काठमाडौं । फिफा विश्वकप २०२६ को एसियाली क्षेत्र दोश्रो चरणको छनौट अन्तर्गतको लेग खेलमा नेपालले भोलि (मंगलबार) घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार हुने नेपाल र यमनबीचको खेल साँझ ७ बजेबाट शुरु हुनेछ । यसअघि सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र कप्तान किरणकुमार लिम्बुले आफूहरु यमनविरुद्धको खेल जित्नको खेल्ने बताएका छन् ।
विश्वकप छनौटको अर्को चरणमा प्रवेश गर्नको लागि पनि नेपाललाई भोलिको खेल जित्नुपर्ने चुनौती रहेको छ । फिफा वरियतामा १५६ औं स्थानमा रहेको यमनसँगको खेल जित्न १७३ औं स्थानमा रहेको नेपाली टोलीका लागि त्यति सहज हुने पक्कै हुने छैन ।

यसअघि बिहीबार भएको दोस्रो चरणको पहिलो लेगमा नेपाल र यमन दुबै आ–आफ्ना खेलमा पराजित भएका थिए । नेपाल युएईसँग ४–० ले पराजित हुँदा यमनले बहराइनसँग २–० को हार ब्यहोरेको थियो ।
दोश्रो चरणको पहिलो लेगमा पराजय व्यहोरेको दुवै टोली अंक विहीन छ । यस कारण मंगलबारको खेल नेपाल र यमन दुवै टोलीका लागि निकै महत्वपूर्ण रहने देखिन्छ ।
किनकी भोलिको खेलपछि समूह विजेता र दोस्रो हुने टोलीले विश्वकप छनौटको तेश्रो चरणमा पुग्नुका साथै २०२७ एसियन कपमा सोझै स्थान पक्का गर्नेछ।
एन्फाले नेपाल र यमनबीचको छनौट खेलका लागि साधारण पारापिटतर्फ रु ४ सय र भिआइपी पारापिटतर्फ रु १ हजार टिकट दर कायम गरेको छ ।
यो पनि पढ्नुहोस्: विश्वकप छनौटः नेपाल र यमनबीचको खेलको टिकट मुल्य चार सय र एक हजार