एसियाड खेल्ने नेपाली पुरुष भलिबल टोली चीनतर्फ

काठमाण्डौं । १९ औं एसियाली खेलकुद (एसियाड) मा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष भलिबल टोली चीन प्रस्थान गरेको छ।एसियाडमा भाग लिने नेपाली पुरुष भलिबल टोली शनिबार बिहान चीन प्रस्थान गरेको हो ।

आगामी असोज ६ देखि १८ गतेसम्म चीनको हाङझाउमा हुने एसियाडमा नेपालको पुरुष तथा महिला दुवै टोलीले सहभागिता जनाउँदै छन्। एसियाड अन्तर्गत पुरुष भलिबलका खेलहरु उद्घाटन समारोह भन्दा अघि असोज २ गतेदेखि नै शुरु हुने भएकोले नेपालको पुरुष भलिबल टोली अन्य टोली भन्दा पहिले चीन प्रस्थान गरेको हो ।

नेपालको पुरुष टोलीले नयाँ कप्तान मानबहादुर श्रेष्ठ र मुख्य प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ्गको नेतृत्वमा एसियाड खेल्दै छ।
एसियाड अन्तर्गत असोज २ देखि ९ गतेसम्म हुने पुरुष भलिबलको लागि नेपाल समूह समूह बी परेको छ । समूह चरणको खेलमा नेपालले एसियन पावर हाउस इरान र बहराइनको सामना गर्नेछ ।

नेपालले समूहको पहिलो खेल असोज २ गते बहराइन तथा समूहको अन्तिम खेल असोज ३ गते इरानसँग खेल्ने छ । समूह चरणपछि शीर्ष दुईमा रहन सके नेपालले नकआउट चरणमा स्थान पक्का गर्नेछ । यदि समूह चरणबाट नै बाहिरीए नेपालले अन्य खेल खेल्न पाउने छैन ।

एसियाड अन्तर्गत पहिला महिला भलिबलका खेलहरु भने असोज १३ देखि २१ गतेसम्म हुनेछ । जसमा नेपालले समूह चरणमा दक्षिण कोरिया र भियतनामको सामना गर्नेछ ।

नेपाली पुरुष भलिबल टोलीः

मानबहादुर श्रेष्ठ (कप्तान), विशालबहादुर विक, टेकराज अवस्थी, दुर्गाबहादुर खड्का, रविन चन्द, विनोद चन्द, लोकेन्द्रराज गिरी, हेमन्तबहादुर मल्ल, सफल विक, मनिष मानन्धर, धिरोजकाजी बस्नेत, सम्राट भण्डारी

मुख्य प्रशिक्षकः हान अबिङ्ग

प्रशिक्षकः भरत यादव

व्यवस्थापकः रोशन श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :