काठमाडौं । फिफा विश्वकप २०२६ को एसियाली क्षेत्र दोश्रो चरणको छनौट अन्तर्गत काठमाडौंमा हुने नेपाल र यमनबीचको खेलको टिकट मुल्य तय भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाल र यमनबीचको छनौट खेलका लागि साधारण पारापिटतर्फ रु ४ सय र भिआइपी पारापिटतर्फ रु १ हजार टिकट दर कायम गरिएको जानकारी गराएको हो ।
खेलको टिकट अखिल नेपाल फुटबल संघ आफैले व्यवस्थापन गरि बिकि गर्ने पनि जानकारी गराएको छ। एन्फाका अनुसार खेलको टिकटहरु खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्रि गरिनेछ ।
खेलको लागि यमनको राष्ट्रिय टोली नेपाल आइसकेको र प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाईएको पनि एन्फाले जनाएको छ । विश्वकप २०२६ को एसिया क्षेत्र दोश्रो चरणको छनौट र र २०२७ एएफसी एसियन कप छनोट दोस्रो चरण अन्तर्गत नेपाल र यमनबीचको पहिलो लेगको खेल भोलि (मंगलबार) नेपालमा हुँदैछ ।
यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजेबाट शुरु हुनेछ । फिफा वरियतामा १५६ औं स्थानमा रहेको यमनसँगको खेलको लागि १७३ औं स्थानमा रहेको नेपाली टोली मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको मुख्य प्रशिक्षणमा हाल बन्द प्रशिक्षणमा रहेको छ ।
छनौट खेलको लागि एन्फाले सम्पुर्ण तयारी पुरा भएको समेत जनाएको छ । यसअघि बिहीबार भएको दोस्रो चरणको पहिलो लेगमा नेपाल र यमन दुबै आ–आफ्ना खेलमा पराजित भएका थिए । नेपाल युएईसँग ४–० ले पराजित हुँदा यमनले बहराइनसँग २–० को हार ब्यहोरेको थियो ।
दोश्रो चरणको पहिलो लेगमा पराजय व्यहोरेको दुवै टोली अंक विहीन छ । यस कारण मंगलबारको खेल नेपाल र यमन दुवै टोलीका लागि निकै महत्वपूर्ण रहने देखिन्छ । किनकी भोलिको खेलपछि समूह विजेता र दोस्रो हुने टोलीले विश्वकप छनौटको तेश्रो चरणमा पुग्नुका साथै २०२७ एसियन कपमा सोझै स्थान पक्का गर्नेछ।