अच्युतकृष्ण खरेल नेपाली फुटबल खेल जगतमा एउटा अग्रणी र स्थापित नाम हो । उनले फुटबल खेलमा गरेको योगदान तारिफयोग्य मात्रै छैन, मननयोग्य पनि छ । त्यसैले फुटबलका प्रशंसक र अनुयायीहरु अहिले पनि उनलाई फुटबलको अग्रणी खम्बाको रुपमा परिभाषित गर्छन । नेपाली फुटबलमा काप्टेनको पनि क्याप्टेनको रुपमा परिचित खरेलको कप्तानी गर्ने कला अदभुत थियो । आक्रमक, रक्षात्मक, कुशल नेतृत्व, नियन्त्रण क्षमता र कठोर परिश्रम खरेलको कप्तानीको विशेषता थियो । उत्कृष्ट डिफेन्सरसँगै उत्कृष्ट कप्तानी गरेर नेपाली फुटबललाई विश्वमानचित्रमा डो¥याउन सफल खरेल आफ्नो कार्य क्षेत्रमा पनि त्यक्तिकै सफल थिए । लगनशिलता, आत्मविश्वासी र कर्मप्रति सधैं आशावादी रहि आफ्नो कार्य क्षेत्रमा सदैव मन जित्न सफल प्रहरी अतिरिक्त महानिरिक्षक (तत्कालिन) तथा पूर्व राष्ट्रिय फुटबल टीमका कप्तान अच्युतकृष्ट खरेलसङ्ग २०५३ साल असार महिना अर्थात आज भन्दा २७ बर्षअघि मेरोखेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले गरेको विशेष कुराकानी ः–
० नेपालमा खेलकुदको सम्भावना नै नभएको बेलामा तपाईले कसरी फुटबल खेलतर्फ आकर्षित हुनुभयो ?
– सम्भावना नै नभएको त नभनौं तर उपयुक्त वातावरण तयार नभई सकेको अवस्थामा पनि मैले स्कुृल जीवनदेखि नै मनोरञ्जनको साधनको रुपमा फुटबल खेललाई स्वीकार गरेको थिए । नेपाल जस्तो मुलुकमा वास्तवमा भन्ने हो भने आर्थिक दृष्टिकोणवाट पनि सस्तो सर्वशुलभ र केहि दशकअघि देखि नै अन्य खेलको तुलनामा फुटबल खेलको संगठित रुपमा शुरुवात भईसकेको हुँदा म यसतर्फ आकर्षित भएको हुँ ।

० तपाईलाई सर्वप्रथम एउटा क्बलवाट क्याप्टेन भएर खेल्न पाउँदा कस्तो महसुस भयो ?
– मेरो खेल जीवनको प्रारम्भ नै क्याप्टेनसिपवाट शुरु भएको हो । पद्मोदय हाईस्कुल तथा क्याम्पसस्तरीय फुटबल टीम, महावीर–११, राष्ट्रिय फुटबल टीम, काठमाण्डौं–११ एवम् महेन्द्र पुलिस क्लव जुन टीमवाट मैले नेतृत्व गर्ने अवसर पाए , त्यो एउटा खेलाडीको लागि यस्तो अवसरमा गौरवान्तित हुन त स्वभाविकै हो ।
० कति सालमा तपाईले राष्ट्रिय फुटबल टोलीवाट खेल्ने अवसर पाउनु भयो र के तपाई राष्ट्रिय फुटबल टोलीमा आउनुअघि टीमको निर्माण भइसकेको थियो ?
– देशमा फुटबल क्षेत्रमा विभिन्न स्तरीय टीम जस्तै एनआरटी, ठमेल–११, संकटा, महावीर, महेन्द्र पुलिस क्लब आदि गठन भइसके तापनि राष्ट्रलाई प्रतिनिधित्व गर्ने एउटा टीमको भने निर्माण भईसकेको थिएन । जुन खाँचो पुरा गर्न २०२६ सालमा राष्ट्रिय टीमको गठन हुन गयो । मैले त्यो टीमको गठन हुनुभन्दा पहिला नै विभिन्न फुटबलका प्रतियोगिताहरुमा भाग लिई सकेको थिए । राष्ट्रिय टीम गठन भईसकेपछि मैले मेरै नेतृत्वमा यो टीमले विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा भाग लिएको थियो ।
० तपाईले कतिवटा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्ने मौका पाउनु भयो, सफलता असफलताको वारेमा केहि बताई दिनुहुन्छ कि ?
– राष्ट्रिय टोलीको नेतृत्व गर्दै मैले सर्वप्रथम पाकिस्तानमा आगा खाँ कप, भारतको डिसिएम कप, (जसमा सेमिफाइनलमा प्रवेस गर्न सक्यौं) जापानमा एशियन युथ फुटबल प्रतियोगिता, बैङ्ककमा एशियन युथ फुटबल प्रतियोगिता, दार्जिलिङ्ग गोल्ड कप, ग्वालियरमा सञ्चालन हुने फुटबल प्रतियोगितामा आफ्नो टीमलाई सहभागिता गराएको थिए ।
खेलमा सफलता र असफलता भन्ने कुरा भइहाल्छ, जित्नु र हार्नुमा मात्रै सिमित हुँदैन । हाम्रो सन्दर्भमा आत्मविश्वास र मनोबलमा अभिबृद्धि ल्याई खेलाडीहरुको उच्चस्तरीय सीप विकास गर्नु प्रमुख र अहम कुरा हो । यस्तो खालको आत्मविश्वास, सीप विकास गर्न एक वा दुई कोचिङ काम्प मात्र पर्याप्त हुन सक्तैन । यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जति बढी सहभागिता गराउन सक्यो उति बढी सिक्ने मौका पाइन्छ । तसर्थ यस अर्थमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा शिल्ड प्राप्त गर्न हाम्रो स्तर पुगिसकेको थिएन । ता पनि अन्य पक्षमा निकै सफलता प्राप्त भएको मैले महसुस गरेको छु ।
० तपाई राष्ट्रिय फुटबल टीममा कस्तो खेलाडी हुनुहुन्थ्यो, मेरो भन्नुको अर्थ स्ट्राइकर कि डिफेन्सर ?
– हुन म यदाकदा अन्य स्थानवाट पनि खेल्ने गरेको हुँ तर म मूलतः सुरक्षा पंक्तिको डिफेन्सको खेलाडी हुँ ।
० तपाई नेपाली फुटबल जगतमा कुशल रणनीति बनाएर खेल्ने खेलाडीको रुपमा चर्चित हुनुको कारण के होला ?
– सर्वप्रथम म कर्मप्रति विश्वास राख्ने व्यक्ति हुँ, चाहे त्यो खेल जगतमा होस वा विद्यमान व्यवसायमा । ‘मन बचन कर्मले’ म आफ्नो कामप्रति दृढ लगनशिल भएर दत्तचित्त रहन्छु र आफुले निर्वाह गर्नुपर्ने दाइत्वप्रति एकरत्ति पनि सम्झौता गर्न उचित ठान्दिन । अर्को कुरा खेलकुद एउटा सामुहिक व्यवहार हो, एउटा समुहलाई एक ढिक्का बनाएर डो¥याई निश्चित लक्ष्य प्राप्त गर्न नियन्त्रण, निर्देशनको उत्तिकै आवश्यकता पर्दछ । त्यस्तै खेलकुदमा सफलताको लागि अनुशासन पालना गराउनु पनि त्यत्तिकै अपरिहार्य छ । एउटा क्याप्टेनको रुपमा यो दाइत्व प्रभावकारी ढङ्गवाट निर्वाह गर्नु पर्दछ । मेरो नेतृत्वमा भाग लिने खेलाडीहरुको मन जिति मैले यो दाइत्व निर्वाह गर्न समक्ष भएको कारण मेरो नेतृत्व प्रभावकारी भएको हुनसक्छ ।
रह्यो कुशल रणनीतिको कुरा क्याप्टेनले खेल चलिरहेको बेलामा प्रतिपक्षको खेल मूल्याङ्कनवाट आफ्नो विद्यमान खेलको तरिका र सिपमा तुरुन्तै संसोधन गरेर आफ्नो टीम परिचालन गर्न सक्नु महत्वपूर्ण हुन जान्छ । हुन त यो कदाकदा खतरापूर्ण हुनसक्छ तर नेतृत्वमा वस्ने व्यक्तिले निर्णय लिन हिच्किचाउनु हुँदैन ।

० थुप्रै खेलकुद थिए, त्यसमा फुटबल नै रोज्नुको कारण के थियो होला ?
– नेपालमा अन्य खेलकुदहरुको पनि क्रमिक विकास नभएको होइन, तर स्कुल क्याम्पसस्तरमा समेत सर्वशुलभ र सर्वसाधारण समेतले आर्थिक दृष्टिकोणवाट पनि धान्न सक्ने खेल भएको कारणले पनि मैले फुटबल खेललाई रोजेको हुँ । यसको अलावा पद्मोदय हाईस्कुलका गेम टिचर बसन्तकुमार नेपालज्यूको समेत प्रेरणाले र आफ्नो वासस्थान वरपरको वातावरणले पनि मैले यो खेलमा प्रवेश गरेको हुँ । तर मैले एथलेटिक्स, थ्रोइङ्ग इभेन्ट्सका पनि धेरै प्रतियोगितामा भाग लिएको छु ।
० थुप्रै पटक तपाईले वेष्ट खेलाडीको पुरस्कार पाउन सफल हुनु भएको छ, साँच्चिकै अद्भुत थियो तपाईको प्रतिभा ?
– हुन त यसको जवाफ मैलेभन्दा पनि खेलप्रेमीले दिदा बेस हुने हो तापनि मेरो खेलप्रतिको लगनशिलता, आत्मविश्वास र मेरो खेल सीप र तरिका नै यसको कारण हुनसक्छ ।
० तपाई नेपाल प्रहरीमा खेलकुदमा वितृष्णा उत्पन्न भएर भर्ति हुनु भएको हो की ?
– खेलाडीलाई खेलकुदमा कहिल्यै वितृष्णा हुँदैन र हुनुपनि हुदैन । रह्यो मेरो प्रहरीमा भर्नाको कारण मैले प्रहरी सेवामा प्रवेश गरेपछि पनि लामो समयसम्म नेपाली राष्ट्रिय टीमको क्याप्टेनको रुपमा विभिन्न प्रतियोगिताहरुमा भाग लिएको तथ्य सर्वविदितै छ । तसर्थ प्रहरी सेवामा प्रवेश मेरो खेलकुदप्रतिको वितृष्णा नभई सेवाप्रतिको मेरो चाख हो । खेलकुद मात्रै होइन, प्रहरी सेवामा प्रवेश गरिसकेपछि पनि म जति ठाउँमा प्रहरी प्रमुख भएर काम गरे जस्तै चितवन, भैरहवा, काठमाण्डौं पोखरा सवै ठाउँका मानिसहरुले मलाई उत्तिकै सहयोग, माया, ममता दिनुभयो र मैले प्रहरी कमाण्डरको रुपमा पनि व्यावसायिक सफलता पनि प्राप्त गरि ति ठाउँमा आफ्नो छाप छोड्न सफल भएजस्तो लाग्छ ।
० नेपाल प्रहरी र नेपालको खेलकुदको गतिविधिलाई कस्तोरुपमा हेर्नु भएको छ, के नेपाल प्रहरीले खेलकुदको माध्यमवाट राष्ट्रिय गौरव बढाउनमा कुनै महत्वपूर्ण योगदान गरेको छ ?
– नेपाल प्रहरीले राष्ट्रकै खेलकुद विकास र खेलाडीहरुको उत्पादनमा उल्लेखनिय योगदान पु¥याएको छ । रामजानकी कप (जुन नेपालको पहिलो फुटबल प्रतियोगिता थियो) तीन पल्टसम्म नेपाली प्रहरीले प्राप्त गर्ने सौभाग्य पाएको थियो भने २००९ सालदेखि नै नेपाली प्रहरी संगठनले फुटबल टीम खडा गरि आफुलाई राष्ट्रियस्तरमा अग्रपंतिमा राख्न सफल भएको थियो ।
राष्ट्रिय टीम खडा भइसकेपछि मेरो नेतृत्वमा खेल्ने टीमा ८–९ सदस्य प्रहरीका हुने गर्दथे भने म पछि पनि राष्ट्रिय टीमको नेतृत्व प्रहरीकै स्व. रुपकराज शर्मा, सुरेश पन्थी, अशोक केसी, धिरेन्द्र प्रधान, बाबुराम पुनःले गर्नु भएको थियो । त्यस्ते रुपाल शम्शेर राणा, किशनसिंह गुरुङ्गका साथै आजका राष्ट्रिय खेलाडीहरु देवनारायण चौधरी, सूर्यमान आदि समेत प्रहरी संगठनले राष्ट्रकै खेलाडी संरक्षण र जोगेर्ना गर्र्ने काम गरेको छ । यति मात्रै होइन, जुडो, करातेका अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु र बक्सिङ्ग जगतका दलबहादुर राना मगर जस्ता खेलाडीहरु पनि प्रहरीकै हुन भने अन्य राष्ट्रियस्तरका खेलाडी समेत उत्पादन गरि प्रहरी संगठनले राष्ट्रकै खेलाडी उत्पादन, संरक्षण र जोगेर्ना गर्ने काम गरेका छ ।
० महेन्द्र पुलिस क्बलका खेलाडीहरु जति फुटबल खेलमा सफल भएका छन, त्यति अरु खेलका सफल भएका छैनन् नी, यसको कारण के होला ?
– तपाईको यो भनाईमा अनुपातिक रुपमा सत्यता छ । फुटबल खेल हाम्रो देशको हरेका भागमा र हाम्रो प्राय ठूलो ब्यारेकहरुमा खेलाउन सकिने भएको कारणले तथा आर्थिक अवस्था र अन्य खेलको लागि आवश्यक पर्ने भौतिक स्रोत साधनको अभावका कारणले समेत फुटबल खेल हाम्रो परिप्रेक्ष्यमा बढी सफल भएको जस्तो मलाई लाग्छ । साथै लामो इतिहास बोकेको नेपाली प्रहरी फुटबल खेलको नेपाली जनतामा रहेको छापर जनताको चाहनाले पनि यदाकदा यसको सफलतामा अभिवृद्धि भएको छ । तर मैले माथि भनेको छु अन्य खेलमा पनि नेपाल प्रहरीका खेलाडीहरुले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सफलता प्राप्त गरको तथ्यचाहिँ विर्सन सकिदैन ।
० महेन्द्र पुलिसका खेलाडीहरुलाई जति सुविधा दिनुपर्ने हो त्यति नपाएको गुनासो सुनिन्छ नी, यस्ता खेलाडीहरुलाई थप केहि सुविधा प्रदान गरिएको छ ?
– राष्ट्रिय अन्तर्राष्ट्रिय र सफलताका आधारमा थुप्रै सहुलियत तथा सुविधाहरु आफ्नो श्रोत र साधनले भ्याएसम्म संगठनले उपलब्ध गराउँदै आएको छ । तर राष्ट्रियस्तरका खेलाडीहरुको सम्वन्धमा राष्ट्रियस्तरवाट नै सोचाई राख्नु जरुरी हुन्छ भन्ने मेरो धारणा छ ।
० अव प्रसङ्ग बदलौं । अहिले र तपाईको पालाको खेलकुदको स्थितिमा के फरक देख्नु भएको छ, केहि अतितका फरक कुरा बताई दिनुहुन्छ कि ?
खेलाडी सुविधा सहुलियत भौतिक स्रोत र साधनको उपलब्धता प्राय सुन्य अवस्थाबाट खेलकुदको शुरुवात गरेका हामी जस्ता खेलाडीहरुले आजको स्थितिसङ्ग तुलना ग¥यो भने यस दिसामा उल्लेखनिय उपलब्धि हासिल गरेको पाउँछौं । व्यवस्थित प्रशिक्षण, संगठित विकासमा भएका प्रयासहरु, खेलाडीहरुको अन्तर्राष्ट्रिय जगतमा एक्सपोज तथा थोरै मात्रामा भएपनि सुविधा सहुलियतले निश्चित रुपमा आत्मवल र मनोबल बृद्धिमा सकारात्मक भूमिका खेलेको छ । ता पनि खेलकुदलाई स्तरीय बनाउन श्रोत साधनमा अभिबृद्धि, खेललाई पेशागतरुपमा विकसित गर्ने, खेलाडीहरुको सामाजिक मान्यता, आधारभुत आवश्यकताको परिपूर्ति तथा जव ग्यारेन्टी आदिजस्ता आधारभुत विषयमा सम्वन्धित सवैको ध्यान जानु आवश्यक देखेको छु ।
० खेलाडीहरुले सफलता पाउनका लागि के गर्नु पर्दछ, यसमा तपाई व्यक्तिगत राय के छ ?
– खेलाडीहरुमा आज यदाकदा देखा परेको अनुशासनहिनता र खेलकुद आचारसंहिताको उल्लङ्घन जस्ता गतिविधिले खेल जगतको छवीलाई धमिल्याउन सक्दछ । तसर्थ यसतर्फ सवै खेलाडीहरु आफ्नो खेलमा दक्षता अभिवृद्धि गर्न सदासर्वदा सजगगरि टीम इस्प्रीट नभइ खेलकुदमा सफलता हासिल गर्न सकिन्न भन्ने तथ्य मनन गरि तदनुरुप आचरण गर्नु पर्दछ जस्तो मलाई लाग्छ ।
० नेपालका युवा खेलाडीहरुप्रति तपाईको के धारणा छ, के यसरी नै खेल्दा नेपालको स्तरमा वृद्धि होला त ?
– नेपालका युवा फुटबल खेलाडीप्रति ज्यादै नै आशावादी छु । यिनीहरुमा भएको प्रतिभालाई कुशल प्रशिक्षण तथा अन्य व्यवस्थापनको माध्यमद्वारा सदुपयोग सम्वन्धित निकायले गर्न सकेको खण्डमा यो स्तरमा उल्लेखनिय बृद्धि गर्न सकिन्छ ।
० तपाईका समकालिन अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरु कसकस्लाई मान्नुहुन्छ ?
– मेरो समकालिन स्तरीय खेलाडीहरुमा कोमल पाण्डे, बाबुराम पुन, भीम थापा, लक्ष्मण क्षेत्री, धनवहादुर थापा, विष्णुगोपाल श्रेष्ठ, अनुप शम्शेर राणा, यमवहादुर थापा, गजेन्द्र सुब्बा, बेनी सुब्बा, रुपाल शम्शेर राणा, बुद्धि गुरुङ्ग, स्व. रुपकराज शर्मा, स्व. हिरा खड्का, स्व. पदम थापा जस्ता खेलाडीहरुको नाम कहिल्यै विर्सन सक्तिन । साथै नरकाजी गुरुङ्ग जस्ले फुटबल खेलर आफ्नो एउटा किड्नी गुमाए तर पनि अन्तर्राष्ट्रिय फुटबलमा सरिक भए । आज यस्ता खेलाडी प्यारालाइसिस भएर हिडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन । यस्ता खेलाडीहरुलाई औषधोउपचार गर्नेतर्फ सवैको ध्यान जानुपर्ने देख्दछु ।

० नेपालको फुटबलको विकासमा विशिष्ट योगदान गर्ने व्यक्तिहरुको वारेमा तपाई धारणा कस्तो छ ?
– नेपाल प्रहरीका भूतपूर्व प्रहरी महानिरिक्षक नरशम्शेर जवरा जूले नेपालको फुटबल विकासमा गर्नु भएको अमूल्य योगदानलाई म कहिल्यै विर्सन सक्तिन ।
० एउटा रमाईलो र वास्तविक कुरो, विदेशमा खेलकुदको चर्चित मान्छेलाई देशकै महत्वपूर्ण पदमा आशिन गराउने चलन पनि छ, यदि भविष्यमा तपाईलाई पनि यस्तै अवसर आयो भने के गर्नुहुन्छ ?
– खेल जगतका उच्च आदर्शहरु प्रतिको मेरो आस्था, एकता, अनुशासन, लगनशिलता, आत्मबल, आपसी सहयोग जस्ता तत्व समेतले मलाई यस्तो महत्वपूर्ण पदको दायित्व निर्वाहमा थप टेवा पुग्ने छ तथा आजसम्म तपाई खेलप्रेमीहरुले दिनु भएको माया, ममता र स्नेहका कारणले खेल जगतमा जुन सफलता मैले प्राप्त गर्न सक्षम भए आगामी दिनमा पनि तपाईको विश्वास अनुरुप आफ्नो अठोट जाँगर कामप्रति लगाव र दायित्व निर्वाहमा कुनै कमि आउन दिने छैन ।