चारदेशीय शृंखलामा नेपाल तेश्रो

काठमाडौं । नेपाल हङकङमा चार देशसम्मिलित टि २० अन्तर्राष्ट्रिय शृंखलामा तेश्रो भएको छ । तेश्रो स्थानको लागि आईतबार बिहान भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गरेको हो ।

जितको लागि नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रनमा समेटियो । उसका लागि अकारी निशिमुराले सर्वाधिक २९, हिनासे गोटोले १६ र अहिल्या चन्देलले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकका लागि रन छुन सकेनन् ।

बलिङमा नेपालकी संगिता राई, इन्दु वर्मा, सिता राना मगर, खुसी डंगोल, सोनी पाख्रिनले समान १ विकेट लिइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११५ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि पुजा महतोले सर्वाधिक ४३, रोमा थापाले २२ र रुबिना क्षेत्रीले २१ रन बनाईन् । त्यस्तै कप्तान इन्दुरी वर्माले १२, सिता राना मगरले ५ र काजल श्रेष्ठले ३ रन जोड्दा अश्मिना कर्मचार्य २ रनमा अविजित रहिन् ।

बलिङमा जापानकी अहिल्या चन्देल, एरिका टोगुनी क्विन र अयुमी फुजिकावाले समान १ विकेट लिईन् । यसै श्रृंखला अन्तर्गत यसअघि नेपाल घरेलु टोली हङकङ र तान्जानियासँग भने पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :