काठमाण्डौं । ११ औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३ खेल्नका लागि नाम दर्ता नगरिदिएको भन्दै तेक्वान्दो खेलाडीहरुले नेपाल तेक्वान्दो संघसङ्ग न्यायिक लडाई लड्ने चेतावनी दिएका छन् । कोरियन एम्बेसडर तेक्वान्दो च्याम्पियनसिपमा नाम दर्ता गर्नबाट बञ्चित गराएका खेलाडीहरुले सोमबार एक पत्रकार सम्मेलनको आयोजनागरि नेपाल तेक्वान्दो संघसङ्ग न्यायिक लडाई लड्ने चेतावती दिएका हुन् ।
हाल सम्मकै उच्च शुल्क तिरेर आफूहरुले कोरियन एम्बेसडरमा नाम दर्ता गराउन पहल गरेपनि संघले विभिन्न बहानामा ४० भन्दा बढि खेलाडीको नाम नै दर्ता नगरी फर्काइएको तेक्वान्दो खेलाडीले आरोप लगाएका छन् । संघले विना कारण आफूहरुको नाम दर्ता नै नगरि फिर्ता पठाएपछि यस बारेमा ईमेलमार्फत तेक्वान्दो संघसङ्ग प्रतिक्रिया माग्दा त्यसको कुनै सुनुवाई नभएपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको पीडित खेलाडीहरुले बताएका छन् ।
पीडित खेलाडीले विज्ञप्ति जारी गर्दै भनेका छन, ‘हामी आफु आवद्ध डोजाङ्गमार्फत नेपाल तेक्वान्दो संघले तोकेको विभिन्न शुल्क बुझाई संघले तोकेको मापदण्ड पुरागरी प्रतियोगितामा आबद्ध भएका खेलाडी हौं, तर संघले काखा पाखा लगाउने कार्य गर्यो, जसबाट खेलाडीहरु आफुले खेल्न पाउने हक बन्चित हुन पुगेका छन । त्यसैले खेलाडीहरुले खेल्न पाउने नैसर्गिक अधिकारलाई संघले न्यायोचित सम्बोधन नगरे न्यायिक लडाई लड्न बाध्य हुनेछौं।’
११ औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको आयोजकले पहिलो पटक जारी गरेको सुचना अनुसार भदौ १८ सम्म खेलाडी दर्ता गर्न सकिने थियो । तर साउन ३१ गते नयाँ सुचना जारी गर्दै भदौ ४ गतेसम्म खेलाडीले नाम दर्ता गरिसक्नुपर्ने जानकारी गराएको थियो । खेलाडीहरु संघले पछिल्लो पटक तोकेको मितिमै तेक्वान्दो संघमा नाम दर्ता गर्न गएपनि विभिन्न बहाना बनाएर नाम दर्ता गर्न नदिएको उनीहरुले आरोप समेत लगाएका छन् ।
तेक्वान्दो संघले भदौ १० गते ११ औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३ खेल्ने खेलाडीहरुको नाम सार्वजनिक गरेको थियो । संघले सार्वजनिक गरेको सूचीमा आफुहरुको नाम समावेश नभएको समेत उनीहरुले बताएका छन् । त्यसपछि उनीहरुले भदौ १० गतेको सुचनाको आधारमा भदौ १७ गते नेपाल तेक्वान्दो संघ र अध्यक्ष प्रकाशशम्शेर राणालाई हस्ताक्षरसहित पत्र पठाएको बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै कोटेश्वर डोजाङ्गका खेलाडी एलिस ठकुरीले नेपाल तेक्वान्दो संघका केहि पदाधिकारीहरुको आन्तरिक बिवादका कारण खेलाडीलाई खेल्नबाट बञ्चित गरिएको खुलासा गरेका छन् । त्यस्तै ठकुरीले संघ सबै खेलाडीको साझा थलो भएकोले सबै खेलाडीलाई समान व्यवहारका साथ खेल्न दिनुपर्ने बताए।
‘नेपाल तेक्वान्दो संघ सबैको साझा संघ हो, संघ आफैमा खराब होइन, संघ चलाउने व्यक्तिहरुको निरंकुशता हाबी हुँदै जाँदा संघ नै बदनाम बन्न पुगेको छ, यो गलत हो, एलिसले भने,‘यो प्रवृत्तिको अन्त्य हुनुपर्छ र हामी खेलाडीले स्वतन्त्र रुपले खेल्न पाउनु पर्छ।’
खेलाडीद्वारा जारी विज्ञप्ति: