नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको पारिश्रमिकलाई लिएर भारतीय सञ्चार माध्यमहरुले जुन किसिमको घटिया समाचार सप्रेषण गरेका छन्, त्यसले नेपाली खेलाडीको मात्र नभई सम्पूर्ण नेपालीको अपमान भएको छ । एशिया कपमा नेपाल र भारतको भिडन्तपछि भारतीय मिडियाहरुले नेपाली खेलाडीको प्रशंसा गरेपनि उनीहरुले मासिक रुपमा पाउने पारिश्रमिकलाई आफ्नो मुलुकका ‘चपरासी’ले पाउने वेतनभन्दा पनि कम भएको भन्दै खिल्ली उडाएका छन्। जस्ले अन्तर्राष्ट्रियस्तरमा नेपाली क्रिकेट खेलाडी हासोको पात्र मात्र बनेका छैनन्, खेलाडीहरुको मान सम्मान र प्रतिष्ठामा समेत ठूलो कुठाराघात भएको छ ।
क्रिकेटको कुरा गर्दा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) भन्दा पनि धनी छ । यसको अर्थ विश्वकै धनी र सम्पन्न क्रिकेट बोर्डमा बीसीसीआई पर्छ । यस्तोमा नेपालले आफ्ना क्रिकेटरहरुलाई दिने मासिक पारिश्रमिकको तुलना बीसीसीआईले दिने पारिश्रमिकसङ्ग कदापी गर्न मिल्दैन । यदि यसरी तुलना गरिन्छ भने त्यो शतप्रतिसत गलत हुनेछ । हाम्रो जस्तो क्रिकेटमा उदीयमान राष्ट्र र अन्तर्राष्ट्रिय क्रिकेटमा बल्ल बामे सर्न थालेको मुलुकका खेलाडीलाई साहनुभुति प्रकट गरे झैं ‘चपरासी’को संज्ञा दिएर मुलुककै मान मर्दन गर्ने छुट भारतीय मिडियाहरुलाई कस्ले दियो? त्यो अहिले राष्ट्रकै लागि सम्वेदनशिल मुद्दा बन्न पुगेको छ ।
सर्वप्रथम ‘चपरासी’ भनेको के हो? त्यो बुझ्नु जरुरी छ । ‘हिन्दी भाषामा ‘चपरासी’ भनेको ‘पियन’ हो । यसरी नेपाली क्रिकेटरलाई भारतका पियनसङ्ग दाँज्नु आफैमा अशोभनिय छ । राष्ट्रिय क्रिकेट खेलाडी नेपालका हुन्, या भारतका उनीहरु खेलाडी हुन् । यहाँ कुनै पनि खेलाडीलाई पैसामा दाँज्न मिल्दैन । यसर्थमा कि उनीहरुले राष्ट्रको प्रतिनिधित्व गरिरहेका हुन्छन् । राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडी राष्ट्रको सम्पत्ति हुन्छ भने खेलाडीको लागि राष्ट्र नै सबैभन्दा ठूलो सम्पत्ति हुन्छ । यस्तोमा पैसाको खाडल खनेर राष्ट्रका खेलाडीको अपमान गर्दै विचलित गर्र्नु खोज्नु आफैमा लज्जाजनक कुरो हो । जुन भारतीय मिडियाहरुले शोसल मिडियामा पोस्ट गरेर छन् । त्यसमा स्वाभिमानी सम्पूर्ण नेपालीहरुको आपत्ति छ । सरकारले पनि कुटनितिक तरिकाले यो घटनाप्रति आपत्ति प्रकट गर्न सक्नुपर्छ ।
आवरणमा देख्दा यो घटना सामान्य होला, आखिर यो सत्य पनि हो । नेपाली क्रिकेटरले अन्य राष्ट्रका क्रिकेटरको तुलनामा निकै कम पारिश्रमिक पाउँछन्। यो पनि केहि वर्ष अघिदेखि मात्रै ए, बी, र सी ग्रेट छुट्याएर खेलाडीहरुलाई मासिक रुपमा पारिश्रमिक दिन थालिएको हो । हिजोसम्म सिस्तैमा राष्ट्रिय टोलीबाट खेल्दै आएका खेलाडीले यति रकम पाउनु पनि ठूलो उपलब्धिको कुरा हो । जस्लाई खेलाडीहरुले स्वागत गर्दै खेल्नको लागि मोटिभेसन भएको बताएका छन् । ‘जस्तो देश उस्तो भेष’ भने झैं नेपाली खेलाडीहरु आफुले पाएको पारिश्रमिकबट खुशी छन्, भने आखिर भारतीय मिडियाहरुको टाउको दुःखाई किन? यो सबै भारतको हेपाहा प्रवृतिको उपज मात्रै हो। जुन एक सार्वभौम सम्पन्न राष्ट्रका खेलाडीको लागि कदापी पाच्य हुन सक्तैन । सरकारले यो बरेमा सोच्नुपर्छ र राष्ट्रका खेलाडीको आत्मसम्मानमा चोट पुर्याउनेप्रति कडा प्रतिवाद समेत गर्नुपर्छ ।
साहानुभुति प्रकट गर्ने आडमा कसैको मान सम्मान र प्रतिष्ठामाथि कदापी खेलवाड गर्न मिल्दैन । भारतमा विश्वकै ढनाढ्य व्यक्तिहरु जति छन्, त्यो भन्दा लाखौं गुणा गरिब, खान नपाउने र भिकारी छन् । त्यसैले सर्वप्रथम ति व्यक्तिहरुलाई ‘चपरासी’को भएपनि जागिर दिन आवश्यक छ । त्यसैले अर्कातर्फ एक औंला उठाउँदा आफुतर्फ फर्किने चार औंलाको बारेमा सोच्दा नै भारतीय मिडियाको लागि उपयुक्त र सान्दर्भिक हुनेछ ।