फाइनल खेल्ने सम्भावना कायम राख्न इज्वेकिस्तानसँग खेल्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी सेन्ट्रल एसियन (काभा) पुरुष च्यालेन्ज कप भलिबल २०२३ अन्तर्गत नेपालले आज (शनिबार) लिग चरणको आफ्नो पाँचौ तथा अन्तिम खेल खेल्दै छ।

श्रीलंकास्थित सुगाथादसा इन्डोरमा आज हुने आफ्नो पाँचौ खेलमा नेपालले उज्वेकिस्तानविरुद्ध खेल्न लागेको हो।

नेपाल र उज्वेकिस्तानबिचको खेल नेपाली समयानुसार साँझ ६:४५ बाट शुरु हुनेछ।

आजको खेल जिते नेपालले शिर्ष दुईमा स्थान बनाउने सम्भावना रहन सक्छ। तर यसका लागि नेपालले अरु खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ।

किनकि चौथो खेलमा साउदी अरेबियासँग ३-२ को सेटमा पराजित भएको नेपालको आजको खेल जितेपनि शिर्ष दुईमा रहदै फाइनल खेल्ने सम्भावना भने ज्यादै न्यून रहेको छ।

त्यसअघि पहिलो खेलमा बंगलादेशलाई ३-१ को सेटमा हराएको नेपाल दोस्रो खेलमा भने घरेलु टोली श्रीलंकासङ्ग ३-० को सोझो सेटमा पराजित हुँदा तेस्रो खेलमा अफगानिस्तानलाई ३-२ को सेटमा हराएको थियो।

समान ४ खेलबाट १० अंक जोडेको घरेलुटोली श्रीलंका, ९ अंकसहित उज्वेकिस्तान दोस्रो, समान ६ अंक रहेको अफगानिस्तान तेस्रो र नेपाल चौथो स्थानमा छ । पाँचौं स्थानको साउदीको ३ र बंगलादेशको २ अंक छ।

राउन्ड रोविन लिगको आधारमा जारी प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।

राउन्ड रोविन लिगपछि अंक तालिकाको शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि भिड्नेछन्।

यस्तै त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :