आठौं साफको फाइनलमा पराजित हुनु ‘दुर्भाग्य’ को ठूलो हात रह्योः दीपक अमात्य

श्रीविक्रम भण्डारी

मात्र १३ वर्षको उमेरमा फुटबलमा हाम फालेका उनको फुटबलको यात्रा निकै रोचक छ । ‘डि’ डिभिजनमा फुटबलमा भित्रिएका उनी एकै पटक ‘सी’ र ‘बी’ नखेलिकनै ‘ए’ डिभिजनमा जम्प मार्न सफल भएका थिए । यसमा उनको उत्कृष्ट प्रतिभाले विशेष रोल प्ले गरेको थियो । यहि अद्वितिय प्रतिभाका कारण १८ वर्षको उमेरमा राष्ट्रिय फुटबल टोलीमा परेका उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । छोटो समयमै राष्ट्रिय टोलीको स्ट्राइकरको रुपमा छुट्टै पहिचान बनाएका उनले केहि समयपछि मिडफिल्डलाई चुनेका थिए । दुवै स्थानमा आफुलाई सशक्त र खरो रुपमा उतार्दै फुटबल प्रेमी माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थिए उनी । उनै सवैका प्रिय, शालिन, अनुशासित र उत्कृष्ट मिडमिल्डर दीपक अमात्यसङ्ग आजभन्दा २४ वर्ष अगाडि मेरोखेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले गरेको विशेष कुराकानीः–

० कहिलेदेखि फुटबल खेल्न थाल्नु भएको हो ?
– फुटबल खेल्न त सानैदेखि थालेको हुँ, स्कुल पढ्दादेखि नै खेल्ने गर्र्दथे । २०४० सालमा आएर थ्रीस्टारबाट ‘डि’ डिभिजनवाट खेले । त्यसपछि ‘सी’ र ‘बी’ डिभिजन नै नखेलि थ्रीस्टारबाटै ‘ए’ डिभिजन खेले ।

० अरु पनि थुप्रै खेलहरु थिए, फुटबललाई नै रोज्नुको कारण के थियो नी ?
– स्कुल पढ्दा टेबुलटेनिस अलि अलि खेलिन्थ्यो तर फुटबल बढी मनपर्ने भएर फुटबलतर्फ लागियो ।

० नेपालको राष्ट्रिय टोलीको जर्सी लगाएर कहिलेदेखि खेलिरहनु भएको छ ?
– म राष्ट्रिय टोलीको जर्सी लगाएर पहिलो पटक सन १९९२ मा खेल्ने अवसर पाएको थिए । तर त्यो भन्दा अघि नै सन १९८९मा जुनियर च्याम्पियनसिप र सन १९९० मा ओलम्पिक छनौट चरणमा राष्ट्रिय टोलीको जर्सी लगाएर खेलेको थिए । यसको अर्थ म करिव आठ वर्षदेखि राष्ट्रिय टोलीबाट खेलिरहेको छु।

० २०५६ सालको सर्वोकृष्ट खेलाडी स्वरुप ‘रुपक स्मृति पुरस्कार’ पाउँदा कस्तो महसुस भइरहेको छ ?
– ज्यादै खुशी लागेको छ । सानो देशको फुटबलको सवैभन्दा ठूलो पुरस्कार पाउँदा खुशी लाग्नु स्वभाविकै हो । फुटबलमा योगदान, अनुशासन र प्रदर्शनगरि तीनवटा आधारहरु राखेर छनौट गरिने यो पुरस्कारको लागि म उत्कृष्ट देखिएरै होला सम्वन्धित निकायले मलाई पुरस्कृत गरेको ।

० रुपक स्मृति पुरस्कार पाउनु भनेको राष्ट्रिय फुटबल टोलीबाट बिदा पाउनु हो भनिन्छ, यो बारेमा तपाईको के धारणा छ ? अँझै राष्ट्रिय टोलीबाट कति वर्ष खेल्ने विचार छ ?
– रुपक स्मृति पुरस्कार पाएपछि राष्ट्रिय टोलीवाट विदा पाउनु कदापी होइन । तर समयले यस्तै परिस्थितिको सिर्जना गरिदियो जुन गलत कुरा हो । अव मेरो पालादेखि त्यो कुप्रथा हट्ने मैले विश्वास लिएको छु । मेरो वारेमा भन्नुपर्दा मैले पुरस्कार पाएपछि सन्यास लिने कुनै सोच बनाएको छैन । म अँझै राष्ट्रिय फुटबल टोलीवाट दुई चार वर्ष अँझै खेल्छु ।

० तपाईले खेलेको धेरै प्रतियोगिताहरुमध्य आफुले उत्कृष्ट प्रदर्शन गरेजस्तो लागेको प्रतियोगिता कुन हो ?
– विश्वकप छनौट प्रतियोगिता अन्तर्गत जापानमा भएको मकाउबिरुद्धको खेल उत्कृष्टताले हिसावले मलाई अहिले सम्मकै राम्रो प्रदर्शन लाग्छ । यद्यपी मेरो एक गोलका बावजुद पनि हामीले उक्त खेल २–१ ले हार्यौं । त्यस्तै दुई वर्ष गभर्नस गोल्ड कप (सिक्किम) मा विजय हुँदाको आफ्नो उत्कृष्ट प्रदर्शनलाई पनि म भुल्न सक्तिन ।

० नेपाली फुटबलको विकासमा एन्फाले अघि सारेका कार्यक्रमहरुले भविष्यमा कस्तो प्रभाव पार्ने देख्नु भएको छ ?
– अवको दुई तीन वर्षपछि नेपाली फुटबलको कथा बेग्लै हुने छ । विशेषतः अण्डर १२ का प्रतिभाहरु जो अहिले १४ वर्षका पुगिसकेका छन, १६ वर्षका माथि भएपछि राष्ट्रले उनीहरुवाट ठूलै सफलता प्राप्त गर्न सक्छ । उनीहरुले हामीहरुको भन्दा राम्रो प्रदर्शन गर्नेछन र गर्नुपर्छ पनि । किनकि हामीले जति सुविधा भोगिरहेका छौं त्यसको दोब्वर सुविधा उनीहरुलाई प्राप्त छ । जस्तो कि टे«निङ, ग्राउण्ड, बस्ने, खाने, पढ्ने सुविधा र पौटिक खाना । यी कुरावाट चिन्ता मुक्त खेलाडीहरुको प्रदर्शन अवश्य उत्कृष्ट हुन्छ । त्यसमाथि दैनिक प्रशिक्षण र विदेशी प्रशिक्षण पनि यी खेलाडीहरुले पाइरहेका छन ।

० नेपाली फुटबलको स्तरबृद्धिमा विदेशी प्रशिक्षकहरुले कस्तो भूमिका निभाउन सक्छन ?
– प्रशिक्षक स्वदेशी अथवा विदेशी भन्ने कुरै आउँदैन । प्रशिक्षक आफैमा क्वालिफाइड हुन्छन भने उ स्वदेशी होस कि विदेशी केहि फरक पर्दैन । हाम्रा नेपाली प्रशिक्षकहरु पनि क्वालिफाइड छन तर उनीहरुले धेरै कुराहरुमा कम्प्रोमाइज गर्नुपर्ने हुन्छ ।

० कोरियन प्रशिक्षकले तपाई माथि गरेको दुव्र्यवहारको चुरो कुरो के हो ?
– वास्तमा कोरियन प्रशिक्षकलाई दीपक अमात्य कस्तो खेलाडी हो र उ कति डेडिकेटेड तथा अनुशासित छ भन्ने कुरा थाहा हुन सकेन । त्यो १० दिनमा थाहा हुने कुरा पनि भएन । तर एक जना नेपाली सहायक प्रशिक्षकले कोरियन प्रशिक्षकलाई गलत कुरा लगाएर उकासेको रहेछ । त्यसैले यस्तो घटना घट्न पुगेको हो ।

० राष्ट्रिय फुटबल टोलीमा टीम भावनाको अभाव रहेको सुनिन्छ, के यो साँचो हो ?
–सन् १९९६ देखि १९९८ को शुरुवातसम्म यो समस्या थोर बहुत थियो । तर जव हामी एन्फा ११ को नामवाट सिक्किम पुगेर गभर्नस कपमा गोल्डकपमा विजयी भयौं त्यसबेला देखि हामीमा गजबको टीम भावना जागेको छ ।

० आठौं साफको फाइनलमा नेपाल पराजित हुनुलाई तपाईले कसरी लिनु भएको छ ?
– आठौं साफमा स्वर्ण पदक नजितेपनि हामीले उत्कृष्ट खेलको प्रदर्शन गर्दै रजत पदक जितेका थियौं । जहाँसम्म फाइनलमा पराजयको कुरा छ, सर्वप्रथम म टीम क्याप्टेन हुँदाहुँदै पनि मलाई आधाभन्दा बढी समय बेन्चमा राखियो । जस्ले मलाई ज्यादै दुःखित तुल्यायो, किन यस्तो गरियो त्यो मलाई अहिलेसम्म थाहा छैन । फिजिकली अनफिट भएको हाप टाइमपछि खेलाउनु नपर्ने हो । पराजित हुनुमा चाहिँ हाम्रो दुर्भाग्यको ठूलो हात रह्यो ।

० पहिले र अहिलेको फुटबलमा कस्तो परिवर्तन पाउनु भएको छ ?
– अहिले धेरै परिवर्तन भइसकेको छ । पहिले हरेक खेलाडीको एउटा निर्दिष्ट स्थान हुन्थ्यो, अहिले त्यस्तो छैन । अहिले हरेक खेलाडी हरेक पोजिसनवाट खेल्ने सक्ने हुनुपर्छ ।

० पहिले र अहिलेका फुटबल खेलाडीहरुलाई कसरी तुलना गर्नुहुन्छ ?
– पहिले भन्नाले सन १९९३ मो साफमा गोल्ड मेडल जित्नुमा आठ नौ वर्ष अगाडिकै फुटबल खेलाडीहरुको देन रह्यो । त्यतिबेला फुटबलमा खासै सुविधा थिएन । त्यसपछि बिचमा हाम्रो टीम अन्तर्राष्ट्रियस्तरमा निकै असफल रह्यो । तर आठौं साफवाट पुनः हामीले नेपाली फुटबलको गुमेको स्थान पाउन सफल भएका छौं । जस्ले अहिलेको समयको सफलता मान्न सकिन्छ । यो भन्दा ठूलो सफलता र उपलब्धि हासिल गर्न अँझै केहि वर्ष कुर्नै पर्छ ।

० तपाई मिडफिल्डमा आफ्नो इच्छा अनुरुप खेल्नु भएको हो कि, प्रशिक्षकले त्यहाँवाट खेल्न निर्देशन दिएका हुन ?
– पहिला त म स्ट्राइकर नै थिए र यहि पोजिशन मन पथ्र्यो । तीन वर्षसम्म राष्ट्रिय फुटबल टोलीवाट स्ट्राइकरको रुपमै खेलियो पनि । तर खेलाडी जति अनुभवी र स्कीलफुल हुँदै जान्छ उसलाई मिडफिल्डमा ल्याइन्छ र खेलाइन्छ । यो एउटा ‘कि’ ठाउँ हो । यहिवाट महत्वपूर्ण अवसरहरुको सिर्जना गरिन्छ। अहिले त मलाई मिडफिल्ड नै मनपर्छ ।

० कुनैपनि प्रतियोगितामा पराजित हुँदा प्रशिक्षक र खेलाडीलाई मात्र दोषारोपण गर्नु कत्तिको उपयुक्त हो ?
– कुनैपनि खेलमा राष्ट्रिय टीम पराजित हुँदा त्यो देशको प्रशिक्षक, खेलाडीका साथै फुटबल संघ पनि जिम्मेवार हुन्छ । किनकि संघ, प्रशिक्षक र खेलाडी सवै एक अर्काका पुरक हुन । अर्को कुरा के छ भने जसरी टीम पराजित हुँदा खेलाडी र प्रशिक्षकले अपजस पाउँछन विजय हुँदा पनि सवै क्रिडिट पनि उनीहरुले नै पाउने हुँदा सन्तोष गर्नु पर्दछ ।

० तपाईले दुईवटा जेनेरेशनसङ्ग फुटबल खेलिसक्नु भयो, पहिला खेलाडी र अहिले युवा खेलाडीका विचमा के अन्तर पाउनु भएको छ ?
– पुराना खेलाडी नयाँ खेलाडीको दाँजोमा ‘मेन्टली’ र ‘टेक्नीकली’ राम्रा थिए भने अहिलेका युवा खेलाडी पुरानाभन्दा शारिरीक रुपमा बढी सशक्त छन । साथै उनीहरु स्कीलफुल पनि छन ।

० निकट भविष्यमै नेपाली फुटबल टोली एशियन कप छनौट खेल खेल्न कुवेत जाँदैछ, त्यहाँ नेपालले कस्तो प्रदर्शन गर्ने विश्वास लिनुभएको छ ?
– हामी एशियन कप छनौटमा कुवेत, तुर्केमेनिस्तान जस्ता सशक्त ‘अपोनेन्ट’ हरुको समुहमा परेका छौं । भुटान पनि त्यहि समुहमा छ । भुटानसङ्ग भने हामीले जित्ने खेल खेल्नु पर्छ । अन्य देशसङ्ग राम्रो प्रदर्शन गरि प्रतिस्पर्धात्मक खेल खेल्न सक्नुपर्छ ।

० अण्डर १२ का प्रतिभाहरु र तपाईहरुविचको समयको सन्तुलन बनाई राख्न एन्फाले के गर्नु पर्ला ?
– यथेष्ट ट्रेनिङ्ग, धेरै प्रतियोगिताहरुको आयोजना भइरहनु पर्छ । साथै हामीले ठूला प्रतियोगिताको लागि तयारी गर्दा कुन देशसङ्ग कस्तो खेल खेल्ने भन्ने रणनीति बनाउनु पर्छ । जस्तो भारत र भुटान दुवै हाम्रा प्रतिद्वन्दी हुन, दुवै देश विरुद्ध एउटै रणनिति बनाएर मैदानमा जानु सरासर मूर्खता ठहर्छ । त्यसैले खेलाडीहरुलाई ‘बेसिक निड्स’ उपलब्ध गराई राख्नुपर्यो ।

० तपाई सरकारवाट कुनै विशेष सम्मानको आशा राख्नु भएको छ ?
– सर्वप्रथम त आठौं साफको प्रदर्शन र रजत पदकका कारण सरकारवाट गोरखा दक्षिण बाहुवाट सम्मानित हुन पाउँदा ज्यादै खुशी छु । त्यसैले विभिन्न संघसंस्था र सरकारले पनि सम्मान गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :