काठमाण्डौं । पाँचौं गणेशमान सिंह खुल्ला राष्ट्रिय किकबक्सिङ्ग प्रतियोगिता आगामी भदौमा हुने भएको छ । आयोजकले आईतबार एक पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता भदौ २१ गतेदेखि शुरु हुने जानकारी गराएको हो ।
ललितपुर किकबक्सिङ्ग संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा प्रतियोगिताका समूह खेलहरु गोदावरी नगरपालिका ११ प्याङ्गगाउँस्थित खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा नेपाल आर्मी, प्रहरी, सशस्त्र प्रहरी, कराते, तेक्वान्दो, उसु, बक्सिङ्ग, मुआई थाई, किकबक्सिङ्ग, फुल कन्ट्याक्ट कराते, आईटीएफ र सात प्रदेशका राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने छ ।
जस अन्तर्गत पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम टिम च्याम्पियनले १ लाख, दोश्रो टिम च्याम्पियनले ५० हजार र तेश्रो टिम च्याम्पियनले २५ हजार प्राप्त गर्ने छन् ।
यस्तै पुरूष र महिलातर्फको उत्कृष्ट खेलाडीले समान १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने प्रतियोगिताको कुल बजेट ५२ लाख ८१ हजार ६ सय रुपैयाँ अनुमानित रहेको छ ।