काठमाण्डौं । अण्डर १९ पुरुष साफ च्याम्पियनसिप फुटबल खेल्ने भुटानको टोली नेपाल आईपुगेको छ । अण्डर १९ पुरुष साफ च्याम्पियनसिप खेल्ने भुटानको टोली मंगलबार बिहान नेपाल आईपुगेका हुन् ।
भुटानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । अण्डर १९ पुरुष साफ च्याम्पियनसिप यहि सेप्टेम्बर २१ देखि ३० अर्थात् असोज ४ देखि १३ गतेसम्म काठमाण्डौंमा आयोजना हुँदैछ ।
प्रतियोगिताको सबै खेल काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् । च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले असोज ४ गते पाकिस्तानसँग खेल्ने छ।
प्रतियोगिता अन्तर्गत नेपाल समूह ए मा रहेको छ । समूह ए मा नेपालसँगै पाकिस्तान र माल्दिभ्स रहेका छन् । नेपालले दोश्रो खेल असोज ८ गते माल्दिभ्ससँग खेल्ने छ।
यस्तै समूह बी मा भारत, बंगलादेश र भुटान रहेका छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल असोज १० र फाइनल खेल असोज १३ गते हुनेछ।
अण्डर १९ पुरुष साफ च्याम्पियनसिपको यो पाँचौं संस्करण हो । नेपाल शुरुवाती दुई संस्करणको च्याम्पियन टोली हो ।