काठमाडौं। नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई सोमबार २ लाख नगदसहित सम्मान गरेका छन् ।
चीनको हाङझावमा भएको एसियाली खेलकुदमा कराते टोलीका व्यवस्थापक समेत रहेका वैद्यले हाङझाव एसियाडमा कारते खेलाडीले पदक जिते व्यक्तिगत नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए ।
पूर्व घोषणा बमोजिम वैद्यले एरिकालाई पाटनस्थित अशोक हलमा आयोजित एक कार्यक्रमबीच नगद पुरस्कार प्रदान गरेका हुन् । एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएकी हुन् । एसियाली खेलकुदमा नेपालले करातेमा पहिलोपटक रजत पदक जितेको हो । हाङझाव एसियाडमै नेपालले दुई पदक जितेको थियो । महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।
एरिकाले सेमिफाइनलमा हङकङकी यानकाई होलाई ८–४ अंकले हराउँदै स्वर्ण भिडन्त पक्का गरेकी थिइन् । फाइनलमा भने एरिका काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अंकले पराजित भइन् ।
त्यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन्। एसियाडको इतिहासमा एरिकाकोसहित नेपालको समग्रमा तेस्रो रजत हो । एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई पहिलो रजत पदक दिलाएकी थिइन् । सविताले सन् १९९८ को बैंकक एसियाडमा व्यक्तिगत स्पर्धामा रजत जितेकी थिइन् ।
त्यस्तै इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदको प्याराग्लाइडिङमा नेपाली पुरुष टोलीले टिम स्पर्धामा रजत जितेको थियो । एसियाडको कारतेमा एरिकाअघि समरबहादुर गोले, सीताकुमारी राई र विमला तामाङले कांस्य जितेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र वैद्यले एरिकालाई नगद, प्रशंसा पत्र र पुष्पगुच्छा प्रदान गरी सम्मान गरे । सो अवसरमा एसियाडको करातेमा सहभागी खेलाडी र प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा सदस्य–सचिव घिसिङले यो सम्मान सुरुआत मात्र भएको बताउदै सरकारले दिने नगद पुरस्कार पनि छिट्टै प्रदान गर्ने प्रतिबद्धता जनाए ।‘आजको यो सम्मान सुरुआत मात्र हो । व्यवस्थापकबाटै सुरुआत भएको छ । यसलाई शुभ मान्नु पर्छ । एसियाडमा रजत जित्ने खेलाडीलाई कानूनमा व्यवस्था भए बमोजिमको १९ लाख ५० हजार नगद पुरस्कार पनि सरकारबाट छिट्टै एरिकाले पाउनु हुनेछ ।’ सदस्य–सचिव घिसिङले भने– ‘पुरस्कारले खेलाडीलाई उर्जा त थप्छ नै । खेलाडीले पुरस्कारलाई उर्जाका साथै जिम्मेवारी पनि थपिएको छ भन्ने महशुस गर्नु पर्छ ।’
सांसद महर्जनले एरिकाले हासिल गरेको सफलताले सिंगो राष्ट्रलाई खुशी तुल्याएको धारणा व्यक्त गरे। कराते महासंघका अध्यक्ष लामाले यदि थप सफलता हासिल गर्ने हो भने २० औं एसियाली खेलकुदको तयारीका लागि अहिलेदेखि तयारीमा जुट्नु पर्नेमा जोड दिए ।
ऐतिहासिक रजत विजेता १९ वर्षीया एरिकाले सम्मानित भएपछि भनिन्– ‘मैलै जितेको पदक मेरो भन्दा पनि पहिले राष्ट्रको हो । राष्ट्रिय खेलकुद परिषद्को हो । नेपाल कराते महासंघको हो । सारा नेपालीको हो । मेरो टिमको हो । अनि त्यसपछि मात्र मेरो पदक हो । सहयोगका लागि राष्ट्रिय खेलकुद परिषद् र कराते महासंघलाई धन्यवाद । सम्मानले थप खुशी बनाएको छ । आगामी दिनमा अझ सफलता हात पार्न प्रेरित गरेको छ ।’ एरिकाले व्यवस्थापक वैद्यको सहयोगको पनि खुलेरै प्रशंसा गरिन् ।
वैद्यले एरिकाको सफलताले नयाँ खेलाडीलाई पनि खेलमा लाग्न अभिप्रेरित गर्ने बताउदै नेपाली खेलाडीले पनि अवसर पाए सफलता हासिल गर्न सक्छन् भन्ने उदहारण एरिकाले प्रस्तुत गरेको बताए।