यतिबेला नेपाली फुटबलमा ‘हरि खड्का’ सुपरिचित नाम हो । स्टार स्ट्राइकरको रुपमा परिचित खड्का निकै छरिता र फुर्तिला स्ट्राइकरको रुपमा नेपाली फुटबलमा आफ्नो छाप छोड्न सफल छन् । खड्का फुटबलको मैदानमा जसरी नेपाली फुटबल प्रेमीहरुलाई उत्तेजित बनाउँछन्, सोहि वमोजिम गोल गर्न पनि माहिर छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गोल गरेर वाहवाहि बटुलेका खड्का यतिबेला नेपाली फुटबलको ढुकढुकी नै बनेका छन् । यसरी छोटो समयमै उत्कृष्ट प्रदर्शन गर्दै फुटबल प्रेमीहरुको मन मस्तिष्कमा बस्न सफल उनै चर्चित स्टार इस्ट्राइकर हरि खड्कासङ्ग नेपाली फुटबलका विभिन्न पक्षहमा केन्द्रीत रहेर मेरोखेल डटकमका प्रधान सम्पादक श्रीविक्रम भण्डारीले २०५६ साल अर्थात् आजभन्दा २४ वर्ष अगाडि गरेको कुराकानी:
परिचयः
नाम – हरि खड्का
जन्मस्थानः– कलबलगुढी, चन्द्रगढी झापा
बुबाको नामः– ललितबहादुर खड्का
विवाहितः–अविवाहित
पहिलो क्लब – मुनाल क्लब (चन्द्रगढी)
फुटबल खेल्न थालेको उमेरः–७-८ वर्ष
आफुले गरेको उत्कृष्ट गोलः–आठौं साफमा सेमिफाइनलमा माल्दिभ्सविरुद्ध गरेको गोल
जम्मा गोल गरेको संख्याः–अन्तर्राष्ट्रिय करिब (१५–२०) राष्ट्रिय (करिब १००–१३०)
हालको क्लबः–महेन्द्र पुलिस क्लब
मनपर्ने पुलिस खेलाडीः–राकेश श्रेष्ठ
मनपर्ने नेपाली खेलाडीः– वसन्त गौचन
मनपर्ने अन्तर्राष्ट्रिय खेलाडीः–माइकल ओवेन
विद्यालयः–वीरेन्द्र मावि चन्द्रगढी
क्याम्पसः–मेची बहुमुखी क्याम्पस, भद्रपुर
सुखको क्षणः– पहिलोपल्ट राष्ट्रिय टिममा पर्दा
दुःखको क्षण – आठौं साफमा पराजित हुँदा
भविष्यको लक्ष्य – प्रशिक्षक बन्ने
० फुटबल खेल नै किन रोज्नुभयो ?
– यो एकदमै लोकप्रिय खेल भएको र आफ्ना दौंतरीहरू पनि यसै खेलतर्फ आकर्षित भएका हुँदा मैले पनि फुटबल नै रोज्न पुगे ।
० तपाईंको सफलताको रहस्य के हो ?
– मेरो मेहनत र लगनशिलता ।
० तपाईंको सफलतामा होल्गर ओभरम्यानको कत्तिको हात छ ?
– उहाको ठूलो हात छ । यदि उहाले मलाई निष्पक्ष तरिकाले सेलेक्सन गरेर जर्मनी प्रशिक्षणमा नलगेको भए म अहिले सायद गाउँमा वडास्तरीय गेम खेलिरहेको हुन्थें ।
० पहिलोपल्ट तपाईंलाई कुन प्रतियोगिता र कुन क्लबले राष्ट्रियस्तरमा चिनायो ?
– प्रतियोगितामा ‘वार्थ डे’ कप १९९६ र एनआरटी क्लबले ।
० तपाईं एनआरटीमा कसरी पुग्नुभयो ?
– मेरो गाउँको दाई गम्भीरमान राई एनआरटीमा खेल्ने गरेको हुँदा उहाँमार्फत् नरेन्द्रमान श्रेष्ठले मलाई बोलाउनुभयो र म त्यहाँ अनुबन्धित भएँ ।
० तपाईंलाई एनआरटीको उपज भन्छन् नी ?
– एनआरटीले मलाई पहिलोपटक हाइलाइट गर्यो र महेन्द्र पुलिस क्लबले मेरो प्रतिभा निखार्ने काम गर्यो । तथापि, म जर्मन नेपाल युवा फुटबल परियोजनाको उपज हुँ।
० महेन्द्र पुलिस क्लबमा कसरी पुग्नुभयो ?
– नेपालमा अन्य क्लबहरूमा खेलेर लाइफ सेक्यूयर देखिन । त्यसैले आफ्नो भविष्यका लागि नेपाली सेनाको त्रिभुवन क्लब या महेन्द्र पुलिस क्लबमा जाने सोचाइ बनाएँ । आर्मीमा सेकेन्ड लेफ्टिनेन्ट पाइन । त्यसैले पुलिसमा असईमा गए । फेरि मेरै गाउको दाजु धिरेन्द्र प्रधानले पनि मलाई पुलिसमा जान उत्प्रेरित गर्नुभएको थियो।
० आठौं साफको पराजयलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?
– त्यो हाम्रो दुर्भाग्य थियो । मैले हानेको बल बिममा नलागेको भए हामी निश्चय पनि विजयी बन्ने थियौं । मैले सोचे त्यो बल गोल भयो र म लाइन्समेन्सले झण्डा उठाउला कि भनेर हेर्न थाले । यदि मैले फलो गरेको भए त्यो बल फेरि भेट्न पनि सक्दथे ।
० भारतविरुद्धको एकतर्फी खेलको पराजयलाई कसरी लिनु भएको छ ?
– भारत हामीभन्दा धेरै माथि छ । त्यो खेलमा हामी डिफेन्सिभ खेलेर काउन्टर अट्याकमा जानुपर्दथ्यो । तर प्रशिक्षक कन्सटेनटाइनले ाट्याकिङ्ग खेल्न लगायो । उता भारतीयहरू काउन्टर अट्याकमा ओर्लिएर बढी गोल गर्न सफल भए ।
० प्रशिक्षक कन्सेनटाइनको विषयमा तपाईको के राय छ ?
– उहाँले हामीलाई राष्ट्रियताको पाठ सिकाउनुभएको छ । उहाँ आफु विदेशी भएर पनि प्रत्येक म्याच हुनुअघि राष्ट्रिय धुन, गीत आफ्नै क्यासेटमा ल्याएर बजाउनु हुन्छ । उहाँले पनि “हट्ने होइन, डटी लड्ने“ भन्दै राष्ट्रको लागि खेल्नुपर्छ, भन्ने भावना पनि जगाइदिनुभएको छ । टेक्निकल्ली पनि उहाँ उत्कृष्ट हुनुहुन्छ ।
० आठौं साफमा ‘यामहाा‘ को दौडमा आफू छु जस्तो लागेको थियो कि थिएन ?
– शुरुमा त म नै दाबेदार हुँला जस्तो लागेको थियो । तर पछि चाँदीको जुत्ता पाएपछि चाहिं यामाहा वसन्त गौचनकै भयो भन्ने लाग्यो । हामी दुर्इ बाहेक मेरो विचारमा कुमार थापा पनि यामाहाको दौडमा थिए । गौचनले दर्शकहरूले मनपराउने गेम खेलेका थिए भने कुमार थापाले टिमको लागि उपयोगी गेम खेलेका थिए । जेहोस्, वसन्तले यामाहा पाउँदा मलाई त्यति नै खुसी लागेको छ, जति स्वयं मैले पाउँदा लाग्दथ्यो ।
० तपाईं अहिले भारतको मोहन बगानमा महिनाको ७५ हजार भारुमा अनुबन्धित हुनुभएको छ, जुन कुनै पनि नेपाली फुटबलरले पाएको सर्वाधिक बढी रकम हो? कस्तो लागिरहेको छ ?
– यति धेरै फुटबलरहरू भए तापनि आफू नै सबैभन्दा महंगो फुटबलर बन्न पाउँदा खुसी नलाग्ने त कुरै भएन ।
० विदेशी क्लबहरूमा खेल्दा के–के फाइदा पाइन्छ ?
– पहिलो कुरा आर्थिक फाइदा त छंदैछ । त्यसमाथि ति क्लबहरूमा भारतबाहेक पनि अन्य देशका खेलाडीहरू हुन्छन् । उनीहरूसँग खेल्दा नयाँ–नयाँ टेक्निकहरू थाहा पाउनुका साथै कन्फिडेन्स पनि बढ्दछ ।
० भारतीय क्लबहरूले नेपाली खेलाडीहरूलाई बेन्चमा बढी राख्छन् भनिन्छ नि ?
– सन् १९९६ मा मोहन बगानले मलाई पनि बेन्चमै बढी राखेको थियो । मलाई लाग्छ त्यो बेलामा ममा नै कुनै कमजोरी थियो होला । बंगालीहरूले बंगाली खेलाडीलाई नै मन पराउछन्। त्यसैले हामी सधैं “प्लेइङ सेटमा पर्नका लागि बंगाली खेलाडीहरूभन्दा ५०–७५ ले हैन कि ५०–१०० ले उत्कृष्ट हुनुपर्दछ ।
० भारतीय क्लबहरूमा अनुबन्धित हुन दलालहरूको पनि हात हुन्छ भन्छन् नि ?
– हो, पक्कै हात हुन्छ । उनीहरूले कमिशनमा त्यस्तो काम गर्दछन् । अनुबन्धित गराउन मात्र हैन “प्लेइङ सेटमा“ पार्नका लागि पनि त्यस्ता तत्वहरू अग्रसर भएका हुन्छन्। सन् १९९६ मा स्वयं मलाई नै मोहन बगानकै म्यानेजरले पैसा दे तँलाई “प्लेइङ सेटमा “ पारिदिन्छु भनेको थियो । जुन मैले गर्न चाहिन ।
० खेलकुदमा लागेर भोकभोकै मरिन्छ भनिन्छ नी, आखिर सत्य के हो ?
– अहिले त्यो अवस्था छैन । अरू खेलको बारेमा त मलाई थाहा छैन । जहाँसम्म फुटबलको कुरा छ यदि कुनै खेलाडीमा प्रतिभा र परिश्रम गर्ने बानी छ भने उसले फुटबल खेलेकै भरमा राम्रो जीवन गुजारा गर्न सक्छ ।
० भविष्यको लक्ष्य के छ नी ?
– सम्भव भएछ भने प्रशिक्षक भएर आफ्नो क्लब महेन्द्र पुलिस क्लब र राष्ट्रको लागि आफूले सिकेका र जानेका कुरा बाँडेर देश सेवा गर्न चाहन्छु ।