काठमाडौं । महिला ह्यान्डबलमा नेपाल बुधबार जापानसँग पराजित भएको छ।
समूह बी अन्तर्गत जेजियाङ नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा भएको खेलमा नेपाल जापानसँग ६२–१० ले पराजित भयो।
पहिलो हाफमा ६ गोल गरेको नेपालले दोश्रो हाफमा ४ गोल गरेको थियो । समूह चरणको पहिलो खेलमा नेपाल आयोजक चीनसंग ५७–१० ले पराजित भएको थियो। एसियाडको महिला ह्यान्डबलमा नेपालको यो पहिलो सहभागिता हो।
यस्तै तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती सकिसकेको छ। बुधबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
नेपालका अभिषेक बराल पुरुष ८० केजीको अन्तिम ३२ मा अफ्गानिस्तानका ओमिद साहाकसँग २–० ले पराजित भए । अभिषेक साहकसँग पहिलो चरणमा ११–१ र दोस्रो चरणमा १५–२ ले पछि परे।
पुरुष ६८ केजीमुनि वीरबहादुर महारा अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउसँग २–० ले नै पराजित भए । पहिलो चरणमा १०–० ले पछि परेका वीरले दोस्रो चरणमा केही सुधार गरेपनि १२–८ ले पछि परे।
महिला ६७ केजीमुनि इन्दिरा बस्नेत अन्तिम १६ इरानकी मेलिका मिरहोसेनी भाकिली २–० ले निराश भइन् । उनी १४–१ र ९–० ले पराजित भइन्।
अब एक खेलाडीको स्पर्धा बाँकी छ। पुरुष ८० केजीमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।