खेलकुदमा मान, सम्मान र पुरस्कार…!

रमेश खनाल (खेल मनोविज्ञ)

भर्खरै आठौं बालोन डिओर पुरस्कार विश्व प्रशिद्ध फुटबल खेलाडी लियोनल मेस्सीलाई एक भव्य समारोहकाबीच प्रदान गरियो । सालिन व्यक्तित्वका धनी मेस्सीलाई सबैले मन पराउँछन्। उनी असाध्यै सुन्दर, सफा फुटबल खेल्छन् र गोल गर्छन् । गोलको अर्को नाम मेस्सी भने पनि हुन्छ । मेस्सीले धेरै फुटबल खेल र विश्वकप आफ्नो राष्ट्रलाई जिताए । धेरै पुरस्कार, मान सम्मान पाए ।

खेलाडीहरुलाई प्रेरित गर्नुपर्छ । जिते पनि हारे पछि पनि । प्रेरित गर्ने कुरा थुप्रै छन् । नगद राशीको घोषणा गरेर, नोकरी लगाई दिने घोषणा गरेर, पदोन्नति गर्ने आश्वासन दिएर । निकै अगाडि घोषणा गरिएका पुरस्कारहरु सकारात्मक हुन्छन् । खेलाडीहरुले तिनै पुरस्कार प्राप्त गर्न मरिमेटर खेल्छन् । आफ्नो खेल सुधार्छन् । र, सामुहिक भावना बोकेर मैदानमा उत्रिन्छन् । र, सुन्दर खेल खेल्छन् अनि विजयी हुन्छन् ।

तर, एक पटक के भयो भने म्याच चलिरहेको बेलमा नेपालका उपप्रधानमन्त्रीले खेलाडीहरुलाई राती होटलमा पुगेर भने–‘तिमीहरुले भोलिको म्याच जिते प्रत्येक गोलकर्तालाई दश दश हजार नगद पुरस्कार दिइने छ।’ उपप्रधानमन्त्रीको आशय राम्रो थियो । उनी खेलाडीहरुलाई नगद पुरस्कार दिएर प्रोत्साहित गर्न चाहन्थे । तर भोलिपल्ट नेपाल हार्यो । सबै खेलाडी ‘सेल्फिस’ भएर खेल्न थाले । आफै गोल गर्न खोजे । उनीहरुले पास दिएनन् । फुटबल खेल भनेको सामुहिक रुपमा खेलिने खेल हो । अन्ततः खेल हारियो । जसको कारण गलत समयमा घोषणा गरिएको नगद पुरस्कारको राशी थियो ।

अतः पुरस्कारहरु पूर्व घोषित हुनुपर्छ । पूर्व घोषित नगद पुरस्कारले खेलाडीहरुलाई प्रेरित गर्दछ । उदाहरणका लागि वर्तमान क्रिकेट टीमलाई लिदा अर्ना वियरले टी २० विश्वकपको एशिया छनौटमा नेपाली खेलाडीहरुका लागि लागि नगद पुरस्कारको घोषणा गरेको छ । नेपालका खेलाडीले बनाउने प्रत्येक रनको एक हजार रुपैया, चौकाको थप १० हजार, छक्काको थप २० हजार दिने घोषणा गरेको छ । त्यस्तै बलिङ्गतर्फ एक डट बल बराबर १ हजार रुपैयाँ, मेडन ओभरका लागि १० हजार रुपैयाँ र हरेक विकेटको लागि २५ हजार दिने कम्पनीले घोषणा गरेको छ । तर उक्त पुरस्कार नेपालले म्याच जितेपछि मात्र वितरण गर्नुपर्छ ।

त्यसैगरि ओलम्पिक, एशियन र साफ गेम्समा स्वर्ण, रजत र काश्य पदक जित्ने खेलाडीका लागि सरकारले नगद पुरस्कारको पूर्व घोषणा गरेको छ । खेलाडीहरुको सम्मान शहर परिक्रमा गराएर अभिनन्दन गरेर पनि गर्ने चलन छ । अझ पार्टीहरु त अभिनन्दन गर्न तछाड मछाड गर्छन् । यस्तोमा खेलाडीहरु के चाहन्छन्, उनीहरु के खोज्छन्, त्यो कुरा कोहि सोच्दैनन् । सुरक्षित भविष्यको चाहना गर्छन् ! पदक जितेर पाएको नगद राशि केही दिन भित्र नै सकिन्छ । त्यसपछि के गर्ने ? नोकरी छैन । नोकरी भए आर्थिक समस्या हल हुन्थो । विभागिय टोलीमा प्रवेश पाएका खेलाडीहरुका लागि भने रोजी रोटीको चिन्ता हुँदैन । भविष्य सुरक्षित नै हुन्छ । तर विभागिय टोलीमा स्थान नपाएका खेलाडिहरु के गर्छन् ? कहाँ जान्छन् ।

खेलाडीहरुको सुरक्षित भविष्यका लागि कर्पोरेट स्पोर्टसलाई प्रसय दिनु पर्दछ । कर्पोरेट स्पोर्टस शुरु हुने वित्तिकै खेलाडीहरुले काम पाउँछन् । नगरपालिका स्पोर्टस पनि नियमित हुनु पर्छ । त्यहाँ पनि खेलाडीले प्रवेश पाउँछन् । अझ मलाई त के लाग्छ भने एक निश्चित मापदण्ड बनाएर वर्षेनी १०० जना खेलाडिलाई विभागिय टिममा प्रवेश दिनु पर्दछ । विभागिय टिमले आफ्नो करियरका साथै खेल पनि खेल्छन् ।

हामी कहाँ पूर्व घोषित गरिएका नगद पुरस्कारले खेलकूदलाई बदनाम पनि गरिरहेका छन् । सस्तो लोकप्रियता कमाउन पुरस्कार घोषणा गर्छन्, तर महिनौं वितिसक्दा पनि नियम मिलाउने बहाना बनाउदै खेलाडीलाई अल्झाउँछन् । यस्तोमा खेलाडीहरु निरुत्साहित हुन्छन् । अतः हुनै नसकिने, बाँड्नै नमिल्ने पुरस्कारको घोषणा नगर्नु वेश हुन्छ ।

देश देशमा पुरस्कार राशि तोक्ने आफ्नै व्यवस्था हुन्छ । यस क्रममा थाइल्याण्डले घोषणा गरेको पुरस्कार व्यवस्था माथि ध्यान गएको थियो । सन्दर्भ त्यस बेलाको एशिया कप को हो । थाइल्याण्ड फुटबल संघले घोषणा गर्यो उनीहरुको फुटबल टीमले दोस्रो चरणको यात्रा तय गर्यो भने खोलाडीलाई ८७ हजार डलर पुरस्कार दिइनेछ। त्यसैगरि नकआउट चरणमा जिते भने पुरस्कार राशीमा बृद्धि हुनेछ । यसैगरि उपाधि नै जिते भने दुई लाख डलर भन्दा बढीको नगद पुरस्कार प्रदान गरिने छ। थााइल्याण्ड फुटवल संघले यथासमयमा नै आफ्नो वचन पुरा गरेको थियो। चरणगत रुपमा तोकिएको पुरस्कार रकम पनि प्रभावकारी हुन्छ।

दक्षिण पूर्ण एशियाका राष्ट्र थाइल्याण्ड, भियतनाम, फिलिपिन्स, म्यान्मार, इण्डोनेशिया, मलेशिया, मकाउ चाइना, हङकङ चाइना आदि राष्ट्रहरूबिच प्रत्येक खेलमा कडा प्रतिस्पर्धा हुने गर्दछ। यस्तो प्रतिस्पर्धामा खेलाडिलाई मोटिभेट गर्न धेरै किसिमको पुरस्कार, सम्मानहरुको व्यवस्था गरिन्छ । ओलम्पिक, एशियन गेम्स जस्तै साग गेम्सको कुरै नगरौंं । नियमित आयोजना गरिने गेम्सले राष्ट्रकै प्रतिष्ठाको गेम्स हो । यसमा स्वर्ण, रजत र काश्य पदक जित्ने खेलाडि, प्रशिक्षक, चिकित्सक, व्यवस्थापक आदि लाई नगद पुरस्कार लगायत अन्य सम्मान गरिन्छ। तसर्थ खेलकुदमा मान, सम्मान, पुरस्कार को व्यवस्था नियमित हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :