एशिया कप २०२३ को फाइनल खेल आज (आईतबार) हुँदैछ । १६ औं संस्करणको एशिया कपको उपाधिका लागि डिफेन्डिङ्ग च्याम्पियन श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा हुने यी दुई टोलीबीचको खेल नेपाली समयानुसार दिउँसो ३:१५ बाट शुरु हुनेछ ।
भारतबिरुद्ध मैदानमा उत्रिदै गर्दा श्रीलंका जितसहित लगातार दोश्रो पटक उपाधि रक्षा गर्ने दाउमा हुनेछ । श्रीलंकाले अघिल्लो संस्करणको फाइनलमा पाकिस्तानलाई पराजित गरेको थियो ।
यता एशिया कपको सर्वाधिक सफल टोली भारत आठौं पटक च्याम्पियन बन्ने दाउमा रहेको छ । भारतले पछिल्लो पटक सन् २०१८ मा एशिया कपको उपाधि जितेको थियो ।
१३ वर्षपछि श्रीलंका र भारतबीच एशिया कपको फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । श्रीलंका र भारतबीच यसअघि सन् २०१० मा एशिया कपको फाइनलमा भेट भएको थियो । त्यस भेटमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।
अहिलेसम्म श्रीलंका र भारतबीच सात पटक एशिया कपको फाइनलमा प्रतिस्पर्धा भएको छ । जसमा भारत चार तथा श्रीलंका तीन पकट च्याम्पियन बनेको थियो ।