सहि ठाउँमा सहि खेलाडी पर्नु पर्छ । सहि शारिरीक बनोट भएको खेलाडीहरुले सहि खेल खेल्न पाउनु पर्छ । अग्ला(अग्ला खेलाडीहरुले भलिबल, बास्केटबल खेल्दा ठिक हुन्छ । लामो खुट्टा भएका, लामो हात भएका खेलाडीहरुलाई तेक्वान्दो खेल्दा उचित हुन्छ । यस्ता धेरै उदाहरणहरु छन्, जसलाई खेल प्रशिक्षकहरुले अध्ययन अनुसन्धान गरेर खेलाडीहरुलाई शारिरीक बनोट अनुसार खेल खेल्ने अवसर दिने गरेका हुन्छन् ।
शारिरीक क्षमतालाई ध्यान दिएर पुग्दैन । खेलाडीहरुको छनौट गर्दा उनीहरुको मानसिक स्तर पनि प्ररिक्षण गर्नु पर्दछ । डाक्टर सेल्डनका अनुसार मानिसहरु तीन समुहका हुन्छन्, इक्टोफर्म, मेसोफर्म र इण्डोफर्म ।
इक्टोफर्मः– ख्याउटे शारिरीक स्वरुपका हुन्छन् । लामा हात, लामा खुट्टा मसिना मशल्स भएका पातला अग्ला व्यक्तिहरु च्याठ्ठिने र रिसाउने स्वभावका हुन्छन् ।
मेसोफर्मः– यस अन्तर्गत ठिकैको कद भएको, हेर्दैखेरी खेलाडी जस्ता देखिने व्यक्तिहरु पर्छन् । जुन व्यक्ति सहनशिल, धर्यवान, आत्मविश्वासी, कर्मठ र विश्वाशिला हुन्छन् ।
इण्डोफर्मः– यस अन्तर्गत मोटो थलथले बोसो भएका व्यक्तिहरु पर्छन् । जुन छिटै नर्भस् हुन्छन्, अत्तालिन्छन्।
अतः यी तिनै थरिका व्यक्तिहरुले खेलकुद खेलिरहेका हुन्छन् । यिनीहरु मध्य केहि अन्तरमुखि, केहि बहुमुखि र केहि अभयमुखि स्वभावका हुन्छन् । फुटबलको सेन्टर लाइनमा खेल्ने खेलाडी बहुमुखि स्वभावको हुनु पर्दछ । मन भित्रको कुरा मन भित्रै थाति नराख्ने, फटाफट भन्ने, बोल्न नहिच्किचाउने खेलाडीहरुको दिमाग धेरै चल्दछ । उनी आक्रमक खेल प्रस्तुत गर्न सक्ने हुन्छन् । तर कुनै कुनै खेलाडी धेरै नबोल्ने राम्रो खेल खेलेको पनि देखिएको छ ।
त्यसैगरि फुटबलको मध्य भाग (मिडफिल्ड) मा खेल्ने खेलाडीहरु अभयमुखि हुनु पर्दछ । यस्ता खेलाडीहरुले दिमाग लगाएर बल डिस्टीब्यूट गर्नु पर्दछ । खेल हार्ने र जित्ने कुरा उनीहरुको बल डिस्टीब्यूटमा धेरै जसो भर पर्दछ । अतः उनीहरु विश्वाशिलो, शाहशिलो, सिर्जनशिल हुनु पर्दछ ।
यसैगरि डिफेन्स आइरन जस्तो हुनु पर्दछ । धैर्यवान, कर्मठ, उत्तरदाइत्व बहन गर्ने खेलाडीलाई डिफेन्समा राख्नु पर्दछ । मुडे बल लगाएर आँखा चिम्लिएर, रफ खेल्ने स्वभावका खेलाडीले खेल डुवाउँछन् । अतः उनीहरु सिर्जनशिल र शालिन पनि हुनु पर्दछ । र, गोल किपर एन्टिसिममेशन गर्ने, चनाखो, फूर्तिलो हुनु पर्दछ। कहिले काहिँ खेल खेलि रहेता पनि नतिजा प्राप्त हुँदैन । सहि खेलाडी सहि ठाउँमा नपरेको पनि हुन सक्दछ।
त्यसैले किलिङ्ग इन्स्टेन्ट क्षमता भएका खेलाडीहरु मात्र फरवार्ड लाइनमा स्टयाकिङ्ग गर्न राख्नु पर्दछ । मौका सधैं आउँदैन । मौका पाउने वित्तिकै गोल गर्ने खेलाडी भएर नै मेसी, नेमार, रोनाल्डो आदि खेलाडीहरुलाई धेरै रकम तिरेर निकिएका हुन् । यस्ता खेलाडीहरुमा सिर्जनशिल, धैर्यवान, विश्वाशिलो, आँटिलो, जुझारु, क्रियाशिल जस्ता मनोवैज्ञानिक गुणहरु हुन्छन ।
अतः खेलाडीहरु छनौट गर्दा उनीहरुको शारिरीक अनि मानसिक स्तर पनि परिक्षण गर्नु पर्दछ । शारिरीक तन्दुरुस्ती प्रशिक्षण गरेर विकास गर्न सकिन्छ । त्यसका लागि प्रशिक्षकले योजनाबद्ध तालिका बनाउँछन् । प्रशिक्षण सङ्गसङ्गै सम्बन्धित खेलको विशेष प्रशिक्षण शुरु गर्छन । तर मनोवैज्ञानिक तालिमका लागि मनोविज्ञ नै चाहिन्छ । मनोविज्ञले खेलाडीहरुको प्रशिक्षण गर्छन् । खेलको प्रकृति अनुसार मनोवैज्ञानिक गुण छ कि छैन ? यदि छ भने कति छ, छैन भने आवश्यक मनोवैज्ञानिक गुण विकास गर्ने तालिका बनाउछन् ।
त्यसो त प्रत्येक मानिसमा मनो–समिक्षणात्मक गुणहरु हुन्छन् । मानिस रुन्छ, हाँस्छ, चिच्याउँछ, झगडा गर्छ । मानिस सपना देख्छ, मानिस दिवा स्वप्न बुन्छ । मानिस अनुप्रेरित–प्रेरित हुन्छ । मानिस चिन्तन मनन गर्छ । मानिस संवेगशिल हुन्छ । मानिस स्मरण–विस्मरण गर्छ । मानिसभित्र मानसिक संघर्ष, कुण्ठा र अभियोजन पनि हुन्छ । मानिस ज्ञानी हुन्छ । अज्ञानी हुन्छ । मानिस अधर्य र धैर्यवान हुन्छ । मानिस आफ्नो बुद्दि प्रयोग गर्छन् । तसर्थ मानिस अरुभन्दा फरक हुन्छन् ।
तर खेलकुदमा खेलको प्रकृति अनुसार विशेष मनोवैज्ञानिक गुणहरुको आवश्यकता पर्दछ । उदाहरणको लागि सुटिङ्ग खेलका लागि चुलबुले, फटाफट बोली रहने, हड्बडे खेलाडी चाहिदैन। उसले धेरै कन्सन्ट्रेसन गर्नु पर्छ । यसको लागि ध्यान, धैर्य, प्रेरणा, एकाग्रता चाहिन्छ । तर फुटबललाई सबैभन्दा बढी प्रेरणा चाहिन्छ । ९० मिनेटसम्म खेलिरहनु पर्ने भएको हुँदा उ मोटिभेसन भइरहनु पर्छ । दर्शकको होहल्लाका बिच तर्सिएर, हतोत्साहि भएर, नर्भस भएर, खेल बिगार्नु हुदैन । उनले आफ्ना कमिकमजोरीहरु मूल्याङ्कन गर्दै, सुधार गर्दै प्रेरित भएर खेल खेल्नु पर्दछ ।
जे होस् खेलाडीहरुका लागि शारिरीक गुणका साथै मानसिक अर्थात् मनोवैज्ञानिक गुणहरु पनि आवश्यक हुन्छ । व्यक्तित्वको प्रकार थाहा पाउनु अनिवार्य हुन्छ । अन्यथा अँध्यारोमा गोली चलाएको जस्तो हुन्छ । शारिरीक एवम् मानसिक गुण थाहा पाएर अगाडि बढ्नु आजको अपरिहार्य आवश्यकता हो ।