स्याबास क्रिकेट टोली, विश्वकपमा पुनः पुगेकोमा

श्रीविक्रम भण्डारी

एक दशकको लामो पर्खाईपछि पुनः नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० विश्वकपमा छलाङ्ग मार्न सफल भएको छ । टी २० विश्वकपमा छलाङ्ग मार्ने क्रममा नेपाली क्रिकेट टोलीले गरेको प्रदर्शन आफैमा तारिफयोग्य र अविष्मरणिय बनेको छ । जसले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रङ्गमञ्चमा पदार्पण मात्रै गराएको छैन, नेपालको मान सम्मान र प्रतिष्ठालाई समेत अन्तर्राष्ट्रिय स्तरमा उचो पार्न सफल भएको छ । जसको बयान अहिले जति गरेपनि कमै हुन्छ । यसको लागि सिङ्गो क्रिकेट टोली विशेष धन्यवादको पात्र समेत बनेको छ । अब क्रिकेट प्रेमी नेपालीहरुले वेष्ट इण्डिज र अमेरिकामा सन् २०२४ मा आयोजना हुने टी २० विश्वकप क्रिकेटमा नेपालको उपस्थिति र उत्कृष्ट प्रदर्शन रस्वादन गर्न पाउने भएका छन् ।

सन् २०१४ मा पहिलो पटक टी २० विश्वकपमा आफ्नो उपस्थिति जनाईसकेको नेपालले दोश्रो पटक उक्त प्रतियोगितामा सहभागिता जनाउन एक दशक लामो समय कुर्नु पर्यो। जो नेपालका लागि बिडम्बनाको कुरो बन्दै आएको थियो । तर वर्तमान अवस्थामा नेपाली क्रिकेट टोलीले फलामको दिवारलाई तोड्दै विश्वकपको यात्रालाई सुनिश्चित गरेको छ। जसलाई अहिले नेपाली क्रिकेट टोलीको ठूलो उपलब्धिको रुपमा हेरिन थालेको छ । नेपालले सन् २०२४ को विश्वकपमा आफ्नो स्थान सुरक्षित पार्न सेमिफाइनलमा चीरप्रतिद्वन्दी युएईलाई पराजित गरेपछि नेपालको विश्वकपको यात्रामा लालमोहर लागेको थियो । नेपाली क्रिकेट टोलीले हासिल गरेको यो उपलब्धिसङ्गै अहिले मुलुकमा खुशीको बहार नै आएको छ । यो सफलता पश्चात राष्ट्र प्रमुखदेखि खेलकुदका निकायहरुले क्रिकेट टोलीको खुलेर प्रशंसा गरिरहेका छन्। जसले यो सफलताको औचित्यलाई समेत पुष्टि गरिदिएको छ ।

टी २० विश्कप क्रिकेट खेल्ने सबै राष्ट्रको सपना हुन्छ । तर त्यहाँ पुग्नका लागि हुने छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नु पर्दछ । जुन फलामको च्युरा चपाउनु भन्दा कम हुँदैन । प्रतिभाबिच प्रतिभाको प्रतिस्पर्धा हुने छनौट प्रतियोगितामा खरो उत्रिन उत्कृष्ट प्रतिभा बन्नुपर्ने जरुरी हुन्छ । यो पटक यस्तै भयो, नेपाली क्रिकेट टोली अन्य एशियाली टोलीभन्दा उत्कृष्ट सावित हुँदै टी २० विश्वकपको टीकट काट्न सफल भयो । नेपाली क्रिकेट टोलीले सन् २०२४ को टी २० विश्वकप खेल्ने सपना देखेको थियो । सपना देखेर मात्रै हुँदैन, सपनालाई मर्न दिनु हुँदैन भन्ने जुन उक्ती छ, अहिले उक्त सपनालाई जिवित राख्न नेपाली क्रिकेट टोली सफल भएको छ । उनीहरुले गरेको मेहनत, देखाएको आँट, शाहस र धैर्यताले क्रिकेट टोलीलाई विश्वकपमा पुर्याएको छ । जुन इन्दे्रणीको जस्तै सुन्दर रुपरङ्ग देखिएको छ । त्यसैले अहिले आम नेपालीको जिब्रोमा झुण्डिएको छ,–‘स्याबास क्रिकेट टोली, विश्वकपमा पुनः पुगेकोमा।’

नेपाली क्रिकेट टोली विश्वकपमा छनौट भएपछि अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरुको हौसला बढाउन नगद पुरस्कार दिने सिफारिस र घोषणा गरेका छन् । जुन सकारात्मक पाटो भएपनि विश्वकपमा पुगिसकेको टोलीको प्रशिक्षण र स्तोरोन्नतिका लागि अब विशेष पहलकदमी आवश्यकता देखिएको छ । त्यसको लागि सम्बन्धित निकायले विश्वकपको मापडण्ड र स्तरलाई आत्मसात गर्दै सोहि बमोजिम नेपाली क्रिकेट टोलीको तयारी गर्नुपर्ने हुन्छ । नेपाली टोलीलाई ठूलो उलटफेर गर्नसक्ने टोलीको रुपमा मानसिक र प्राविधिक रुपमा तयार पार्नु पर्छ । विश्वका सर्वोकृत राष्ट्रका टोलीहरुको सहभागिता रहने विश्वकपमा नेपाल उत्कृष्ट प्रदर्शन सङ्गै अन्तर्राष्ट्रिय रङ्गमञ्चमा नेपालको राष्ट्रिय झण्डा गाड्न सफल हुनुपर्छ । जब गाडेको झण्डा फहराउन थाल्ने छ, त्यतिबेला नेपालीहरुको छाती गर्वले फुल्ने छ ,नेपालको चर्चाले शिखरलाई चुम्ने छ । त्यसैले नेपाली टोलीलाई गोर्खाली बनाएर विश्वकपमा उतार्न साम, दाम, दण्ड र भेद चारै नितिको अवलम्बन गर्नु आजको आवश्यकता भइसकेको छ ।

साथै शुभ दीपावली र छठ पर्वको पावन अवसरमा मेरोखेल डटकम सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना प्रकट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :