एनएसएलको गन्तव्य, गुणस्तरीय फुटबलको विकास

श्रीविक्रम भण्डारी

नेपाल सुपर लिग (एनएसएल) को दोश्रो संस्करण आज शुक्रबाररदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुदैछ । यो पटक एनएसएलमा नौ वटा फ्रेञ्चाइज क्लबहरुले प्रतिस्पर्धा गर्दैछन्। कोरोनाकालमा बिना दर्शक पहिलो संस्करणको आयोजना हुँदा एनएसएलले जति माइलेज पाउनु पर्ने थियो त्यो पाउन सकेन। र पनि, नेपालमा गुणस्तरीय फुटबलको सपना देखेको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले हार मानेन । एनएसएललाई निरन्तरता दिने प्रतिबद्धताका साथ अगाडि बढिरह्यो । देशकाल परिस्थितिसँग पौठाजोरी खेल्ने क्रममा एनएसएलले विभिन्न अवरोध र चुनौंतिको सामना मात्रै गर्नु परेन, अनेकौं आरोप र लान्छनाको झटारोको पनि सामना गर्नु पर्यो । जुन कथाले मागेको पट्कथा भन्दा बेग्लै थियो । यस्तो विषम परिस्थितिमा क्ल्याप भन्दा क्लोज गर्नुपर्ने अवस्थाको सिर्जना भयो । तर आयोजकले आफ्नो दुस्साहस देखाउने क्रमलाई जारी राख्यो, परिणाम एनएसएलको दोश्रो संस्करण आजदेखि शुभारम्भ हुदैछ । जुन नेपाली फुटबलको लागि कोशेढुङ्गा सावित हुनेछ भन्दा गलत नहोला ।

शैशवकालमै विवादको भूमरिमा पर्दा एनएसएलको भविष्यमाथि ठूलो प्रश्नचिन्ह लागेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) र व्यावसायिक फुटबल क्लबहरुले एनएसएलको आयोजना र औचित्य माथि उठाएको प्रश्न र अवरोधलाई मध्यनजर गर्दा उहिल्यै एनएसएल थला पर्नुपर्ने थियो । साँचो अर्थमा भन्नुपर्दा एन्फा र क्लबहरुको गुट र अस्वथ्य प्रतिस्पर्धाका कारण एनएसएल प्राय मृत अवस्थामा पुगिसकेको थियो । नेपाली फुटबलको मानचित्रमा आशा र विश्वासको दियो बाल्न जुनकिरी झैं क्षितिजमा देखा परेको एनएसएललाई त्यहि समाप्त गर्न जुन् चाल चालियो, त्यो कुनै सस्पेन्स थ्रीलर फिल्म भन्दा कम थिएन । परिणाम्, आफु पनि केहि नगर्ने, अर्काले गरेको कुरामा पनि भाँजो हाल्ने प्रवृतिको विकास भएपछि राष्ट्रिय फुटबल खेलाडीहरुले एकपछि अर्को गर्दै विदेश पलायनको बाटो रोज्नु परेको तीतो सत्य कसैबाट छिपेको छैन ।

समय बलमान हुन्छ, हिजो एनएसएलको विरोध गर्नेहरुको अहिले आँखा मात्रै होइन, चेत समेत खुलेको छ । उनीहरु अहिले होस्टेमा हैँसे गर्न पछि परेका छैनन् । जसलाई एनएसएलको सफलताको रुपमा मात्र नभई फुटबलको गुणस्तरीय विकासको रुपमा समेत हेरिन थालेको छ । जसको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव अब एनएसएल र खेलाडीहरुमा अवश्य देखा पर्ने विश्वास गर्न सकिन्छ । मुलुक आर्थिक मन्दीको चपेटामा परेको विषम परिस्थितिमा समेत आयोजकले एनएसएल गर्ने जुन आँट र शाहस देखायो, त्यो अहिले फुटबल खेलको समग्र विकासको लागि सकारात्मक पाटो मात्रै नभई अधोगतितर्फ उन्मूख फुटबलको गुणस्तरीय विकासमा सञ्जीवनी बुटीले झैं कार्य गर्ने अपेक्षा गर्न सकिन्छ । जसले नेपाली फुटबललाई हराभरा बनाउने कुरामा ठोकुवा गर्न सकिन्छ ।

कुरोको चुरो निरन्तरता भएपनि आयोजकले एनएसएलको गन्तव्यको बारेमा खुलेर कुरा गर्नुको साँटो गोलमोटल कुरा गर्दा फ्रेन्चाइज क्लब र खेलाडीहरुको मनमा चिसो परेको छ । यसो भन्दै गर्दा आयोजकले एनएसएल कसैलाई चुनौंति दिन र विस्थापित गर्न नआएको स्पष्ट पारेको छ । आयोजकले गन्तव्यको बारेमा चर्चा गर्दै भनेको छ, हाम्रो उद्देश्य नेपालमा गुणस्तरीय फुटबलको विकास हो । जसलाई हामी राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत देख्न चाहन्छौं । हाम्रो प्रयासले विश्व फुटबलमा नेपालको वरीयतामा सुधार भए त्यो हाम्रो लागि सबैभन्दा खुशी र उपलब्धिको कुरा हुनेछ । अहिलेको हाम्रो गन्तव्य भनेको यहि हो, बाँकि कुरो समयको हातमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :