काठमाण्डौं । १९ औं एसियाली खेलकुद (एशियाड) अन्तर्गत पुरुष भलिबलको पहिलो खेलमै नेपाल पराजित भएको छ । चीनको हाङझाउस्थित सिएक्ससी जिम्नाजियममा मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाल बहराइनसँग ३-१ को सेटमा पराजित बनेको हो ।
खेलमा बनाएको सुरुवाती अग्रतालाई जोगाउन नसक्दा नेपालले पराजय व्यहोरेको हो । पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको नेपालले त्यसपछि लगातार तीन सेट गुमाउँदै हार व्यहोर्यो ।
नेपालले पछिल्ला तीन सेट क्रमशः २०-२५, १८-२५ र १५-२५ ले गुमायो । एसियाड अन्तर्गत असोज २ देखि ९ गतेसम्म हुने पुरुष भलिबलको लागि नेपाल समूह समूह बी मा रहेकोछ ।
समूह चरणको दोश्रो खेल नेपालले असोज ३ गते बुधबार इरानसाग खेल्ने छ । समूह चरणपछि शीर्ष दुईमा रहनसके नेपालले नकआउट चरणमा स्थान पक्का गर्नेछ । यदि समूह चरणबाट नै बाहिरीए नेपालले अन्य खेल खेल्न पाउने छैन।
एसियाड अन्तर्गत महिला महिला भलिबलका खेलहरु भने असोज १३ देखि २१ गतेसम्म हुनेछ । जसमा नेपालले समूह चरणमा दक्षिण कोरिया र भियतनामको सामना गर्नेछ ।