काठमाडौं। सञ्जय कपालीले छैटौं आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार स्वर्ण जितेका छन्।
पुरानो सिनामंगल– ३२ स्थित टाउन प्लानिङमा भएको फाइनलमा सञ्जयले बविन केसीलाई २१–९ र २१–१५ को सोझो सेटमा पराजित गरे ।
पिस फिट्नेस सेन्टर (पीएफसी) द्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा उमेश धिताल र राजेन्द्र थापाको जोडीले फाइनलमा श्याम थापा र रुपेन गुरुङको जोडीलाई सीधा सेटमा २१–१२ र २१–१९ ले हराए ।
भेट्रान डबल्स पुरुष ५० वर्षमाथि पिताम्बर तिम्सिना र प्रकाश थापाको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा भोला वाग्ले र सुवास प्रसाईंको जोडीलाई २१–१२ र २३–२१ ले पाखा लगाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच ट्रफी, पदक र नगद पुरस्कार प्रदान गरे ।
असोज २५ गतेदेखि विजयीदशमीको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो।