काठमाण्डौं । नेपाल भलिबल संघ (एनभीए) ले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल खेलाडीलाई मासिक तलब दिने घोषणा गरेको छ । भलिबल संघले मंगलबार काठमाण्डौंमा एक पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय महिला तथा पुरुष भलिबल खेलाडीलाई मानिस पाँच हजारका दरले तलब प्रदान गरिने घोषणा गरेको हो।
यससँगै राष्ट्रिय भलिबल खेलाडीले अब मासिक रुपमा तलब पाउने ऐतिहासिक कार्यको थालनि भएको छ । यसअघि राष्ट्रिय भलिबल खेलाडी बिना तलब खेल्दै आएका थिए । अमेरिकामा रहेका पूर्व अन्तर्राष्ट्रिय भलिब खेलाडी, बिजेन ईन्टरप्रेनर र भलिबल प्रेमी गरि २४ जनाको सहयोगमा नेपाल भलिबल संघले पहिलो पटक खेलाडीलाई मासिक तलब दिने घोषणा गरेको हो ।

संघले घोषणा कार्यक्रमकैबीच राष्ट्रिय टोलीमा रहेका १२ महिला तथा १२ जना पुरुष गरि २४ जना खेलाडीलाई सेप्टेम्बर, अक्टोबर र नोबेम्बर गरि तीन महिनाको ५-५ हजारका दरले १५-१५ हजार तलब प्रत्येक खेलाडीलाई वितरण समेत गरेको छ। नेपाल भलिबल संघका अनुसार अमेरिकाबासी नेपाली सहयोगीदाताबाट संघको खातामा जम्मा भएको ३ लाख ६० हजार रुपैयाँबाट अहिले प्रत्येक खेलाडीलाई पहिलो तीन महिनाको तलब वितरण गरिएको हो ।
संघले यसलाई नेपाली भलिबल जगतकै ऐतिहासिक कार्य भएको भन्दै थोरै भएपनि राम्रो कार्यको थालनि भएको र यसले खेलाडीलाई हौसला साथै सहयोग मिल्ने जनाएको छ । पहिलो पटक भलिबल संघबाट मासिक तलब बुझेपछि खुसी हुँदै महिला टोलीकी कप्तान अरुणा शाहीले ढिलै भएपनि एनभीएले राम्रो कार्यको थालनी गरेको भन्दै संघलाई धन्यवाद दिइन् ।

‘मैले भलिबल खेल्न थालेको नै १४-१५ वर्ष भयो, कप्तान अरुणाले भनिन्, ‘मैले खेल्न थालेको साँढे एक दशकको अवधिमा पहिलो पटक संघले नयाँ कार्यको थालनी गरेको छ, यसको लागि भलिबल संघ तथा सम्पूर्ण सहयोगी दातालाई म, लगायत राष्ट्रिय टोलीका सम्पूर्ण खेलाडीको तर्फबाट धन्यवाद।’
पुरुष टोलीका कप्तान मानबहादुर श्रेष्ठले धेरै पहिलेदेखि यो कार्यको अपेक्षा गरिएपनि आफूले राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दै गर्दा शुरु भएकोले आफूले यस दिनलाई सधैं नेपाली भलिबलको ऐतिहासिक दिनको रुपमा सम्झिरहने बताए ।
‘यो म लगायत सम्पूर्ण नेपाली भलिबल खेलाडीले धेरै पहिलेदेखि अपेक्षा गरेको कुरा हो, कप्तान मानहादुरले भने, ‘विगत लामो समयदेखि प्रतिक्षा गर्दै आएको कार्य मैले राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दै गर्दा शुरु भएको छ, यो दिनलाई म सधैं नेपाली भलिबलको ऐतिहासिक दिनको रुपमा सम्झिरहने छु ।’
यस्तै नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दले सहयोगी दाताका सहयोगमा नेपाल भलिबलको इतिहासमा ऐतिहासिक कार्यको थालनी गर्न पाउँदा खुसी व्यक्त गर्दै सहयोगी सम्पूर्णलाई धन्यवाद दिए । यस्तै अध्यक्ष चन्दले खेलाडीलाई मासिक तलब दिने कार्यलाई संघले निरन्तरता दिने प्रतिवद्धता समेत जनाएका छन् ।
यस कार्यको थालनीसँगै एनभीए खेलाडीलाई मासिक तलब दिने नेपालको चौंथो खेल संघ बनेको छ । यसअघि फुटबल र क्रिकेट बुद्धीचालका पुरुष र महिलातर्फका नम्बर वान् खेलाडीले पनि मासिक तलब पाउँदै आएका थिए ।
सहयोगी व्यक्तिहरुको नाम विज्ञप्तिमा उल्लेखित छ ।

