संघको प्रशंसनिय शुरुवात, भलिबल खेलाडी खुशीले गदगद

नेपालीमा एउटा चर्चित उखान छ, ‘नहुनु भन्दा कानो मामा नै बेस्।’ अहिले यो उखानले नेपालका भलिबल खेलाडीहरुलाई न्यानो स्पर्श गरेको छ । नेपाल भलिबल संघले राष्ट्रिय भलिबल टोलीका महिला तथा पुरुष खेलाडीहरुलाई प्रोत्साहन गर्न र हौसला बढाउन जुन सकारात्मक कार्यको थालिनी गरेको छ, त्यसले अहिले भलिबल खेलाडीहरुमा नौंलो रक्त सञ्चार गरिदिएको छ । ढिलै भएपनि राम्रो कुरोको अनुशरण गर्दै भलिबल संघले महिला तथा पुरुष खेलाडीहरुलाई मासिक पारिश्रमिक दिने निर्णय गर्यो र दियो त्यो अहिले खेलकुद क्षेत्रमा प्रशंसाको विषय बन्न पुगेको छ । भलिबल संघको यो दुरदर्शि कार्यले यदि इच्छा शक्ति भएमा खेलकुद र खेलाडीको विकासमा केहि कुरो पनि असम्भव नहुने प्रमाणित गरिदिएको छ । यसको लागि भलिबल संघ साधुवादको पात्र बन्नुको साथै एक उदाहरणीय संघ समेत बन्न पुगेको छ । जस्ले खेलकुदका अन्य संघलाई समेत प्रेरित गर्न सक्ने देखिन्छ ।

‘भलिबल’ नेपालको ‘राष्ट्रिय खेल’ हो । र पनि, भलिबल खेल, त्यसका खेलाडी र पदाधिकारीहरुले त्यस्तो अनुभव गर्न भने अहिलेसम्म पाएका छैनन् । भलिबल संघले ‘राष्ट्रिय खेल’को संज्ञा पाएको अहिले थुप्रै वर्ष वितिसक्दा समेत राष्ट्रिय खेलको बृद्धि विकास र स्तोरोन्नतिका लागि नेपाल सरकार र सम्बन्धित निकायले खासै चासो राखेको देखिदैन र पाईदैन । सिमित स्रोत र साधनका बावजुद पनि भलिबल खेलाडी विशेष गरेर महिला टोलीले अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेको सफलता आफैमा गौरव र प्रशंसा गर्न लायक छ । जस्ले विश्व मानचित्रमा भलिबलको मात्र नभई राष्ट्रकै शान बढाउँदै अन्तर्राष्ट्रियस्तरमा नेपालको झण्डा फहराउन सफल भएको छ । छोटो समयमा हासिल गरेको यो उपलब्धिको अहिले जति प्रशंसा गरेपनि अपुग हुन्छ अर्थात्, पुग्दैन । दुर्भाग्य, सम्बन्धित निकायले यो दृष्य प्रत्यक्षरुपमा आत्मसात गरेपनि भलिबल खेलको विकास र विस्तारको लागि गम्भिर बन्न सकेको छैन । यो भलिबल खेलको तीतो सत्य हो, जुन घाम जस्तै छर्लङ्ग छ ।

नेपाल सरकारले भलिबल खेललाई ‘राष्ट्रिय खेल’को दर्जा दिदा निकट भविष्यमै यो खेलको कायपलट हुने विश्वास गरिएको थियो । गर्नुपनि स्वभाविकै थियो, यसर्थमा कि भलिबल खेल राष्ट्रकै ‘राष्ट्रिय खेल’ बन्न सफल भएको थियो । यस्तो अवस्थामा सरकारले राष्ट्रिय खेलप्रतिको उत्तरदायित्व बहन गर्दै विशेष प्राथमिकतामा राख्ने विश्वास गरिएको थियो । भलिबलका खेलाडी र पदाधिकारीहरु यहि कुरालाई अन्तरकुन्तरमा सजाउदै कलित समेत हुन पुगेका थिए । साँचो अर्थमा भन्नुपर्दा उनीहरु आशावादी नभई विश्वासवादी बनेका थिए, ‘अब भलिबलले अवश्य काँचुली फेर्ने छ, भलिबलमा बसन्त बहार आउने छ।’ दुर्भाग्य, यी सबै कुरामा सम्बन्धित निकायले अहिले कुनै ठोस पहलकदमी गरेको पाइएको छैन । भविष्यमा पनि गर्छ वा गर्दैन त्यसको पनि कुनै टुङ्गो छैन। जस्ले खेलाडी र पदाधिकारीहरुको मनमा ठूलो कुठाराघात भएको छ । र पनि, उनीहरुले सास रहेसम्म आश हुन्छ भन्ने कुरामा विश्वास राख्दै विश्वासको दियोलाई प्रज्ज्वलित गरिरहेका छन्। विषम परिस्थितिमा समेत सुन्दर सपनाको कल्पना गर्दै भलिबल खेललाई निरन्तररुपमा हातेमालो गर्दै अगाडि बढाई रहेका छन् । भलिबल खेलको लोकप्रियता र सुन्दरतामा चार चाँद लगाउँदै आएका छन् । यसको लागि संघका पदाधिकारी धन्यवादका पात्र बनेका छन् ।

नेपाली खेलकुदको पारिश्रमिकको चर्चा गर्दा अहिलेसम्म फुटबल, क्रिकेट र बुद्धीचालका पुरुष तथा महिलातर्फका नम्बर वान् खेलाडीले मात्रै मासिकरुपमा पारिश्रमिक पाउँदै आएका थिए। यी खेलाडीहरुलाई सम्बन्धित संघले नभई उनीहरुका अन्तर्राष्ट्रिय संस्थाले पठाएको रकमबाट पारिश्रमिक दिदै आएको हो । तर भलिबल संघले आफ्ना खेलाडीहरुलाई मासिक रुपमा प्रदान गरेको पारिश्रमिक खुद संघले आफ्नो मेहनतले जुटाएको हो । विदेशमा बस्ने भलिबलका पूर्व राष्ट्रिय खेलाडी र शुभचिन्तकले थोरै रकम पाँच हजार भएपनि भलिबल खेलाडीहरुका लागि मासिक रुपमा जोहो गरिदिएका हुन् । यसको लागि भलिबल संघले जसरी समन्वय गर्यो, त्यसले अहिले भलिबल खेलाडीहरुमा नयाँ जोश जाँगर उत्पन्न गराईदिएको छ । रकम थोरै किन नहोस्, पारिश्रमिक पाउने शुरुवात भएकोमा खेलाडीहरु खुशीले गद्गद् भएका छन् । उनीहरुले संघको यो कदमलाई खेलाडीहरुको सम्मानको संज्ञा दिदै आभार प्रकट समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्: राष्ट्रिय महिला तथा पुरुष भलिबल खेलाडीले मासिक तलब पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :