भाग्यमानी ‘घिसिङ्ग’

श्रीविक्रम भण्डारी

‘भाग्यमा छ भने डोकोमा दुध दुयो भने पनि अट्छ’ अहिले यो चर्चित उखान राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्ग माथि हुबहु लागु भएको छ । १९ औं एशियाली खेलकुद प्रतियोगिता (एशियाड) मा नेपालले सहभागिता जनाउनुअघि एशियाडमा नेपालले पदक जित्ने कुरामा स्वयम घिसिङ्ग समेत अन्योलमा थिए । त्यतिबेला घिसिङ्गले भनेका थिए,–‘नेपाली खेलाडीहरुले एशियाडमा उत्कृष्ट प्रदर्शन गर्नेछन्।’ घिसिङ्गको यस्तो प्रतिक्रियाले निराशाको झल्को दिने भएपनि ‘उत्कृष्ट प्रदर्शन’ भित्रको रहस्यको पोल रजत र काँश्य पदकको रुपमा सार्वजनिक भएपछि उनको चर्चा चुलिएको हो । जुन अहिले सम्पूर्ण राष्ट्रको लागि गौरवको विषय समेत बन्न पुगेको छ ।

एशियाड सम्बन्धि एक सम्वादमा घिसिङ्गले भनेका थिए,–‘सुकेको जीउमा पनि बल हुन्छ ।’ उनले भन्न खोजेको कुरामा अनुमान लगाउन सकिन्थ्यो, तर तात्पर्यमा सहि निशाना साँध्न गाह्रो थियो । यसर्थमा कि कुरोको चुरो निकै गम्भिर थियो । जसलाई आकार, प्रकार र रुपरङ्गको कसौटीमा राख्दा कुनै पनि कोणबाट विश्वास गर्नसक्ने अवस्था थिएन । र पनि, घिसिङ्गको आत्मविश्वासमा आफुले बोलेको कुरामा शतप्रतिशत विश्वास झल्किन्थ्यो । उनी अडिक थिए, भविष्यको परिणाम यहि नै आउँछ भनेर। यसको अर्थ घिसिङ्ग ‘अन्तरयामी’ थिए भन्न खोजिएको होइन, ‘भाग्यमानी’ थिए मात्र भन्न खोजिएको हो ।

१९ औं एशियाडको आयोजना उत्तराद्र्धमा आईपुग्दा समेत नेपालले पदक जित्ने सम्भावना एकादेशको कथामै सिमित थियो । खेलकुद पदाधिकारी र सञ्चाकर्मीहरुले नेपालले पदक जित्ने कुरामा माया मारिसकेका थिए । नेपाल रित्तो हात घर फर्किने कुरामा सबै विश्वस्त थिए । यस्तो अन्धकारको अवस्थामा महिला कबड्डी टोली जुनकिरीको रुपमा क्षितिजमा देखिएको थियो । जसको रोशनी काँश्य पदकमै सिमित भएपनि त्यो नेपालको लागि ठूलो राहतको विषय बन्न पुग्यो । कबड्डीले नेपाललाई अङ्क तालिकामा सुमार गराएको ऐतिहासिक पल थियो । त्यसपछि करातेकि एरिका गुरुङ्गले गरेको उत्कृष्ट प्रदर्शन र जितेको रजत पदकले नेपालको लागि सञ्जीवनी बुटीको कार्य गरेको थियो ।

नेपालले यसअघिका एशियाडमा पनि दुईवटा रजत र काश्य पदक जितेको इतिहास छ । यस्तोमा घिसिङ्ग कसरी भाग्यमानी बने त ? प्रश्न उठ्न सक्छ । जवाफ सहज र सरल छ,– त्यो के हो भने १९ औं एशियाडमा टीम इभेन्टमा पहिलो पटक नेपालले पदक जित्न सफल भएको छ । अर्को करातेमा भित्र्याएको ऐतिहासिक रजत पदक । यो सबै नेपाली खेलकुदको इतिहासमा पहिलो पटक भएको हो । यसैले सदस्यसचिव घिसिङ्ग भाग्यमानी बन्न पुगेका हुन् । यसको अर्थ दुवै खेलले ऐतिहासिक पदक भित्र्याएर मात्रै घिसिङ्ग भाग्यमानी बनेका होइनन्। सबैभन्दा महत्वपूर्ण कुरा महिला कबड्डीलाई एशियाडमा सहभागिता गराउने उनको निर्णय सहि सावित हुनु पनि हो । जस्ले सम्भावित पदक जित्ने खेलले मात्र नभई अवसर पाए अन्य खेलले पनि पदक जित्न सक्ने कुरालाई अहिले प्रमाणित गरिदिएको छ ।

१९ औं एशियाडमा नेपाली खेलाडीहरुको लगातारको पराजयपछि खेलकुद पदाधिकारीहरुमा रुवाबासी चलेकै हो । सम्बन्धित खेल संघका पदाधिकारी, राखेप र खेलकुद मन्त्रीको आलोचना भएकै हो । यसै स्तम्भमा यो स्तम्भकारले ‘बेहुली भित्र्याउन नसक्ने बेहुला र जन्तीको के काम’ भनेर लेखेकै हो । तर भावीले लेखेको भाग्य न कसैले देख्न सक्छ, न कसैले मेटाउन नै सक्छ । अन्तिममा नेपालको भाग्यसङ्गै घिसिङ्गको भाग्य पनि चम्कियो । नेपाली खेलकुदको इतिहासमा घिसिङ्गको नाम एशियाडमा ऐतिहासिक रजत र काश्य पदक जिताउने भाग्यमानी सदस्यसचिव र सेभ द मिसनको रुपमा लेखिन पुग्यो । जस्लाई भावीको खेल नै हो भन्दा अतिसयोक्ति नहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :