काठमाडौं । यस सिजनको शहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी फागुन १५ गतेबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘सी’ डिभिजन क्लबबीच भएको छलफलपछि लिग फागुन १५ गतेबाट शुरु गर्ने सहमति जुटेको हो ।
एन्फाका महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी, पूर्व सहसदस्य पुरुषोत्तम थापा र प्रवक्ता सुरेश शाह तथा ‘सी’ डिभिजनका १४ मध्ये १३ क्लबका प्रतिनिधिको सहभागितामा भएको छलफलबाट लिग शुरु हुने मिति भएको हो ।
प्रवक्ता सुरेश शाहका अनुसार छलफलमा आरसी ३२ बाहेक सबै क्लबका प्रतिनिधिहरु सहभागि थिए । यस्तै एन्फाले सी डिभिजन क्लबलाई पनि क्लब लाइसेन्सिङ्ग प्रक्रियामा अघि बढाउने विषयमा पनि छलफल भएको जनाएको छ । एन्फाका अनुसार यस विषयमा क्लबहरुले पनि सहमति जनाएको छ ।
सिंगल राउण्ड रोबिन ढाँचामा खेलाइने नयाँ सिजनको ‘सी’ डिभिजन लिग शुरु हुनुअघि नै एन्फाले तयारी खर्चको बाँकी रकम भुक्तानी गरिसक्ने समेत जनाएको छ । हरेक क्लबले ९ लाख मध्ये ४ लाख ५० हजार रुपैयाँ भुक्तानी लिन बाँकी छ ।