राष्ट्रको लागि खेलकुद !

रमेश खनाल (खेल मनोविज्ञ)

एक भब्य समारोहबीच १९ औं एसियाली खेलकुद (एसियाड) प्रतियोगिता सम्पन्न भयो । अब जापानमा भेट्ने वाचा गर्दै जापानलाई झण्डा हस्तान्तरण गरियो । यस प्रतियोगितामा ४५ राष्ट्र मध्ये ४१ राष्ट्रले कुनै न कुनै पदक जिते अर्थात् चार राष्ट्र भुटान, माल्दिभ्स, यमन, तिमोर र लिस्टे पदक विहीन हुँदै घर फर्किए ।

प्रत्येक चार वर्षमा एसियन खेलकुद प्रतियोगिता आयोजना गर्नु स्वयम्, एक प्रतिष्ठा हो । जुन राष्ट्रले यो खेलकुद प्रतियोगिता आयोजना गर्छन्, त्यस राष्ट्र को कायापलट हुन्छ । होटल, यातायात, बाटो, विद्युत, पानी आदि कुराको व्यापक सुधार–विकास हुन्छ । १२ हजार खेलाडी तथा थुप्रै खेलप्रेमी, निर्णायक, पत्रकार आदिको आगमनले राष्ट्र नै गुञ्जाएमान हुन्छ । राष्ट्रको स्वरुप नै चेन्ज हुन्छ । यहि सत्यलाई अंङ्गिकरण गर्दै ठूला-ठूला राष्ट्रले ठूला–ठूला प्रतियोगिता आयोजना गर्न हानाथाप गर्छन् ।

विश्व, एसियन, ओलम्पिक गेम्स आयोजना गर्ने राष्ट्रहरु विश्वभरी प्रसिद्ध हुन्छन् । एसियाका जतिपनि राष्ट्रहरूले ठूला ठूला प्रतियोगिता आयोजना गरेका छन् उनिहरूको सरकारले खेलकूदका आधारभूत भौतिक पूर्वाधार विकास गरि दिएका छन् । जसका कारण उनिहरुलाई खेलकुद आयोजना गर्न कुनै कठिनाई हुदैन । यसै क्रममा हाम्रो छिमेकी राष्ट्र भारत पनि ओलम्पिक गेम्स आयोजना गर्न तम्सिएर बसेको छ । यस पटकको एशियन गेम्समा भारतले ठूलो प्रगति गरेको देखियो । चौथो भएर २८ स्वर्ण, ३८ रजत र ४१ काश्य गरि कुल १०७ पदक जितेर आफूलाई सक्षम सावित गर्यो । भारतले आगामी दिनमा झन् प्रगति गर्ने कुरामा विश्वास गर्न सकिन्छ । किनकी उनिहरू व्यवस्थित हुदैछन् । खेलकुदका आधारभूत कुराहरुमा झन् विकास गर्ने छन् ।

ओलम्पिक काउन्सिल अफ एसियाले मे १९५१ देखि अहिलेसम्म एसियन गेम्सलाई निरन्तरता दिइरहेको छ । सर्वथा यो प्रशंसनिय कार्य भएको छ । अब ४५ राष्ट्रहरू मध्येका केहि सबल, सक्षम राष्ट्रहरुले कमजोर राष्ट्रहरुको खेलकुद स्तर उकास्ने भूमिका पनि निभाउन जरुरी भएको छ । नत्र कमजोर राष्ट्र सधै कमजोर नै भइरहने छन् । जुन कुरा ओलम्पिक, काउन्सिल अफ एसियाका लागि पनि त्यत्ति सुहाउने कार्य हुदैन । ओसिएले कमजोर राष्ट्रहरुको भौतिक पूर्वाधार निर्माण गर्न, खेलाडी प्रशिक्षण गर्न, खेलकुदको विज्ञान प्रयोग गर्न र गुणस्तर खेलाडी तयारी गर्ने जस्ता कुराहरुमा चासो राख्नु पर्छ ।

आखिर राष्ट्रलाई एक सुत्रमा बाध्ने खेलकुद नै रहेछ, खेलको पराजय राष्ट्रलाई बिझ्दछ । खेलको विजयले राष्ट्र नै गौरान्वित हुन्छ । २९ खेलका २५३ जना खेलाडीले नेपाल बोकेर चीन पुगेका थिए । थोरै समयको प्रशिक्षणका बाबजुद उनिहरूले सक्दो प्रयास गरे तर उनिहरूको केहि लागेन । थोरै समयको प्रशिक्षणबाट राम्रो नतिजा निकाल्न कठिन हुन्छ । तर समग्र राष्ट्रलाई थोरै प्रशिक्षण गरेका धेरै प्रशिक्षण गरे भन्ने कुरा केही थाहा हुँदैन । उनीहरु त नेपालले कहिले पदक जित्छ भनेर आशा गरेर बसेका हुन्छन् ।

धन्य एरिका गुरुङ्गको रजत पदक र कबड्डी महिला टिमको काश्य पदकले केहि राहत दियो । तर हामीले भारतले गरेको प्रगति, लगानीलाई अध्ययन गर्न भने बिर्सन हुदैन । अब सधै अनुभव मात्र बटुल्ने समय गयो । अब त राष्ट्रलाई पदक चाहियो । त्यसका लागि अहिले देखि नै राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मंत्रालय, नेपाल ओलम्पिक कमिटि, राष्ट्रिय संघ, विभागिय टोलीहरू, क्लबहरुले खेलको गुणस्तरिय विकास गर्न चासो र प्रयास गर्ने बेला भएको छ । यदि अब पनि आत्म मूल्यांकन नगर्ने हो भने खेलकूद कहिले पनि उठ्दैन ।

खेल सहभागिताको प्राथमिकता तोकेर त्यस खेलको गुणस्तरीय विकासका सबै उपायहरु अपनाउनु पर्छ । ओलम्पिक गेम्समा अफ्रिकन राष्ट्रहरु सिर्फ एक या दुई खेलमा मात्र भाग लिने राष्ट्रिय निर्णय गर्छन् । र, ओलम्पिक क्वालिफाइङ्गको रिकर्ड पुरा गर्छन् र ओलम्पिकमा पदक जितेरै रेकर्ड कायम गरेर स्वदेश फर्किन्छन्। हामीले पनि सिर्फ संभाव्य केही खेलमा मात्र भाग लिएर अगाडि बढने निर्णय गर्नुपर्छ । तर सिर्फ निर्णय गरेर मात्र पुग्दैन । त्यस खेलको गुणस्तरीय विकास गरेर पनि देखाउनु पर्छ ।

भाग लिन जसलाई पनि दिन सकिन्छ तर एउटा निश्चित मापदण्ड तोकि दिनुपर्छ । जसले मापडण्ड क्रस गर्दछ, उसलाई अवसर दिनु पर्दछ । हामीले कसैलाई पनि निरुत्साही बनाउनु हुदैन । तर उत्साहित हुने ढोका सधै खुल्ला राखिदिनु पर्दछ ।

अन्त्यमा ओशिएले कमजोर राष्ट्रहरुको खेलुकद विकास गर्ने अभियान शुरु गर्नुपर्दछ । राष्ट्रिय खेलकुद, सरकार र ओलम्पिक कमिटीले सातै प्रदेशमा खेलकुदमय वातावरण विकास गर्नु पर्दछ । स्कुल, गाँउ-गाँउबाट प्रतिभाशाली किशोर खेलाडीहरुको छनोट गरेर खेलकुद विकासलाई अगाडि बढाउनु पर्छ । खेलकुदका भौतिक पूर्वाधार निर्माण गरेर खेलकुद खेल्ने अवसर जुटाईदिनु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :