाई पार्टीबाट सिफारिस गर्नु हुने पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । यस्तो अवस्थामा अन्य कुरामा ध्यान नदिनु नै उपयुक्त होला ।

० राष्ट्रिय खेलकुद संघहरुको विवाद पूर्णरुपमा नसुल्झिनुमा कस्लाई दोषी ठान्नुहुन्छ ? राष्ट्रिय खेलकुद विकास ऐनमा प्रस्टरुपमा व्यवस्था हुँदाहुँदै केहि संघहरुले राखेपलाई चुनौंति पेश गर्नुको औचित्य के हो?
– यसमा दुईटा कुरा हुन्छ । यसमा हामीले के गर्नुपर्छ भने खासगरिकन मौजुदा ऐन कानुनको कार्यान्वयनको निमित्त सबैजना जिम्मेवार हुन जरुरी छ । यी जिम्मेवार अधिकार प्राप्त अधिकारी मात्र होइन, नागरिक तहसम्म सबैजना जिम्मेवार बन्न जरुरी हुन्छ । कतिपय सन्दर्भमा जिम्मेवार रुपमा प्रस्तुत हुने कुरामा केहि कमिहरु अवश्य रहेको छ । त्यसका कारणले पनि यी कुराहरु देखा परेका हुन् । तर म तपाईलाई के कुरामा विश्वास दिलाउन चाहन्छु भने जतिबेला जुन कानुन जारी भयो त्यो कानुनको कार्यान्वयनको निमित्त संघहरुको विवाद, संघहरुको एकताबद्ध, एउटा खेलको एउटै संघ र संघहरुभित्र रहेका विवादहरुलाई निरुपण गर्न परिषदले पछिल्ला समयमा निकै तिब्रताका साथ कार्य गरिरहेको छ । र, यो समाधानको प्रक्रिया अगाडि बढ्ने र यसलाई टुङ्गोमा पुर्याउने गरि मैले कार्य गर्नेछु ।

० लामो समयदेखि बढुवा हुन नसकेका राखेपका स्थायी कर्मचारीहरुको बढुवा प्रक्रिया अगाडि बढाउनु भएको छ, ति कर्मचारीहरुको बढुवा हुने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ? बढुवा प्रक्रिया नियम संगत गाह्रो छ भन्छन् नी ? वास्तविकता के हो ?
– अब मैले काम गर्ने दुइटा कुरा हो । राखेपमा काम गर्नका लागि एउटा नेपालको कानुन, अर्को राष्ट्रिय खेलकुद विकास ऐन २०७७, र कर्मचारी सेवा सर्त नियमावली हो । कर्मचारी सेवा सर्त नियमावली खेलकुद ऐन जारी भएपछि भरखरै आएको छ , नयाँ सेवा सर्त नियमावली भने आएको छैन । तर नयाँ ऐनले नियमावली होइन विनियमावलीलाई स्पष्टरुपमा निर्देशन गरेको छ। त्यो विनियमावली जारी नहुञ्जेलसम्म पुरानै कर्मचारी सेवा सर्त नियमावली अनुसार कार्यसम्पादन भईरहेको छ । सो सन्दर्भमा कर्मचारी सेवा सर्त नियमावलीले मार्गनिर्देशन गरेको र त्यसले देखाएको बाटोमा कानुनीरुपमा सुस्पष्टका साथ गरेको दिशानिर्देशनमा टेकेर गरिएको बढुवा पदपूर्ति सम्बन्धिको प्रक्रियालाई अवैधानिक र गैरकानुनी भन्न मिल्दैन ।

० कर्मचारीहरुको बढुवा प्रक्रियामा खेलकुदमन्त्री र सदस्यसचिव सकारात्मक देखिए पनि मन्त्रालयका केहि व्यक्ति बढुवा प्रक्रियाको विपक्षमा रहेको चर्चा चलेको छ, आखिर सत्यता के हो ?
– मैले यसलाई मन्त्रालयको हिसावले असहयोग गर्यो भन्न मिल्दैन र यो कुरो सत्यता हो भनेर पनि भन्दिन । किनकी परिषदको वैठकमा मन्त्रालयको पनि सहभागिता हुन्छ । मन्त्रालयको नेतृत्व नै मन्त्री ज्युले गरिराख्नु भएको छ । भनेपछि मन्त्री ज्यूलाई मन्त्रालय भन्दा अलग राखेर परिभाषित गर्नु राम्रो होला र ? मन्त्री त खेलकुद मन्त्रालयको मन्त्री हो नी । उहाँले यो मुद्दालाई निकै गम्भिरता पूर्वक, प्राथमिकता र रुचीका साथ अगाडि बढाउनु पर्छ भन्नु भएको छ । म आफै पनि सदस्यसचिवको हिसाबले मन्त्रालयका साथीहरुको पनि साथ सहयोग रहदै आएको छ र भविष्यमा पनि रहन्छ भन्ने विश्वास राख्दछु ।

० आगामी १९ औं एशियाली खेलकुद (एशियाड) मा नेपालले २९ खेलमा सहभागिता जनाउँदैछ, तर सरकारले एशियाडको लागि जम्मा ६ करोड ४० लाख बजेट मात्रै छुट्याएको छ । पर्याप्त हुन्छ त यो बजेट ?
– यो बजेट पर्याप्त हुँदैन, त्यसैले हामीले नयाँ आर्थिक वर्ष २०८०(८१ को बजेट भाषण हुनुअघि नै जेठ ७ गते परिषदको बोर्ड वैठक बसेर आवश्यक बजेटको फेहरिस्त अर्थ मन्त्रालयसङ्ग माग गरिसकेका थियौं । तथापी हामीलाई पर्याप्त हुनेगरि शिर्षक प्राप्त भएको छैन । हामीलाई जति बजेट आवश्यक पर्र्छ त्यो परिषदको बैठकले सिफारिस गरेको बजेट उपलब्ध गराउनको निमित्त हामीले अर्थ मन्त्रालयमा भनिराखेका छौं । हरेक खालका ठूला इभेन्टहरु चाहे त्यो राष्ट्रिय प्रतियोगिता होस्, या अन्तर्राष्ट्रिय सहभागिताहरुमा आवश्यकता अनुसार अर्थ मन्त्रालयले बजेट उपलब्ध गराउँदै आईरहको प्रचलन पनि छ । १९ औं एशियाडको सन्दर्भमा पनि अर्थ मन्त्रालय सकारात्मक हुनेछ, किनकी यो देशको सहभागिताको कुरो हो । अर्थ मन्त्रालय खेलकुदको मन्त्रालय हो आवश्यकता अनुसारको बजेट उपलब्ध हुने कुरामा म विश्वस्त छु ।

० देशकाल परिस्थिति अनुरुप यति धेरैको संख्यामा एशियाडमा खेलहरु समावेश गर्नु राम्रो कुरा हो त ? सम्भावित पदक जित्ने खेल र केहि उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेललाई समावेश गर्दा कस्तो होला ?
– हाम्रो सन्दर्भमा मैले विगतका केहि प्रचलनहरुलाई पनि हेरे । १८ औं एशियाली खेलकुदमा २९ वटा खेलहरु सहभागि थिए । १९ औं मा आईपुग्दाखेरी समय गुज्रिएर हामी नयाँ चरणमा आईपुगि सकेका छौं। तर १८ औं मा २९ खेललाई सहभागिता गराईएको थियो १९ औं मा केहि खेल बढाऔं भनेर मैले सोचेको छैन । २९ लाई नै कायम गरिएको छ । खेलको कुरा गर्दा १८ औंमा सहभागि जनाएका केहि खेलहरु १९ औंम ा परेका छैनन् । र, १९ औं एशियाडमा २९ वटा खेलहरुको छनौट सन्दर्भमा हामीहरुले मापडण्ड नै बनाएका छौं । जुन हाईपर्फमेन्स कमिटीले सिफारिस गरेको आधारमा छनौट गरिएको हो, कुनै हचुवाको भरमा निर्णय गरिएको होइन।

१३ औं सागमा पदक जित्ने सम्पूर्ण खेलहरुलाई राखेका छौं । साथै पछिल्लो समयमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा दक्षिण एशियाली, एशियाली च्याम्पियनसिपमा उक्त खेलले हासिल गरेको उपलब्धिको आधारमा समावेश गरेका छौं । कतिपय खेलको सन्दर्भमा नयाँ भएपनि धेरै सम्भावना बोकेका खेल जस्तै इ(स्पोर्ट्स र रणनीतिक रुपमा पेरिस ओलम्पिकका लागि स्कलरसिपमाा गइरहेका खेल र खेलाडीहरुलाई समावेश गरिएको छ, जस्तै डान्स स्पोर्ट्स ।

अर्कोतर्फ तपाईलाई के भन्न चाहन्छु भने दक्षिण एशियालीपछि नेपालले छनौट प्रक्रिया विना खेल्ने प्रतियोगिता कुन हो भन्दा यसको उत्तर हामीले दिनुपर्छ । यसको जवाफ खोज्ने हो भने राष्ट्रिय खेलकुद पछाडि दक्षिण एशियाली हो, के दक्षिण एशियाली खेलकुद समयमै भईराखेको छ ? भईरहेको छैन । अब १४ औं दक्षिण एशियाली खेलकुद (साग) पाकिस्तान हुने भनिएपनि कहिले हुन्छ यसको जवाफ भेट्टाउन सकिएको अवस्था छैन । यस्तो अवस्थामा नवौं राष्ट्रिय खेलेका खेलाडीहरुले १४ औं साग खेल्न पाउनु पर्ने भएपनि त्यसको अनिश्चितताले त्यो सम्भव देखिएको छैन । अब उनीहरुले खेल्न पाउने भनेको ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता भनेकै एशियाड हो । तसर्थ, त्यो स्टेजमा हाम्रो खेलाडीहरुलाई पुर्याउनु पर्छ भन्ने मूल कुरा हो । यहि कुरालाई मध्यनजर गरेर राखिएको हो ।

० अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना हुँदा खेलाडी जत्तिकै अफिसियल र राजनीति कार्यकर्ता जाने प्रचलन छ । यस पटकको एशियाडमा पनि यहि परम्परा दोहोरिन्छ कि, निश्चित कोटा निर्धारण गर्नु भएको छ ।
– पहिलो कुरा राष्ट्रिय खेलकुद परिषद् अर्थात् मैले विधिमा काम गरेको छु । र, १९ औं एशियाडमा एशियन गेम्सको प्रोटोगल अनुसार मात्रै पदाधिकारी जाने छन् र खेलाडीहरुको सहभागिता हुनेछ । त्यसैले म के प्रस्ट गराउन चाहन्छु भने कुनैपनि खेलले सहभागिता जनाउने खेलाडी, प्रशिक्षक, आवश्यकताका आधारमा मेडिकल मेन पावर, स्वास्थ्य जनशक्ति र व्यवस्थापन, यसको छनौट गर्ने काम मैले खेल संघलाई दिएको छु । त्यसैले यसमा मेरो कुनै हस्तक्षेप हुँदैन, यसमा मैले कहिकतै आशय पनि व्यक्त गरेको छैन । त्यो गरेको भए तपाईंले राष्ट्रिय संघहरुसङ्ग बुझ्न सक्नुहुन्छ । यसो गरिसकेपछि अब बाँकि कति रह्यो भन्ने हुन्छ ? मलाई लाग्छ त्यसपछि बाँकि रहेको न्युनतम संख्यामा नलगि नहुने जनशक्तिलाई मैले पहिलो प्राथमिकतामा राखेको छुु । कामको प्रकृति अनुसार मिल्ने खालको अफिसियल र स्टाफहरुको मात्र सहभागिता हुने छ । त्यो भन्दा बाहेक पार्टीको नेता वा कार्यकर्ता भएका आधारमा कसैलाई लगिने छैन । त्यो गलत अभ्यासलाई म रोकेर देखाउने छु ।

० १९ औं एशियाडमा नेपाली टोलीको नेतृत्व अर्थात् ‘सेभ द मिसन’ को भूमिकामा खेलकुदमन्त्री, राखेप या ओलम्पिक कमिटि कस्ले गर्दैछ ?
– यो विषयमा हाम्रो तीनवटै निकायमा छलफल भईराखेको छ, केहि दिनमा नै यसको टुङ्गो लाग्ने छ । जे निर्णय हुनेछ त्यो साझा सहमतिमा निर्णय गरिने छ ।

० १९ औं एशियाडमा नेपालले कतिवटा पदक जित्न सक्ने आशा गर्नु भएको छ, के नेपाली खेलाडीहरुले एशियाडमा पदक जित्ने किसिमको प्रशिक्षण पाएका छन्, त ?
– यो विषयमा यसरी विश्लेषण गर्दा राम्रो होला । समावेश सबै खेलले प्रतिस्पर्धात्मक रुपमा उत्रिनका निमित्त आफ्नो तयारी गरिरहेको छ । तर सबै खेलबाट पदक प्राप्त हुन्छ, त्यो नसोचौं । मैले के भन्ने गरेको छु भने नवौं राष्ट्रिय पछि अन्तर्राष्ट्रिय स्टेजमा आफुलाई उभ्याउनको निमित्त दक्षिण एशियाली खेलकुद अनिश्चित भएपछि एशियाली खेलकुद खेल्न पाउनु पर्छ । खेलाडीले आफुलाई राष्ट्रिय च्याम्पियन बनाई राख्दा उसलाई अन्तर्राष्टिय प्रतियोगिता खेल्न राज्यले सुनिश्चिता गर्नु पर्दैन ? आज राष्ट्रिय टोलीमा परेको खेलाडी उसको खेलमा उसको विधामा आजको दिनको उसको पुस्ताको सबैभन्दा उत्कृष्ट खेलाडी भएका कारणले उसले राष्ट्रिय टोलीमा स्थान बनाएको हो । त्यसैले राष्ट्रको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय स्टेजमा आफुलाई एक पटक परिक्षण गर्ने अवसर दिनु पर्छ नी ।

जहाँसम्म तयारीको विषयमा प्रश्न छ, त्यसमा म प्रस्टरुपमा भन्न चाहन्छु । यो बिचमा थुप्रै खेलको अन्तर्राष्ट्रिय एक्सपोजरको लागि अन्तर्राष्ट्रिय महासंघहरुद्वारा आयोजना हुने प्रतियोगितामा समावेश गराएका छौं । जस्तै बक्सिङ्ग, यो वर्ष बक्सिङले अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा ठूलो पदक जितेर इतिहास बनाएको छ । ति खेलाडीहरु अहिले १९ औं एशियाडमा खेल्दैछन् । उसले वल्र्ड च्याम्पियनसिप, एशियन च्याम्पियनसिप र थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छ । अहिले ति खेलाडीलाई भारतका प्रशिक्षक जस्ले विश्व च्याम्पियनसिपमा पदक दिलाएका थिए । उनले नेपाली खेलाडीहरुलाई प्रशिक्षण दिईराखेको अवस्था छ । त्यसैले हामीले किन पदकको आशा नगर्ने बक्सिङ्ग खेलबाट ?

त्यस्तै गल्फ, गत बर्षदेखि नै हामीले यसको अन्तर्राष्ट्रिय तालिमको व्यवस्था गरेर नियमित रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव हासिल गर्ने हिसाबले सहभागिता गराउँदै आएका छौं । जस्को तयारीको कुरा गर्दा कोभिडको महामारीकाबिचमा पनि ति खेलाडीहरु खेल्न छोडेनन्, पुरै समय अभ्यासमा व्यस्त थिए र विगत एक वर्षदेखि अन्तराष्ट्रिय प्रशिक्षणमा रहेकाले यो खेलबाट पनि हामीले किन पदकको आशा नगर्ने ? पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा क्रिकेटले अद्भुत उपलब्धि हासिल गरेको छ, क्रिकेटलाई पनि हामीेले सम्भावित पदक जित्ने खेलको रुपमा हेरेका छौं । हो, क्रिकेटमा विश्वकै शक्तिशाली र बलियो टोलीहरुको सहभागिता रहँदैछ तर हामीले नेपाललाई कम आँक्न हुँदैन, हाम्रो टोली पनि बलियो छ । इ(स्पोर्ट्स जस्ले वल्र्ड च्याम्पियनसिपमा रजत पदक जितेर त्यो स्टेजमा आफुलाई उभ्याएको छ, हामीले ति खेलाडीहरुबाट पदकको आशा किन नगर्ने ?

तेक्वान्दो, कराते खासगरिकन त्यसको गभर्निङ्ग बडीमा केहि समस्याहरुले गर्दाखेरी मात्रै केहि इस्युहरु देखिका हुन्, तर अहिले ति इस्युहरु पनि कानुनी र परिषदको निर्णयले समाप्त भइसकेका छन् । अहिले ति खेलका खेलाडीहरु लामो समयदेखि अभ्यासमा छन् र अन्तर्राष्ट्रिय अनुभव र प्रशिक्षणका लागि अब केहि दिनमै तेक्वान्दो र करातेका खेलाडीहरु विदेश जाँदैछन् । यी वाहेक अन्य थुप्रै खेलहरुको अन्तर्राष्ट्रिय प्रशिक्षक झिकाएर जस्तै जुडोको, भलिबलको, रग्बीको अन्तर्राष्ट्रिय र नेपाली कोचको मिश्रणमा प्रशिक्षण दिने कार्य भइरहेको छ । यसरी हेर्दा थुप्रै खेलहरु जस्तै टेनिस, टेबुलटेनिसका खेलाडीहरुलाई राष्ट्रिय र अन्तर्राष्टिय प्रशिक्षणको व्यवस्था मिलाइएको छ । अहिले सबै संघहरु समानान्तर रुपमा यसको तयारीमा जुटेका छन्। त्यसैले यो पृष्ठभूमीलाई आत्म साथ गर्दा यो नै र यति नै पदक जित्छ भन्नु भन्दा पनि नेपाली खेलाडीहरुले १९ औँ एशियाडमा सन्तोषजनक प्रदर्शन गर्ने कुरामा विश्वस्त छु ।

० र अन्त्यमा, खेलकुदमा हुने राजनीति र राजनीतक दलले खेलकुदमा गर्ने हस्तक्षेपको बारेम तपाईंको के भनाई छ ?
– नेपाली समाज र विभिन्न सार्वजनिक निकायहरुको कार्यसम्पादनमा हाम्रो जे संस्कार संस्कृतिले बनेको छ त्यसको प्रभाव कहि न कहि पातलो र बाक्लो छायाँ अर्थात् किरणहरु पर्ने नै गर्दछ । तर ति सबै चिजहरुलाई चिर्दै संस्थागत रुपले, नियम संगत ढङ्गले हामी जे काममा केन्द्रीत हुनुपर्छ त्यसरी गर्नुपर्छ । यसरी काम गर्यौं, भने ति विकिरणहरु निस्प्रभाव भएर जान्छ भन्ने कुरामा म विश्वास राख्ने मान्छे हुँ। र, उमेरका हिसाबले पनि त्यो विश्वास, त्यो कन्फिडेन्सका साथ काम गरिरहेको छु । साथै नेपाली खेलकुदको सन्दर्भमा हामीले जे गर्नुपर्ने हो, जुन दायीत्वबाट कार्यसम्पादन गर्नुपर्ने हो त्यो पुरा गर्नेगरि अगाडि बढ्ने छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :