माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी अण्डर-१९ पुरुष साफ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको आफ्नो दोस्रो तथा समूह ए को अन्तिम खेलमा माल्दिभ्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।

खेलको १७ औं मिनटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका थिए। ३०औं मिनटमा समिर तामाङ्गको गोलबाट नेपालले २-० को अग्रता लिएको थियो।

५८ औं मिनटमा माल्दिभ्सका लायन रसिदले गोल गरेपछि खेल २-१ को स्थितिमा पुगेको थियो ।

८७ औं मिनटमा निराजन धामीले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए।

त्यसपछि इन्जुरी समयमा समिरले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४-१ को सहज जित दिलाए ।

जितसङ्गै नेपाल समूह ए को उपविजेताको रुपमा अन्तिम चारमा पुगेको हो।

पहिलो खेलमा पाकिस्तानसङ्ग १-० ले पराजित भएको नेपाल आजको जितसङ्गै २ खेलबाट ३ अंकका साथ समूहको दोस्रो स्थानमा रहदै अन्तिम चारमा पुगेको हो ।

दुई मध्य एक जित तथा एक खेलमा बराबरी नतिजासहित ४ अंघ जोडेको पाकिस्तान यस समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगिसकेको छ।

यता पाकिस्तानसङ्ग पहिलो खेलमा १-१ गोलको बराबरी खेलेको माल्दिभ्स आजको हारसङ्गै १ अंकका साथ समूहको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरीएको छ।

आज नै समूह बीको अन्तिम खेलमा भारत र भुटानबिच प्रतिस्पर्धा हुँदैछ। यस समूहबाट लगातार दोस्रो हार व्यहोर्दै बंगलादेश बाहिरीएपछि यी दुई टोली यसअघि नै सेमिफाइनल पुगिसकेको छ।

आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ। यी दुई टोलीबिचको खेल साँझ ५:३० बजे शुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :