काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को उपाध्यक्ष, सदस्य तथा सल्लाहकारमा मनोनित व्यक्तिहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
सोमबार काठमाडौंको बानेश्वरस्थित भीमसेनगोलामा अवस्थित आनन्द इभेन्ट्स प्रालिमा आयोजित एक कार्यक्रमकाबीच एनभीएको उपाध्यक्ष, सदस्य र सल्लाहकारमा मनोनित व्यक्तिहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
गत माघ ५ गते (शुक्रबार) पोखरामा बसेको नेपाल भलिबल संघको सातौं पूर्ण बैठकले राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरतबहादुर शाहसहित ३ जनालाई संघको उपाध्यक्षमा मनोनयन गरेको थियो ।
शाहसहित युवराज श्रेष्ठ र श्रीराम बोगटी एनभीएको उपाध्यक्षमा मनोनित भएका थिए । त्यस्तै ६ जना सदस्यमा मनोनित भएका थिए । जसमा निलम बज्राचार्य, किशोर आचार्य, छ्यामबहादुर थापा, डम्बरबहादुर लिम्बु, शैलेन्द्र शर्मा र रामशंकर चौधरी छन् ।
यसैगरी बैठकले राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान तथा पहिलो पुस्ताका खेलाडी रेशम गुरुङलाई संघको सल्लाहकारमा मनोनित गरेको थियो । उनीहरु सबैलाई सोमबार आयोजित कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

गत वर्ष भदौमा भएको निर्वाचनबाट जितेन्द्र चन्दको अध्यक्षतामा नेपाल भलिबल संघको नयाँ कार्यसमिति चयन भएको थियो । जसमा ६ जना उपाध्यक्ष सर्वसम्मत चयन भएकोमा संघले सातौं पूर्ण बैठकबाट थप तीन उपाध्यक्ष मनोनयन गरेको थियो ।
यसै कार्यक्रमकाबीच संघले भलिबल खेलसँग आवद्द ५० जना व्यक्तिलाई आजीवन सदस्यता वितरण गरिएको जानकारी गराएको छ । आजीवन सदस्य भए वापत प्रत्येक व्यक्तिबाट संघले ३० हजार रुपैयाँ संकलन गरेको छ । कार्यक्रममा आजीवन सदस्यता लिएका व्यक्तिहरुलाई संघका पदाधिकारीले सम्मान पत्र प्रदान गरेका थिए ।

यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष चन्द्रले संघमा मनोनयन गरिएका र आजीवन सदस्यता लिएका व्यक्तिहरुलाई इमान्दारीता पूर्वक राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा गम्भिर भएर अघि बढ्न समेत अनुरोध गरेका थिए। कार्यक्रममा नेपाल भलिबल संघका पूर्व अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायतमा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।




