भनिन्छ, सपना पुरा गर्न सपनालाई सधैं जिवित राख्नु पर्छ । सपना देखेपछि सपनालाई कहिल्यै मर्न दिनु हुँदैन । देखेको सपना फलिभुत नहुञ्जेल कर्मलाई निरन्तरता दिनु पर्दछ । कर्म नै त्यस्तो राम वाण हो, जसले सपनालाई सधैं जिवित राखेको हुन्छ । जुन कुराको चर्चित धार्मिक ग्रन्थ ‘गीता’ मा पनि वर्णन गरिएको छ । सपनालाई सार्थक तुल्याउन कर्मको भूमिका महत्वपूर्ण हुने भएकोले कर्म गर्न भने कहिल्यै छोड्नु हुँदैन । चाहे त्यसले थोरबहुत मात्रै फल किन नदियोस्, त्यसले सपना साकार पार्ने बाटोलाई चौडा बनाई राखेको हुन्छ । परिणाम, देखेको सपनालाई जिवित राख्नु नै सबैभन्दा बुद्धिमानी ठानिन्छ ।
यसो भन्दै गर्दा सबै सपना पुरा हुन्छन्, नै भन्ने कुनै ग्यारेन्टी छैन । खेलकुदमा लाग्ने खेलाडीहरुले पनि ठूलो सपना देखेर खेलकुदमा होमिएका हुन्छन् । उनीहरुको सपना भनेकै पहिले राष्ट्रिय र त्यसपछि अन्तर्राष्ट्रिय खेलाडी बन्ने हुन्छ । त्यसको लागि खेलाडीले मीठो मसिनो खाएर भएपनि दिनरात रगत पसिना सुकाई र बगाई राखेका हुन्छन् । त्यो अवधिमा उनीहरुले गरेको मेहनत कुनै कडा परिक्षा भन्दा कम हुँदैन । खेलाडीले पनि सुन जस्तै आगोको रापमा खारिनु पर्छ । तर यी मध्य कसैलाई सफलता प्राप्त हुन्छ भने कसैलाई हुँदैन । यहाँ प्रतिभा मात्र भएर हुँदैन भाग्यले पनि उत्तिकै साथ दिनु पर्छ । एउटा महत्वपूर्ण सफलताले खेलाडीको कायापटल नै गर्न सक्छ, त्यसैले धैर्यता गर्नु नै सपनालाई जिवित राख्नु हो ।
नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा खेलकुदमा लागेर सुनौंलो भविष्य देख्ने ९९.९ प्रतिशत खेलाडीहरुले आफ्नो सपनालाई जिवित राख्न सकेका छैनन् । यसका विभिन्न पक्ष र कारणहरु छन्, जसले खेलाडीलाई सधैं निराश बनाईराखेको छ । साँचो अर्थमा भन्नुपर्दा नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी बन्दा समेत उसको आर्थिक स्तरमा सधैं प्रश्नचिन्ह लागेको हुन्छ, कुनै सुधार भएको हुँदैन । अन्तर्राष्ट्रियस्तरको चर्चित खेलाडी हुँदा समेत आफ्नो परिवारको भरण पोषणको लागि उ सधैं चिन्तित हुुनुपर्छ । यस्तो असमञ्जस्यको स्थितिमा उसले खेलकुद छोड्नु भन्दा अर्को विकल्प हुँदैन । परिणाम, खेलाडीहरु आफुले देखेको सपनालाई मार्न पुग्छन्, र विकल्पको रुपमा विदेश पलायनको बाटो रोज्छन् । अन्ततः एउटा अन्तर्राष्ट्रिय खेलाडी खाडीको ५० डिग्रीमा बाफिन पुग्छ । बाँचे दुई पैसा कमाउँछन्, मरे कफिनमा फर्किन्छन् । यस्तै बनिरहेको छ, नेपाली खेलाडीले देखेको सपनाको यथार्थ ।
दुर्भाग्य, सपना देख्ने नेपाली खेलाडीमध्य औंलामा गन्न सकिने केहि खेलाडी बाहेक अन्यले आफ्नो सपनालाई जिवित राख्न सकेका छैनन् । नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा यो सबैभन्दा तीतो सत्य हो । आफ्नो खेल जिवनले शिखर चुमेको अवस्थामा समेत नेपाली खेलाडीले आफ्नो भविष्यको ग्यारेन्टी गर्न सकेको हुँदैन । खेलपछिको जीवन के होला भन्ने चिन्ताले नै उनीहरुलाई सताईरहेको हुन्छ । जसको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव खेलाडीको खेल र व्यक्तिगत जीवनमा पनि उत्तिकै परिरहेको हुन्छ । यो कुराको जानकारी सम्बन्धित निकायलाई छ, तर उसले खेलाडीहरुको उचित व्यवस्थापन गर्नुको साँटो मौनतालाई नै आफ्नो हतियार बनाएको छ । तसर्थ नेपालमा नाम चलेका खेल तेक्वान्दो, कराते, फुटबल, क्रिकेट र बक्सिङ्गका चर्चित खेलाडीहरु विदेश पलायन हुन बाध्य भएका छन् ।
आखिर किन मरिरहेको छ त खेलाडीहरुको सपना? यो अहिले नेपाली खेलवृतमा चर्चा र चासोको विषय बन्नुपर्ने हो, तर बनेको छैन र भविष्यमा पनि बन्ने कुनै छाँटकाट देखिएको छैन । खेलाडीलाई राष्ट्रको गहना भन्ने सरकारले यो कुरालाई नारामै मात्र सिमित पारेको छ । खेलाडीहरुको भविष्यको त कुरै छोडौं उचित किसिमले प्रशिक्षण समेत दिन सकेको छैन । साँचो अर्थमा भन्नुपर्दा खेलाडीलाई युज अर्थात् प्रयोग मात्रै गर्दै आएको छ । परिणाम नेपाली खेलाडीहरुले देखेको सपना गर्भमै तुहिन पुगेको छ । यसको प्रमुख कारकतत्व सम्बन्धित निकाय बनेको छ । र पनि, खेलाडीहरुले सपना देख्न छोडेका छैनन् । खेलाडीहरु खेलिरहेका छन्, नेपाली खेलकुद निरन्तर चलिरहेको छ र भविष्यमा पनि चलिरहने छ ।