कराते खेलाडीलाई अनुशासनहिन बनाउने खेलकुद पदाधिकारी नै हुन–थानेश्वर राई

श्रीविक्रम भण्डारी

कराते खेलको नाम उच्चारण गर्ने बित्तिकै थानेश्वर राईको तस्वीर मानसपटकमा झल्किन्छ । प्रतिबन्धकालदेखि नै नेपालमा कराते खेलको विकास र विस्तारमा होमिएका उनी करातेका संस्थापक पनि हुन् । नेपालमा कराते खेललाई स्थापित गर्न उनले भोगेको पीडा ‘प्रशव पीडा’ भन्दा कम छैन । लुकिछिपी होस् या खुल्लारुपमा राईले कराते खेलको विकासमा दिएको योगदान अविष्मणिय छ । राईले कराते खेललाई राष्ट्रियस्तरमा स्थापित गर्न देखि अन्तर्राष्ट्रियस्तरमा दिलाएको सफलता आफैमा चर्चा गर्न लायक छ । अँझ कराते खेललाई अुनशासनको डोरीमा बाँध्न राईले गरेको संघर्ष कुनै रोचक दन्त्य कथा भन्दा कम छैन । अहिलेसम्म कसैको आँखामा नबिझाएका इमान्दार र शालिन व्यक्तित्वको रुपमा परिचित उनै राईसङ्ग कराते खेलका आरोह र अवरोहमा केन्द्रित रहेर २०५४ साल अर्थात् आजभन्दा २६ वर्ष अगाडि मेरोखेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले गरेको विशेष कुराकानी :

० वर्तमान अवस्थामा सितोरियो करातेको भविष्यलाई कसरी मूङ्ल्याङ्कन र विश्लेषण गर्नु हुन्छ ?
– अरु मार्शल आर्टस्का खेलभन्दा सितोरियो करातेको भविष्य एकदमै उज्ज्वल छ । अहिले नेपालमा धेरै मार्शल आर्टस्का खेलहरु भएपनि हामीले अब यो खेललाई आत्मरक्षाको लागि फाइटिङ्ग गर्ने खेल मात्र नभएर ओलम्पिक खेलको रुपमा लाने प्रयास गरेका छौं । वर्तमान अवस्थामा यो खेललाई ओलम्पिक खेलमा लानको निमित्त एशियन महासंघ, विश्व कराते महासंघबाट सदस्यता प्राप्तगरि वल्र्ड कराते फेडेरशनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् १९९५ मा मान्यता प्राप्त गरिसकेको हुँदा हामीले यो खेललाई ओलम्पिक खेलकै नीति नियम अनुसार विश्व कराते महासंघको नियम अनुसार हामीले सदस्यता प्राप्त गरि स्पोर्टसको रुपमा प्रतियोगिता गरेर सहभागिता गराउने निर्णय गरेका छौं । सितोरियो करातेलाई जापानको हिरोसिमामा भएको एशियाली खेलकुद प्रतियोगितामा समावेश गर्नुको साथै नेपालमा आगामी सन् १९९९ मा हुने आठौं साफ प्रतियोगितामा पनि राखिएको छ । अँझ करातेलाई ओलम्पिक प्रतियोगितामा राखेर स्पोर्टसको रुपमा पनि खेल्न सकिने हुँदा यसको लोकप्रियता दिन प्रति बढेर गएको छ ।

० त्यसो भए करातेले कहिलेदेखि ओलम्पिकमा सहभागिता दिने सम्भावना देख्नु भएको छ ?
– यसमा के छ भने विश्व कराते महासंघले सन् २००४ मा कराते ओलम्पिकमा समावेश हुने कुराको टुङ्गो लगाईसकेको छ । सन् २००० मा हुने सिड्नी ओलम्पिक प्रतियोगितामा सितोरियो कराते बक्समा परेपनि आउँदो वर्ष थाईल्याण्डमा हुने एशियाली खेलकुद प्रतियोगितामा करातेलाई पनि समावेश गरेको हुनाले हामी केहि सन्तुष्ट भएका छौं । हाम्रो देश नेपाल गरिव भएपनि यस खेलमा खेलाडीहरुको अत्याधिक सहभागिताबाट दिनप्रति लोकप्रियताको शिखरमा चढिरहेको अवस्था छ । यस्तोमा हामी आठौ साफमा अत्याधिक पदक जित्ने छौ नै । अब जितलाई सार्क राष्ट्रहरुमा सिमित नराखेर एशियाली राष्ट्रहरुको माझमा पनि पुर्याउने कोसिसमा लागेका छौं ।

० तपाईले व्यक्तिगत प्रयासबाट सितोरियो करातेलाई दिन प्रति दिन लोकप्रिय बनाई राख्नु भएको छ । यो खेललाई अँझ सफल बनाउन सरकारबाट कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ ?
– सर्वप्रथम त राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहल नै निकै कमजोर देखिएको छ, सरकारबाट पर्याप्त रुपमा बजेट ल्याउन सकेको छैन । त्यस्तो संस्थाले हामीलाई कत्तिको सहयोग गर्न सक्ला, तपाईं आफै अड्कल काटन सक्नुहुन्छ । र पनि, हाम्रो देश गरिव भएकोले हामीलाई अरु देशको जस्तो त्यति सुविधा चाहिएको छैन । कराते खेल टे«निङ्ग गरेर मात्र नहुने हुँदा जतिसक्दो धेरै प्रतियोगिता हुनुपर्छ । विश्व कराते महासंघले प्रत्येक वर्ष सात आठवटा अन्तर्राष्ट्रिय प्रतियोगिता गराई रहेको हुन्छ । जस्मा नेपालले कम्तिमा पनि तीन चारवटा प्रतियोगितामा प्रतिस्पर्धा गर्नैपर्छ । त्यो गरेको खण्डमा नेपालको स्तर माथि उठ्छ । त्यसैले हामीले नेपालको अन्तर्राष्ट्रियस्तरमा फुल टीम सहभागिताका लागि राखेपसङ्ग अनुरोध पनि गरिरहेका छौं ।

मैले हालै सुने अनुसार आठौं साफलाई मध्यनजर राखेर श्रीलंका र बंगलादेशले आफ्ना खेलाडीहरुलाई इरान र जापानमा लगि ट्रेनिङ्ग गराउँदै छन्, भने हाम्रो चाहिँ अहिलेसम्म क्लोजिङ क्याम्पको समेत टुङ्गो लागेको छैन । हामीेले भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा रित्तो हात स्वदेश फर्कनुपर्ने बाध्यताको अवगत राखेपलाई बारम्बार गराए पनि छिटोछिटो समयमा खेलकुदका पदाधिकारीहरु परिवर्तन हुने भएकोले हाम्रो प्रयासहरु सबै बालुवामा पानी हाले जत्तिकै मात्रै भएको छ ।

० वर्तमान अवस्थामा राखेपले सितोरियो करातेको विकासका लागि कति बजेट छुट्याएको छ ?
– खासगरि राखेपले अहिलेसम्म सितोरियो करातेलाई एक रुपैयाँ पनि छुट्याएको छैन । आजभन्दा धेरै वर्ष पहिले जब इन्दुबहादुर शाही राखेपको सदस्यसचिव थिए त्यसबेला उनले सितोरियो करातेलाई पाँच लाख रुपैया छुट्याएका थिए । यो रकम हामीले सन् १९८८ मा सिङ्गापुरमा भएको कराते प्रतियोगितामा फुल टीमको सहभागिता र अष्टे«लियाको सिड्नीमा भएको प्रतियोगितामा पनि पाँच जना खेलाडीहरुलाई सहभागिता गराएर राम्रो सदुपयोग गरेका थियौं । त्यसपछि अहिलेसम्म हामीलाई परिषदले एक पैसा पनि दिएको छैन । र २०५४–५५ को बजेटमा करातेलाई कति रकम छुट्याएको छ या छैन, त्यसको जानकारी हामीलाई आएको छैन ।

० जापानबाट सितोरियो करातेलाई वार्षिकरुपमा आर्थिक सहयोग प्राप्त भईरहेको भन्छन् नी, यसमा कत्तिको सत्यता छ ?
– विश्व कराते महासंघको प्रधान कार्यालय नै जापानमा भएकोेले उनीहरुले हामीलाई टेक्निकल सहयोग गर्दै आएका छन् । यदि हामीले आठौं साफ प्रतियोगिताका लागि प्लान बनाएर योजनाबद्ध तरिकाले सहयोग मागेमा उनीहरुले राष्ट्रिय कराते टोलीलाई नेपालमै आएर प्रशिक्षण दिन प्रशिक्षकको व्यवस्था मिलाइ दिन सक्छन्, या खेलाडीहरुलाई जापानमै पनि प्रशिक्षण गराईदिने ब्यवस्था मिलाई दिन सक्छन् ।

० सितोरियो करातेमा बढ्दो अनुशासनहिनताले गर्दा मार्शल आर्टस्का अन्य खेलको पनि अपमान भएको चर्चा छ, यसमा तपाई कत्तिको सहमत हुनुहुन्छ ?
– अहिले सितोरियो करातेमा मात्रै तीन चार लाख खेलाडीहरुको सहभागिता रहेको छ । तीनीहरु सबै अनुशासित र एजुकेटेड छन्, भनेर हामी भन्न सक्तैनौं । त्यसैले सबै मूर्ख र सब बदमास छन्, पनि भन्न सक्तैनौं । यहाँ डाक्टर पनि छन्, इन्जिनीयर पनि छन्, चोर र फटाह पनि छन् र राजनीतिज्ञ लगायत सबै छन् । खेलाडी भनेको प्रशिक्षकले तयार पार्ने एउटा तरवार हो । खेलकुदका पदाधिकारीहरुले यो तरवाररुपी खेलाडीहरुलाई वीडमा आएर समायो भने सफल हुन्छ, यदि जानीजानी कसैले तरवारको टुप्पोमा छुन्छ भने त्यसले अवश्य काट्छ । त्यसैले सितोरियो करातेमा अनुशासन छैन भनेर हल्ला चलाउने सबै खेलकुदका पदाधिकारी नै हुन् ।

० तपाईले सितोरियो कराते खेलको विकासमा जति समय दिनु पर्ने थियो त्यो दिन नसक्नुले करातेका खेलाडीहरुमा अनुशासनहिनता बढेको चर्चा छ नी ?
– यसमा कुरो के छ भने पहिले एकै ठाउँमा दुईसय जना खेलाडी थिए । त्यसमा हामीले समय दिन सक्थ्यौं । तर अहिले कराते खेलमा खेलाडीहरुको बढ्दो सहभागिताले गर्दा सबैलाई समय दिन नसकेको कुरा सत्य हो । अहिले ७५ जिल्लामा यस खेलका जिल्ला, अञ्चल, क्षेत्रिय र राष्ट्रिय प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् । मैले प्रत्येक टुर्नामेन्टमा अधिराज्यभरि एक पटक घुम्दाखेरी दुई तीन महिना बित्छ। बाहिरबाट हेर्दा यो खेलमा मेरो जस्तोसुकै सहभागिता देखिए पनि मैले आफु फुलटाइम यसैमा दिएको छु । खालि जम्मै ठाउँमा म पुग्न मात्र नसकेको हुँ ।

० जिल्ला, अञ्चल, क्षेत्रिय तहमा सितोरियो करातेका खेलाडीहरुको राम्रै गतिविधि पाइए पनि केन्द्रस्तरमा त्यस्तो गतिविधि सञ्चालन गर्न नसक्नुमा तपाईं कस्लाई दोषी ठहर्याउनु हुन्छ ?
– आजभोलि जति खेलकुदमा अनुशासनहिनता बढेर बदमानी, गुण्डागर्दी र फट्याईहरु भईरहेको छ त्यो कराते खेलले नभई राजनीतिक पाराले गर्दा हो । किनकि आज एउटा बदमासलाई बदमासी गरेवापत एउटा मन्त्रीले थुनेको हुन्छ भने अर्को व्यक्तिले त्यसै व्यक्तिलाई स्यावासी दिएर त्यहाँबाट निकाल्छ । त्यसैले यो राजनीतिक विकृति मात्रै हो । खेलाडीहरु अहिले पनि जति मात्रमा उत्पादन भइरहका छन्, तिनीहरुमा देशका लागि केहि गरु भन्ने भावना चाहिँ उत्पन्न भएको छ । यो खेलमा पनि एक दुई जना त्यस्ता अनुशासनहिन खेलाडीहरु हुन सक्छन्, त्यो छैन भन्न म सक्तिन । यदि त्यस्ता व्यक्तिहरुलाई हटाउनु परे हामीले हाम्रा नीति नियमहरु तयार पारेका छौं । र, त्यसै अनुरुप कारवाहि गर्छौं पनि ।

० तपाईको सोझोपन, इमान्दारीता र अनुशासनले गर्दा नै राखेपले तपाईलाई प्रमोशन नगरेको चर्चा छ नी, यसमा तपाई के भन्नुहुन्छ ?
– सर्वप्रथम त म लाहुरे मान्छे हुँ । त्यसपछि मैले खेलकुदमा केहि गर्छु भनेर यो कराते महासंघको स्थापना पनि गरेको हुँ । यसमा राखेपले मलाई प्रमोशन दिए पनि नदिए पनि म संतुष्ट नै छु । मेरो उद्देश्य भनेको कराते खेलका खेलाडीहरुलाई ओलम्पिक प्रतियोगितामा पुर्याएर थुप्रैै पदक जित्नु मात्रै हो ।

० कराते महासंघको अध्यक्ष पदमा रुक्मशम्शेर राणालाई ल्याउने एकताका खुबै चर्चा थियो त्यो अहिले सेलाएको छ, कारण के हो नी ?
– जब खेलकुदमा राजनीति कारणले खेलकुद पदाधिकारीहरु आउनु हुन्छ, उहाँहरुले आफ्नो पालामा एउटा तदर्थ समिति गठन गर्नुहुन्छ । त्यतिबेला हामीहरुले एप्रोच गछौं यसो गरौं भनेर । नत्र के छ भने प्रत्येक संघहरुको कुनै पनि पदमा निर्वाचनबाट आउनु पर्दछ । त्यसपछि मात्रै त्यो संघ वैधानिक र स्टोङ्ग हुन्छ ।

रुक्मशम्शेर राणाको पालामा उनलाई पनि हामीले तदर्थ समिति बनाउनु भनेर जिम्मा दिएका थियौं । तर उहाँले बनाउनु नै भएन । उहाँको पालमा आठौं साफ गेम्सको प्रपोज नेपाललाई आयो । त्यसपछि उहाँले सितोरियो करातेलाई आठौं साफमा सहभागिता गराउन महत्वपूर्ण भूमिका निभाउनु भयो । संघको निर्वाचन हुँदा खेलाडीहरुको महत्वपूर्ण हात हुने भएकोले त्यसबेला हामीले भन्दाभन्दै पनि उहाँले केहि गर्न सक्नु भएन । अहिले खेलकुदमा पुनः परिवर्तन भइसकेको छ । तसर्थ समिति बनाउने सम्पूर्ण अधिकार खेलकुद पदाधिकारीलाई नै छ ।

० तपाईको भनाई अनुसार अब सितोरियो खेलाडीहरुलाई विश्व च्याम्पियन बनाउनु भन्दा पनि ओलम्पिकमा स्वर्ण पदक दिलाउने उद्देश्य देखियो नी ?
– ठिक भन्नुभयो तपाईले । एशियन च्याम्पियन त अहिले पनि हामी कहाँ पाँच, पाँच जना छन । तर पनि त्यसको महत्व हुँदैन, अथवा वल्र्ड च्याम्पियनसिप होस् त्यसको पनि महत्व हुँदैन । ओलम्पिक खेलकुद भनेको त्यस्तो खेल हो जस्लाई खेलकुदको विशिष्ट श्रेणीमा हेरिन्छ । त्यसैले ओलम्पिकमा काँश्य पदक मात्रै पनि किन नजितोस त्यसको ऐतिहासिक रेकर्ड हुन्छ ।

० अन्त्यमा, नेपालमा सितोरियो करातेको भविष्य कस्तो देख्नु भएको छ र तपाईको त्यसमा कस्तो भूमिका रहन्छ ?
– यस महत्वपूर्ण खेललाई अझ प्रभावशाली र स्तरिय बनाउन सरकारले पर्याप्त मात्रमा राखेपलाई बजेट उपलब्ध गराउनु पर्दछ । अँझै बजेटको कुरा गर्दा सहि ठाउँमा पनि लगानी गर्न सक्नुपर्छ । जस्ले गर्दा राष्ट्रिय भावनाले ओतप्रोत भएर खेलकुदमा होमिएका सम्पूर्ण खेलाडीहरुको मनोवल समेत माथि उठ्ने छ । यदि भविष्यमा सरकारको सहि लगानी कराते खेलमा भयो भने अन्तर्राष्ट्रियस्तरमा करातेले रित्तो हात फर्किनु पर्ने छैन । हामीले नेपाली खेलकुदको इतिहासमा नयाँ कीर्तिमान कायम गरेर देखाई दिने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :