आखिर किन मनाएन राखेपले यो वर्ष आफ्नो ‘वार्षिक उत्सव’?

लक्ष्मी शाक्य

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यो वर्ष आफ्नो वार्षिक उत्सव मनाउने कुनै छाँटकाँट देखाएको छैन। प्रत्येक वर्ष भदौ १३ गते आफ्नो वार्षिक उत्सव मनाउँदै आएको राखेपले यो वर्ष भदौमा वार्षिक उत्सव मनाएन । यसअघि राखेपले आफ्नो स्थापना वर्ष २०१५ साल भदौ १३ गते भएको भन्दै सोहि मितिमा वार्षिक उत्सव मनाउँदै आएको थियो ।

वरिष्ठ खेलकुद पत्रकार नविन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृतान्त’ नामक पुस्तक प्रकाशित भएपछि राखेप अन्योलमा परेको थियो । उक्त पुस्तकमा राखेपको स्थापना २०१६ साल फागुन ९ गते भएको प्रमाणसहित उल्लेखित गरिएको छ । अर्यालको पुस्तक प्रकाशित भएपछि असमन्जस्यतामा परेको राखेपले त्यसपछि भदौ १३ गते आफ्नो वार्षिक उत्सव मनाएको थिएन ।

राखेपले भदौ १३ गते वार्षिक उत्सव नमाएपछि उक्त पुस्तकमा उल्लेखित मिति अनुसार फागुन ९ गते आफ्नो वार्षिक उत्सव मनाउने अड्कल काटिएको थियो । तर राखेपले अहिलेसम्म वार्षिक उत्सवको कुनै तयारी नगर्दा पुस्तकमा उल्लेखित मिति फागुन ९ गतेमा पनि वार्षिक उत्सव नहुने प्रस्ट देखिएको छ । विकसित घटनाक्रमलाई मध्यनजर गर्दा यो वर्ष राखेपले आफ्नो वार्षिक उत्सव मनाउँछ या मनाउँदैन त्यो आफैमा अन्योलग्रस्त बन्न पुगेको छ ।

यो वर्ष राखेपले वार्षिक उत्सव मनाउँछ कि मनाउँदै भन्ने बारेमा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार वस्नेतसँग सम्पर्क गर्दा उनले अहिलेसम्म यसको बारेमा कुनै टुङ्गो नलागेको बताए । साथै उनले यस बारेमा सदस्यसचिव टंकलाल घिसिङ्गलाई सोध्नु पर्छ भने ।

वस्नेतले भने–‘हामीले भदौ १३ गते वार्षिक उत्सव मनाउँदै आएका थियौं, नविन आर्यालको पुस्तकले गर्दा भदौ १३ गते नमनाएको हो । अहिलेसम्म राखेपको यो विषयमा कुनै आधिकारिक निर्णय आएको छैन । त्यसैले ढिलासुस्ती भएको हो तर हामी यसै वर्ष वार्षिक उत्सव मनाउँछौं । किनकि वार्षिक उत्सवको लागि बजेट समेत विनियोजन भइसकेको छ । अब यो विषयमा म छिट्टै सदस्यसचिवसँग कुरा गर्दैछु।’ त्यसपछि कहिले गर्ने बारेमा अवस्य टुङ्गो लाग्ने छ ।

अर्यालको पुस्तकमा राखेपको स्थापना २०१६ साल फागुन ९ गते भएको उल्लेखित गरिएको छ । साथै सोहि मितिमा तत्कालिन शिक्षामन्त्री परशुनारायण चौधरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको पुस्तकमा लेखिएको छ । राखेपको पहिलो सदस्यसचिव होराप्रसाद जोशी, सह–सचिवमा शुशिलशम्सेर राणा, उपाध्यक्षमा नरशम्शेर राणा र साहेबज्यू हरिविक्रम शाह रहेको पनि खुलासा गरिएको छ । त्यस्तै तत्कालिन समयमा हालको राखेपको नाम राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद् रहेको पनि पुस्तकमा उल्लेख गरिएको छ ।

सम्पूर्ण प्रमाणका साथ अर्यालको पुस्तक ‘नेपाली खेलकुदको वृतान्त’ मा राखेपको स्थापनाको बारेमा प्रस्टरुपमा लेखिएपनि राखेपले अहिले पुस्तक प्रकाशित भएको ८ महिनाभन्दाको बढी समय वितिसक्दा पनि किन यो बारेमा चासो राख्न उचित ठानेन? त्यो अहिले चर्चा परिचर्चाको विषय बन्न पुगेको छ । प्रतिक्षा गरौं, अब राखेपले भदौ १३ गते वा फागुन ९ गते कसलाई आफ्नो स्थापनाको दिन मान्छ? र सोहि अनुसार आफ्नो वार्षिक उत्सव मनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :