विश्व हेभिवेट च्याम्पियनसिप फाइट हुनुभन्दा अगाडि भएको पत्रकार भेटघाटमा मोहम्मद अली कुर्लि कुर्लि कराउँदै, नानाभाति भन्दै आफ्नो विपक्षी जर्ज फोरम्यानलाई मनोवैज्ञानिक दबाव दिन्छन्। ‘आठ राउण्ड कटाउदिन, यो टाइटल म नै जित्छु । किनकि मैलै राम्रो तयारी गरेको छु । ‘आइ एम द गे्रटेस्ट’ भन्दैै फोरम्यानलाई मानसिक दबाव दिन्छन् । यस क्रममा जर्ज फोरम्यान पनि कुर्लि कुर्लि ‘यो म्याच म नै जित्नेछनु भन्छन्।’
अन्तत ३० अक्टोबर सन १९७४, जायरेमा अली र फोरम्यानकाबिच भिडन्त हुन्छ । सात राउण्डसम्म फोरम्यानले अलीलाई डोमिनेट गरिरहेका हुन्छन् । अली आफुलाई बचाएर खेलिरहेका हुन्छन्।
‘टङ्ग… घण्टी बजेर फाइट रोकिन्छ । थोरैबेर आराम गर्छन् । त्यसपछि आठौं राउण्डको विश्व हेविवेट बक्सिङ्गको म्याच शुरु हुन्छ । म्याच शुरु भएको एकैछिनपछि अलीको मुक्का चिउँडोमा लागेर फोरम्यान नकआउट हुन्छन् र उनी हार्छन् । अनि मोहम्मद अली चिच्याउँदै भन्छन् ‘आइ एम द गे्रटेस्ट’ ।
मोहम्मद अली र जर्ज फोरम्यानको यो विश्व हेभिवेट च्याम्पियनसिप फाइट पाँच विलियन दर्शकहरुले हेरेका र सुनेका थिए । खेलकुदमा मोहम्मद अलीको मानसिक दबाव दिने शैलीलाई ‘मनोवैज्ञानिकि युद्ध’ भनिन्छ । बक्सिङमा मात्रै होइन, अहिले जुनसुकै प्रतियोगिता अगाडि प्रेश मिट गर्छन् । र, एक अर्कामाथि मानसिक दबाव दिन उद्दत हुन्छन् ।
मलाई विन्टर ओलम्पिक गेम्स फिगर स्केटिङमा स्वर्ण पदक विजेता क्याथरिनाले १९८४ को साराजिभो ओलम्पिकमा स्वर्ण पदक जितिसकेपछि १९८८ को कालगारी विन्टर ओलम्पिकको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार भेटघाटमा भनिन्, ‘म पूर्व विजेता हुँ । मैले धेरै कडा प्रशिक्षण गरेकि छु, यसपाली पनि स्वर्ण पदक जित्नु।’ उनले धेरै विश्वासका साथ स्वर्ण पदक जित्ने कुरा पत्रकार सामुन्य बताइन् । नभन्दै उनले पर्फेक्ट पर्फमेन्स गरिन र स्वर्ण पदक जितिन् । उनीसङ्ग प्रतिस्पर्धा गर्ने खेलाडी मानसिक दबावमा परेर हारिन् । उनी पराजित हुने कारण क्याथरिनाको प्रेस कन्फेरेन्समा अभिव्यक्त भनाई नै थियो ।
अतः प्रतियोगिताको पूर्व सन्ध्यामा खेलाडी र टीमले प्रतिपक्षलाई मानसिक दबाव दिनु नै पर्छ । तर यहाँ एउटा कुरा के ख्याल राख्नुपर्छ भने आफु एकदम कमजोर छु, र, आफ्नो टीम पनि एकदम कमजोर रहेको अवस्थामा मानसिक दबाव दिएर केहि अर्थ लाग्दैन । त्यत्ति हो विजयी हुन्छु भन्नेको सट्टामा अनुभव मात्र बटुल्न खेल्नेछौं भनि जानकारी गराउन सकिन्छ ।

तसर्थ प्री म्याच पत्रकार भेटघाट खेलाडीका लागि पनि आवश्यक हुन्छ । खेलाडी जब १६ र २० को अवस्थामा हुन्छन् भने धेरै नै प्रभावकारी हुन सक्छ । व्यवस्थापकहरुका लागि फाइनल तयारी सम्बन्धि जानकारी गराउन पत्रकार भेटघाट आवश्यक हुन्छ । जस्तो कि हामीले एशियन र साफ गेम्सको तयारी सम्बन्धि जानकारी पूर्व सन्ध्यामा गर्ने गरेका छौं । राष्ट्रिय संघहरुले राष्ट्रिय प्रतियोगिताको तयारी सम्बन्धि जानकारी पत्रकार भेला गरेर दिन सकिन्छ । थोरै राष्ट्रिय संघहरु यस सम्बन्धमा सक्रिय छन् । त्यसैगरि नेक टु नेक फाइट भएका खेलाडी एवम् टीमहरु पनि त्यत्ति सक्रिय छैनन् । सक्रिय हुने परम्परा अलिक धेरै बढाउनु पर्छ । जति धेरै सक्रिय हुन्छन् त्यति नै बढी जनताले थाहा पाउछन् । खेलकुदका गतिविधि जनताले धेरै थाहा पाउँदा हामीलाई नै बढी फाइदा हुन्छ ।
विश्वस्तरीय खेलहरुको पूर्व सन्ध्यामा खेलाडीहरुलाई पत्रकार भेटघाट गराउनुको तात्पर्य प्रतिपक्षी खेलाडीलाई मानसिक दबाव दिनु नै हो । मलाई मोहम्मद अलीको मानसिक दबाव दिने अर्को तरिका पनि थाहा छ । उनी बसेको होटलको झ्यालबाट ऐना देखाएर प्रतिपक्षी खेलाडीलाई मानसिक दबाव दिन्थे । त्यसबेला उनको चर्तिकला सुनेर हामी छक्क पर्दै भन्ने गर्दथ्यौं ‘अलीले के बौलाठ्ठ काम गरेको होला? ऐन देखाउने, धम्की दिने, तर्साउन खोज्ने ।’ तर धेरै पछि थाहा भयो उनले गरेको चर्चिकला त मानसिक दबाव दिन खोजिएको रहेछ । उनलाई उनका मनोविज्ञले सिकाएको हुनुपर्छ भन्ने अनुमान गर्यौं हामीले ।
तर अहिले धेरै नियमहरु बने, नियमको परिधिमा बस्नुपर्छ खेलाडी पनि, व्यवस्थापकहरु पनि । शालिन भएर आफुलाई पस्किनु पर्छ । अन्यथा नियमले पकडिन सक्छ। तर आफ्ना कुरा मज्जाले संप्रेषण गर्न भने पाइन्छ । खेलाडीहरुका लागि प्री म्याच पत्रकार भेटघाट मानसिक दवाव सिर्जना गर्ने प्रथा शुरु गर्नु नै पर्छ । तर यो भेटघाट १२ र २० को वरियता (स्तर) का खेलाडीलाई लागु गर्नु बुद्धिमता ठहरिन्छ ।
