काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा बिरगंज युनाइटेडले ललितपुर सिटी एफसीलाई बराबरीमा रोक्दै अंक तालिकामा खाता खोल्न सफल भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ सम्पन्न खेलमा अपराजित ललितपुरलाई २-२ गोलको बराबरीमा रोक्दै बिरगंज एनएसएलमा पहिलो अंक जोड्न सफल भएको हो ।
१० औं मिनेटमा विलियम ओपोकुको गोलबाट बिरगंजले खेलमा शुरुवाती लिएको थियो । त्यसलगत्तै १३ औं मिनेटमै ललितपुरका इमोह इजीकीएलले बराबरी गोल फर्काए।
२७ औं मिनेटमा निखिल कद्माको गोलबाट ललितपुरले खेलको पहिलो हाफमा २-१ को अग्रता लियो ।
दोस्रो हाफमा दुई खेलाडी परिवर्तन गरेको बिरगंज बराबरी गोल फर्काउन सफल भयो । उसमा लागि दोस्रो हाफमा मैदानमा प्रवेश गरेका कृपा कान्त महतोले ५२ औं मिनेटमा बराबरी गोल फर्काए ।
रोमाञ्चक बनेको खेलमा त्यसपछि भने दुवै टोलीले गोलका लागि सिर्जना गरेको अवसरलाई उत्कृष्ट दिशा दिन सकेनन् र बराबरी खेल्दै अंक बाढ्न बाध्य भए ।
पहिलो खेल जितेको ललितपुरको यो त्यसपछिको लगातार तेस्रो बराबरी हो। बिरगंजसङ्ग बराबरीमा रोकिएसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ।
४ खेलबाट ६ अंक जोडेको ललितपुर दोस्रो स्थानमा यथावत् रहेको छ । यता तेस्रो खेलबाट पहिलो अंक जोडेको बिरगंज भने पुछारमा नै रहेको छ ।