नेपाल बुद्धिचाल महासंघद्वारा `शिक्षामा बुद्धिचाल’ कार्यक्रम घोषणा

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँगको सहकार्यमा शिक्षामा बुद्धिचाल (चेस इन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ ।

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी पाँच वर्षको लागि ऊक्त कार्यत्रमको घोषणा गरेको हो ।

महासंघका अनुसार शिक्षामा बुद्धिचाल अन्तर्गत बागमती प्रदेशमा रहेका प्याब्सनमा आवद्ध विद्यालयमा सुरुमा बुद्धिचाल खेलको प्रशिक्षण दिने र त्यसपछि प्रत्येक स्कुलमा बुद्धिचाल प्रतियोगिता आयोजना गरी दुई-दुई जना खेलाडी (पुरुष-महिला) छनोट गर्नेछ ।

त्यसपछि छनोट भएका खेलाडीबीच प्रदेशस्तरीय प्रतियोगिता गराएर कम्तीमा १० जना खेलाडीलाई कक्षा ५ देखि १२ कक्षासम्म पठन-पाठनको लागि निशुल्क छात्रबृत्ति प्रदान गरिने छ ।

ऊक्त कार्यक्रम पाँच वर्ष चल्ने र भविष्यमा अन्य प्रदेशमा पनि विस्तार गरिँदै लगिने बताईएको छ ।महासंघले ऊक्त कार्यत्रमका लागि प्याब्सन बागमती प्रदेशसँग पाँच वर्षे सम्झौता समेत गरेको छ ।

सोमबारनै उक्त सम्झौता पत्रमा महासंघका कार्यबाहक अध्यक्ष हेराकाजी महर्जन र प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशबलाल श्रेष्ठले आदान प्रदान गरे ।

महासंघका अध्यक्ष महर्जनले प्याब्सनसँगको सहकार्यले बुद्धिचाल खेलको विकासमा नयाँ आयाम थपिने बताएका छन्।

महासंघले प्रतियोगिता सञ्चालन गर्नुअघि हरेक विद्यालयमा शिक्षकलाई बुद्धिचाल खेलको प्राविधिक प्रशिक्षण दिने समेत जनाएको छ ।

शिक्षामा बुद्धिचाल कार्यक्रमको सम्पूर्ण खर्च प्याब्सन बागमती प्रदेश गर्ने अध्यक्ष केशबलाल श्रेष्ठले बताए । बागमती प्रदेशमा प्याब्सनसँग करिब चार हजार विद्यालय आवद्ध रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :