काठमाण्डौं । नेपालले थाईल्याण्ड ओपन कराते च्याम्पियनसिप २०२३ मा सिनियरतर्फ एक कास्य पदक तथा जुनियर र क्याडेततर्फ ११ सहित १२ पदक जितेको छ ।
सेप्टेम्बर ६ देखि १० तारिखसम्म भएको प्रतियोगितामा सिनियरतर्फ (५५ के.जि) मा नेपालकी निमा तामाङ्गले एक मात्र कास्य पदक जितिन् ।
जुनियरतर्फ युथ १२ को ३५ के.जि तौल समूहमा मनिल श्रेष्ठ तथा ४० के.जि तौल समूहमा संयूना मगरले स्वर्ण पदक जितेका छन् ।
यस्तै जुनियरतर्फ युथ १४ मा एकल कातातर्फ राहन जाभेदले रजत पदक, युथ १२ तर्फ ३० के.जि तौल समूहमा बिबिशा अधिकारि, ३५ के.जि तौल समूहमा प्रलेश महर्जन, ४० के.जि तौल समूहमा अविधी विश्वकर्मा, (४५ के.जि तौल मा कविर शर्मा चौलागाईं र ४५ के.जि तौल समूह भन्दा माथिमा समुन मल्लले कास्य पदक जितेका छन् ।
यसैगरी जुनियरतर्फ उजिन पन्डित क्षेत्री (७६ के.जि) मा कास्य पदक र क्याडेततर्फ नेपालको लागि पुरुषतर्फको ७० के.जि भन्दा माथिको तौल समूहमा हार्दिक थपलियाले रजत पदक तथा जिसम लुङ्गेलीले कास्य पदक जित्न सफल भएका हुन् ।
प्रतियोगिता सम्बन्धि सम्पुर्ण जानकारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता तथा थाईल्याण्ड ओपन कराते प्रतियोगिताका प्रशिक्षक मन्डे काजी श्रेष्ठले गराएका हुन् ।